रामेछापमा ९ सय २६ जना म्यादी प्रहरीमा छनौट

 बुधबार, चैत्र २३, २०७८ | onlinenews

नवराज विश्वकर्मा


रामेछाप । रामेछाप जिल्लामा ९ सय २६ जना म्यादी प्रहरीमा छनौट भएका छन् । म्यादी प्रहरीमा भर्ना हुन जिल्ला प्रहरी कार्यालय रामेछापमा आएकामध्ये ९ सय २६ जना छनौट भएका छन् भने १७३ जनाको नाम वैकल्पिकमा निस्किएको छ ।
आसन्न स्थानीय तह निर्वाचन सुरक्षाका लागि चैत २ गते प्रहरी प्रधान कार्यालयले म्यादी प्रहरी भर्नाको लागि आवेदन खुलाएको थियो । रामेछाप जिल्लामा १ हजार ६ सय ७५ जनाले आवेदन दिएका थिए । त्यसमध्ये ९ सय २६ जना म्यादी प्रहरीमा छनौट भएका हुन् ।
प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरुस्ती परीक्षा, लिखित परीक्षा र अन्तरवार्तामा सहभागी उम्मेदवारहरूको प्राप्ताङ्कको आधारमा योग्यता क्रमानुसार ९ सय २६ जना उत्तीर्ण भएका र १ सय ७३ जना वैकल्पिक उम्मेदवारहरूको सूची प्रकाशन गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक श्रीशङ्कर श्रेष्ठले जानकारी दिए ।
प्रहरीले उत्तीर्ण उम्मेदवारको सूचीमा रहेकाहरू मध्ये कोही नियुक्ति पत्र बुझ्न नआएमा वा हालको लागि तोकिएको संख्या भन्दा बढी संख्यामा म्यादी प्रहरी नियुक्त गर्नु परेमा वैकल्पिक सूचीमा रहेका उम्मेदवारहरूलाई वरियताक्रम अनुसार बोलाई नियमानुसार नियुक्ति प्रदान गरिने बताएको छ । म्यादीमा छनोट हुनेमा महिला भन्दा पुरुषको संख्या दोब्बर रहेको छ । ६ सय ८३ जना पुरुष छनोट हुँदा २ सय ४३ जना महिला छनौट भएका छन् ।

प्रतिकृया

Add