यौनिक हिंसा बढेको भन्दै सरोकारवालाद्धारा चिन्ता ब्यक्त

 बुधबार, पुस ७, २०७८ | onlinenews
Share this

नवराज विश्वकर्मा


रामेछाप । रामेछाप जिल्लामा यौनिक हिंसाका घटना नियत्रण हुन नसकेको भन्दै चिन्ता व्यक्त गरिएको छ । लैंगिक हिँसा विरुद्धको १६ दिने अभियानको समापन तथा अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसमा आयोजना गरिएको समीक्षा गोष्ठीका सहभागीले जिल्लामा यौन हिंसाका घटनाले मानव अधिकारमा चुनौति दिएका बताएका छन् ।
जिल्ला बार रामेछापका अध्यक्ष विचारसिंह तामाङले बलात्कार, बहुविवाह जस्ता घटनाबारे लेखिएका जाहेरी दर्ता गराउन सम्बन्धित निकायका कर्मचारीले आनाकानी गर्ने गरेकोप्रति सरोकारवालाहरुको ध्यानकर्षण गराएका थिए ।
पीडित व्यक्ति सम्बन्धित निकायमा उजुरी दिन जाँदा सम्बन्धित फाँटका अधिकारीहरुले फलानो कानून व्यवसायीलाई भेट्नु भनेर पठाउने गरेको उनले बताए । बारका अध्यक्षसँग नपठाई प्राभेट वकिलको नाम दिएर पठाउने प्रवृत्ति जिल्लामा बढ्दो क्रममा रहेको भन्दै जसले कमिसनका खेल मौलाउने उनले बताए ।
यसैबीच, कार्यक्रममा अर्का सहभागीले संविधानले व्यवस्था गरेका मौलिक हकको कार्यान्वयन र सुशासनको प्रत्याभूत गराउन नसक्दासम्म मानव अधिकार सुनिश्चि हुनै नसक्ने बताए । सहभागीहरुले जिल्लामा पछिल्लो समय बढ्दो क्रममा रहेको आत्महत्या, बलात्कार, घरेलुहिंसाका घटनाप्रति चिन्ता व्यक्त गरे ।

प्रविधिको विकाससँग मावन अधिकारका प्रकृति पनि फेरिएको छ : नगरप्रमुख बस्नेत

मन्थली नगरपालिका प्रमुख रमेशकुमार बस्नेतले प्रविधिको विकाससँग मानव अधिकार उल्लंघनका घटनाका प्रकृति पनि फेरिएका बताए । यौनिक हिंसाका घटना कम गर्नको लागि राज्यको संयन्त्रले मात्र काम गरेर सम्भव नहुने नगरप्रमुख बस्नेतको भनाई छ । यौनिक हिंसा नियन्त्रणको लागि मानव अधिकारको क्षेत्रमा काम गर्ने संस्था तथा हरेक नागरिकले भूमिका निर्वाह गर्नुपर्ने उनले बताए ।

विकशित देशमा मात्रै मौलिक हक कार्यान्वयन हुन्छः प्रजिअ पहाडी

रामेछापका प्रमुख जिल्ला अधिकारी दिपककुमार पहाडीले साझा प्रयासविना मानव अधिकारको संरक्षण हुन नसक्ने बताए । प्रमुख जिल्ला अधिकारी पहाडीले नागरिक, सरकार र अन्य संघ संस्थाको साझा प्रयासमा मात्रै मानव अधिकारको संरक्षण तथा कार्यान्वयन गर्न सकिने बताए ।
पछिल्लो समय दुई चार कक्षा पढ्दैमा र अलिअलि तर्क गर्न आयो भन्दैमा बढी बोल्ने बानी बढ्ेको भन्दै बढी तर्क गर्ने कुरालाई छाडेर सबैले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने बताए । विकशित देशमा मात्रै संविधानले व्यवस्था गरेका मौलिक हक कार्यान्वयन हुने प्रजिअ पहाडीले बताए । मानव अधिकार सुनिश्चितताका लागि संविधानको मौलिक हकको कार्यान्वयन गर्न आवश्यक हुन्छ । तर, विकशित देशमा मात्रै सबै मौलिक हकको कार्यान्वय हुन्छ, हाम्रो जस्तो मुलुकमा देश विकास भएपछि मात्रै मौलिक हकको कार्यान्वयन हुन्छ, प्रजिअ पहाडीले भने ।
यसैबीच जिल्ला न्यायाधिवक्ता यदुनाथ शर्माले यौनिक हिंसाका घटना भयानक रुपमा बढ्दै गएका बताए । रामेछापमा ५ वर्षदेखि ६५ वर्षसम्मका महिला यस्ता घटनाबाट पीडित भएका उनले बताए ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक नवराज ढुंगानाले प्रहरीमा आएका घटनालाई हेर्दा यौनिक हिंसा र आत्माहत्याका घटना बढ्दै गएको देखिने बताए । यसको नियन्त्रणको लागि सचेतना नै प्रमुख विषय रहेको डिएसपी ढुंगानाको भनाई छ ।
कार्यक्रममा इन्सेकका जिल्ला प्रतिनिधि नवराज पथिकले यस वर्ष संकलन गरिएका घटना मध्ये अधिकांश घटना यौन दुव्र्यवहार र बलात्कारकै भएको बताए । मानव अधिकार संरक्षण सञ्जाल, इन्सेक लगायतका संस्थाको आयोजना तथा मन्थली नगरपालिकाको मूल आयोजनामा भएको सो कार्यक्रममा बोल्दै संञ्जालका संयोजक पाण्डव प्रसाईँले आत्माहत्याका घटना बढ्दै गएकाले त्यसलाई अब मानव अधिकारको कोणबाट विश्लेषण गर्नुपर्ने बताए ।

Share this

प्रतिकृया

Add