सहकारी गरिबहरुको बैँक हो : बस्नेत

 आइतवार, चैत्र २०, २०७८ | onlinenews

रामेछाप । मन्थली नगरपालिका प्रमुख रमेशकुमार बस्नेतले सहकारी गरिबहरुको बैँक भएको बताए । सहकारीले बचतकर्ताहरुलाई सहज रुपमा सेवा प्रदान गरेको र त्यो किनै प्रभावकारी रहेको नगरप्रमुख बस्नेतले बताए । ६५ औँ अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा जिल्ला बचत तथा ऋण सहकारी संघ रामेछापले आयोजना गरेको कार्यक्रमलाई संवोधन गर्दै नगरप्रमुख बस्नेतले यस्तो बताएका हुन् । सहकारी संस्थाले राज्यको कुल ग्राहस्त उत्पाद (जिडिपी) र रोजगारको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको समेत बस्नेतले बताए ।
रामेछापका प्रमुख जिल्ला अधिकारी दिपककुमार पहाडीले कतिपया सहकारीहरुले बदमासी गर्दा नागरिकको ठूलो धनशारी डुवेको बताउँदै बचतकर्ताहरुको सम्पत्तिको सुरक्षामा ध्यान दिन सहकारीहरुलाई आग्रह गरे । केही सहकारीहरुले गलत नियतले काम गर्दा राम्रो काम गरिरहेका सहकारी संस्थालाई समेत असर पर्ने भएकाले राज्यको नीति, विधि र थितिभित्र रहेर काम गर्न आग्रह गरे । राज्यको तर्फबाट गरिने अनुगमन र नियमन कार्यमा सहयोग गर्न पनि प्रजिअ पहाडीले सहकारीहरुलाई आग्रह गरे ।
जिल्ला बचत तथा ऋण सहकारी संघ रामेछापका अध्यक्ष हिमाल ढुङ्गेलले रामेछाप जिल्लामा साँढे ४ सयको हाराहारीमा सहकारी संस्थाहरु रहेको बताए । राज्यको तीन खम्बे अर्थनीति अन्तर्गत सहकारी संस्थालाई राज्यले एक खम्बाको रुपमा स्वीकार गर्नु सहकारी संस्थाको उपलब्धी भएको ढुङ्गेलको भनाई छ । ६५ औँ अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा बिहान ¥याली निकालिएको थियो । मदन आश्रित चोकबाट सुरु भएको र्याली बसपार्कस्थित गुम्बाको हलमा पुगेर औपचारिक कार्यक्रममा परिणत भएको थियो ।

सहकारीद्धारा रामेछापमा पहिलो एटिएम सेवा

रामेछाप जिल्लामा सहकारी संस्थाले पहिलो पटक एटिएम सेवा सञ्चालनमा ल्याएको छ । ६५ औँ अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसर पारेर सदरमुकाम मन्थलीबाट सञ्चालित नव जागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेड एटिएम सेवा सञ्चालन गर्ने पहिलो सहकारी संस्था बनेको हो । आफ्ना सदस्यहरुको सुविधाको लागि एटिएम सेवा सञ्चालनमा ल्याइएको नव जागरण बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष श्याम थापाले बताए । एटिएम सेवा सञ्चालन गर्दा वार्षिक रुपमा ३ लाख रुपैयाँ खर्च आउँने र खर्च आए पनि आफ्ना सदस्यहरुको सहजताको लागि एटिएम सेवा सञ्चालनमा ल्याइएको अध्यक्ष थापाले बताए । एटिएमबाट एक पटकमा १५ हजार रुपैयाँ र एक दिनमा ५० हजार रुपैयाँसम्म पैसा निकाल्न मिल्ने नव जागरण बचत तथा ऋण सहकारी संस्थाका ब्यवस्थापक रमेश उदाशले जानकारी दिए ।

प्रतिकृया

Add