कृषि अनुदानलाई प्रभावकारी बनाउन सरोकारवालाको सुझाव

 बुधबार, पुस ७, २०७८ | onlinenews
Share this

नवराव विश्वकर्मा


रामेछाप । रामेछापका मानव अधिकारकर्मीले कृषि अनुदान वितरण कार्यक्रमलाई प्रभावकारी बनाउन सुझाव दिएका छन् । मानव अधिकार संरक्षण सञ्जालको समन्वयमा इन्सेकले आयोजना गरेको खाद्य अधिकारसम्बन्धी अन्तक्रिया कार्यक्रममा सहभागी मानव अधिकारकर्मीहरुले सरकारले प्रदान गर्दै आएको कृषि अनुदान हाल जिल्लामा प्रभावकारी ढंगले वितरण हुन नसकेको बताए ।
कृषिमा प्राप्त अनुदान वास्तविक किसान नपाएको भन्दै सरोकारवालाहरुले वास्तविक किसानलाई अनुदानका कार्यक्रममा जोड्नुपर्ने बताए । निवेदनका भरमा कृषि अनुदान वितरण गर्दा अनुदान टाठाबाठाको पहुँचमा मात्र पुग्ने बताउँदै सरोकारवालाहरुले त्यसरी वितरण गर्दा वास्ताविक किसान अनुदान कार्यक्रबाट बञ्चित हुदै आएको बताएका छन् ।
टाठाबाठा एउटै ब्यक्तिले पटक–पटक अनुदान लिने तर वास्ताविक किसानले एक पटक पनि अनुदान नपाउने समस्या रहेको सहभागिहरुको भनाई थियो ।
यसैबीच, कृषि ज्ञान केन्द्र रामेछापकी प्रमुख निर्मला गुरुङले भने नीतिगत र कानूनी दायराभित्र रहेर नै अनुदानको कार्यक्रम वितरण गर्दै आएको बताइन् । समूहगत रुपमा प्यान बीलसहित आउनुपर्ने भएकोको कारण पनि केही व्यक्तिहरु छुटेका हुनसक्ने उनले बताइन ।
आर्थिक वर्ष २०७८÷०७९ मा कृषि अनुदानका कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारमार्फत १२ करोड र संघीय सशर्त अनुदानमार्फत तीन करोड गरी करिब १५ करोड रुपैयाँ बजेट प्राप्त भएको उनले जानकारी दिइन् ।
यस्तै, मन्थली नगरपालिका पशु सेवा शाखाका प्राविक रोहिणी चापागाईले आर्थिक वर्ष २०७८÷०७९ मा नगरपालिकाले पशु आहार विकास, पशु प्रजनन सेवा, गोठ तथा भकार सुधार कार्यक्रम, रोग नियन्त्रण तथा उपचार र प्रयोगशाला कार्यक्रम सञ्चालन गर्ने योजना लिएको बताए ।
यसवर्ष गोठ तथा भकार सुधार कार्यक्रमका लागि २२४ र बाख्राको खोर सुधार कार्यक्रमका लागि २०६ वटासहित अन्य विभिन्न कार्यक्रमका लागि ६३४ वटा निवेदन प्राप्त भएको जानकारी दिए ।
नगरपालिकाभित्र करिब तीन हजार पशुहरुको कृत्रिम गर्भाधान गराइएको चापागाईले बताए । मानव अधिकार संरक्षण सञ्जालका संयोजक पाण्डव प्रसाईले अग्र्यानिक कृषि उत्पादनमा जोड दिनुपर्ने बताए । पछिल्लो समय विदेशी बिऊ, विजनतर्फ कृषकहरु आकर्षित भएको उल्लेख गर्दै उनले नेपालकै बिज उत्पादनमा जोड दिई स्वदेशी बिऊ विजनमार्फत नेपालको कृषि उत्पादन गर्नुपर्ने बताए । मान अधिकार संरक्षण सञ्जालका अध्यक्ष पाण्डव प्रसाईको अध्यक्षतामा आयोजित कार्यक्रम सञ्जालका सदस्य नवराज पथिकले सञ्चालन गरेका थिए ।

Share this

प्रतिकृया

Add