रामेछापको सेलेघाटमा माइक्रोहाइस दुर्घटनामा १० घाइते

 बुधबार, बैशाख २१, २०७९ | onlinenews

नवराज विश्वकर्मा


रामेछाप । रामेछापको मन्थली नगरपालिकास्तिथ सेलेघाटमा माइक्रोहाइस दुर्घटना हुँदा १० जना घाइते भएका छन् । काठमाडौँबाट रामेछापको मन्थलीतर्फ आउँदै गरेको बा २ ख ४१८० नम्बरको माइक्रोहाइस बुधबार दिउँसो दुर्घटना हुँदा १० जना घाइते भएका हुन् । घाइते हुनेहरुमा रामेछापको लिखुतामाकोशी गाउँपालिका वडा नं. ६ का ५६ वर्षीय केशर बहादुर कार्की, उनको छोरा १६ वर्षीय अनिश सार्की, खाँडादेवी गाउँपालिका वडा नं. १ का ३७ वर्षीया सविना मोक्तान र उनका छोरा ६ वर्षीय सिजन मोक्तान रहेका छन् । यस्तै, मन्थली नगरपालिका वडा नं. १ बस्ने ४१ वर्षीय कुमार थापा, सोही नगरपालिका वडा नं. ५ का ३७ वर्षीय सिताराम कार्की र रामेछाप नगरपालिका वडा नं. ४ का ३० वर्षीया यमुना घाइते भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
प्रहरीकाअनुसार सिन्धुलीको कमलामाई नगरपालिका वडा नं. ११ का २६ वर्षीय शिवहरी बुढाथोकी र दोलखाको विगु गाउँपालिका वडा नं. ३ का २३ वर्षीय स्वस्तिका श्रेष्ठ घाइते भएका छन् । केशर बहादुर सार्की र उनका छोरा अनिशको सुनकोशी सामुदायिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक राजुप्रसाद ढकालले जानकारी दिए ।
गम्भीर घाइते सविना मोक्तान र उनका छोरा ६ वर्षीय सिजन मोक्तानलाई शुभजीवन अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि एभ्रेष्ट एयरको हेलिकोप्टरमार्फत अपराह्न ३ः०० बजे काठमाडौँ पठाइएको पठाइएको छ । अन्य ६ जनाको शुभजीवन अस्पतालमा उपचार भइरहेको सूचना अधिकारी ढकालले बताए । उनीहरुको अवस्था सामान्य रहेको बताइएको छ । अनियन्त्रित भई दुर्घटना भएको माइक्रोहाइस सडकबाट करिब २० मिटर तल खसेको थियो । चालक मन्थली नगरपालिका वडा नं. ४ सालु बस्ने नारद खड्का फरार रहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया

Add