मन्थली खानेपानी उपभोक्ता समितिको लापरबाहीः नागरिक स्वच्छ पिउने पानीबाट बञ्चित

पानी उपभोग योग्य भए नभएको परिक्षण गर्न सिडिओको निर्देशन

 सोमवार, जेष्ठ १६, २०७९ | onlinenews

नवराज विश्वकर्मा


  • ट्यांकीमा रहेको पानीको नमूना परीक्षण गर्न प्रमुख जिल्ला अधिकारी दिपककुमार पहाडीकोे निर्देशन
  • मन्थली खानेपानी उपभोक्ता समितिको लापरबाही रहेको सरोकारवालाको भनाई
  • समितिले नागरिकको स्वास्थ्यसँग खेलवाड गरेको उपभोक्ताको गुनासो
  • पानी फिल्टर गर्न लेउ, किरो र काठका टुक्राहरु राख्ने कुरा आपूmलाई थाहा नभएको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका सबइन्जिनियर सन्तोष कुमार ठाकुरको भनाई
  • खानेपानी ट्याङ्कीको व्यवस्थापन र सरसफाइमा समितिको कमजोरी देखिएको नेपाल पत्रकार महासंघ रामेछापका शाखा अध्यक्ष बद्रि नयाँ घरेको भनाई

 

रामेछाप– मन्थली खानेपानी तथा सरसफाई उपभोक्ता समितिको लापरबाहीका कारण सदरमुकाम मन्थलीका नागरिक प्रदुसित खानेपानी उपभोग गर्न बाध्य भएका छन् ।
स्वच्छ खानेपानी पाउनुपर्ने नागरिकको हकलाई संविधानले ग्यारेण्टि गरेको छ । नेपालको संविधानको भाग ३ मा मौलिक हकको व्यवस्था छ । मौलिक हकअन्तर्गतको धारा ३५ मा रहेको स्वास्थ्यसम्बन्धी हकको उपधारा ४ मा प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक हुनेछ, भनिएको छ । तर, संविधानले गरेको यो व्यस्थालाई नै चुनौती दिनेगरी समितिले नागरिकको धारासम्म स्वच्छ खानेपानी नपठाउँदा मन्थलीबासी नागरिकहरु अस्वस्थ पानी खान बाध्य छन् ।
समितिले मन्थली नगरपालिका वडा नं. १ स्थित सैनिक ब्यारेकभित्र रहेको खानेपानीको ट्याङ्कीबाट उपभोक्ताको धारासम्म खानेपानी पठाउँदै आएको छ । त्यस ट्याङ्कीबाट पठाइने पानी मन्थली बजार र बजार आसपासका अन्य क्षेत्रमा गरी १ हजार धारामा झर्ने गर्दछ । नागरिकले पानी प्रयोग गरेवापतको शूल्क कम्तिमा पनि ६ सय रुपैयाँ तिर्दै आएका छन् । खानेपानी प्रयोग गरेबापत नागरिकले तिरको मासिक शुल्क बापतको रकमबाट महिनामा ६ देखि ७ लाख रुपैयाँ जम्मा हुने गरेको समितिले जनाएको छ । तर, मन्थलीमा बसोबास गर्दै आएका नागरिकले भने पैसा तिरेर पनि स्वच्छ खानेपानी पिउन पाएका छैनन् । खानेपानी तथा सरसफाई उपभोक्ता समिति र त्यहाँ काम गर्न खटिएका कर्मचारीको लापरबाहीका कारण नागरिकहरु फोहोर पानी पिउन बाध्य छन् । विश्वास श्रेष्ठ नामका एक व्यक्तिले समाजिक सञ्जालमार्फत समितिले वितरण गर्दै आएको खानेपानी ट्याङ्कीको भिडियो सार्वजनिक गरेका थिए । त्यस भिडियोमा खानेपानी ट्याङ्कीभित्रको पानीमा काठका टुक्रा, लेउ, भ्यागुता र किरा फट्याङ्ग्रा तैरिरहेको देखिन्छ । झट्ट हेर्दा माछा पोखरी जस्तो लाग्छ । केही समयअघि घरका धाहरुमा खानेपानी धमिलो आएको र यो पानी पिउँदा मन्थलीका धेरै मानिसमा स्वास्थ्य समस्या देखिएको गुनासो आएपछि आफुहरु खानेपानीको ट्यांकी खोज्दै गएको मन्थलीका युवा विश्वास श्रेष्ठले बताए । नेपाली सेनाको ब्यारेकभित्र रहेको खानेपानी ट्यांकीको अवस्था हेर्दा मन्थली खानेपानी उपभोक्ता समितिले फोहोर पानी वितरण गरेरे नागरिकको स्वास्थ्यसँग खेलवाड गरिरहेको महशुस भएको उनले बताए । उनले पानी जम्मा गर्ने पोखरी पुरै खुला रहेको र जम्मा भएको पोखरीमा पुरै लेउँ लागेको, भ्यागुता र किरा फट्याङ्ग्रा रहेको बताए ।
यता मन्थली खानेपानी उपभोक्ता तथा सरसफाई समितिका अध्यक्ष पूर्ण सुवेदीले सामाजिक सञ्जालमा आएको कुरा पूर्ण रुपमा गलत रहेको बताए । भिडियोमा हेर्दा खानेपानी ट्याङकीमा लेउ लागेर फोहोर देखिए पनि यो लेउ खानेपानी विभागको सल्लाह अनुसार पानी फिल्टर गर्न रणजोर खोलाबाट लगेर हालेको उनको भनाइ छ । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका प्राविधिकहरुको सल्लाहा अनुसार पानी जमाउने पोखरीमा पानीलाई विषालु पार्ने किटाणु खाने किरा र लेउ प्रयोग गरिएको उनको भनाई । देख्दा फोहोरजस्तो देखिए पनि खानेपनी कार्यालयले खुला आकाशमुनी पोखरी राखेर फिल्टर सिस्टम बनाएको उनले बताए । यता संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका सबइन्जिनियर सन्तोष कुमार ठाकुरले भने पानी फिल्टर गर्न लेउ, किरो र काठका टुक्राहरु राख्ने कुरा आपूmलाई थाहा नभएको बताए ।
पानी फिल्टरका लागि बालुवा र पाइपका टुक्राहरु प्रगोग गरिए पनि समय समयमा सफा गरी परिवर्तन गरिरहनुपर्ने इन्जीनियर ठाकुरको भनाई छ । खानेपानी वितरण गर्ने ट्यांकी फाहोर भएको गुनासो बढेपछि जिल्लाका सरोकारवाला निकायले खानेपानी वितरण ट्यांकीहरुको निरीक्षण गरेको छ । सोमबार मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडी संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका प्रतिनिधि लगायतको टोलीले उपभोक्तालाई पानी विरतण गर्ने ट्यांकीहरुको निरीक्षण गरेको हो । अनुगमनको क्रममा प्रमुख जिल्ला अधिकारी दिपककुमार पहाडीले उक्त ट्याङ्कीमा रहेको पानीको नमूना परीक्षण गर्न निर्देशन दिएका छन् । यस्तै, पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरेले उक्त खानेपानी ट्याङ्कीको व्यवस्थापन र सरसफाइमा समितिको कमजोरी देखिएको बताए ।

प्रतिकृया

Add