मल अभावले रामेछापका कृषक मारमा, तत्काल १३ लाख केजी मल आवश्यक

 आइतवार, जेष्ठ २२, २०७९ | onlinenews

नवराज विश्वकर्मा


रामेछाप– समयमा मल नपाउँदा रामेछापका कृषकहरु मारमा परेका छन् । दुई नगरपालिका सहित ८ स्थानीय तह रहेको रामेछापमा ६४ वटा वाडहरु रहेका छन् । जिल्लाको कूल क्षेत्रफल १ लाख ५६ हजार ४ सय ३२ हेक्टर रहेको छ । त्यसमध्ये ५० हजार ९ सय ८ हेक्टर अर्थात ३२ दशमलव ५ प्रतिशत खेतीयोग्य जमिन छ । जिल्लामा अहिले कूल खेतीयोग्य क्षेत्रफलको ४३ दशमलव २८ प्र्रतिशत अर्थात् २२ हजार ३४ हेक्टर क्षेत्रफल जग्गामा मकै खेती हुँदै आएको कृषि ज्ञान केन्द्र रामेछापले जनाएको छ । केन्द्रले दिएको तथ्याङ्कअनुसार मकै खेतीको तुलनामा जिल्लामा धान खेती धेरै जमिनमा हुँदै आएको छ । कुल खेतियोग्य जमिनको तुलनामा ९ हजार १ सय ३९ हेक्टर बढी क्षेत्रफल जमिनमा धान रोपाइँ हुँदै आएको कृषि ज्ञान केन्द्र रामेछापकी सूचना अधिकारी शर्मिला फुयालले बताइन । सूचना अधिकारी फुयालकाअनुसार किसानहरुले ६० हजार ४७ हेक्टर क्षेत्रफल जग्गामा धान रोपाइँ गर्दै आएका छन् । जसका लागि ५० लाख केजी मल आवश्यक पर्दछ । प्रतिहेक्टर ६० केजी मल आवश्यक पर्ने सूचना अधिकारी फुयाँलले बताइन । यस्तै मकै खेतिका लागि पोटास र फोसफोरस प्रतिहेक्टर ३०÷३० केजी आवश्यक पर्दछ भने धान खेतीका लागि प्रतिहेक्टर २०÷२० केजी मल आवश्यक पर्ने उनले बताइन । २२ हजार ३४ हेक्टर क्षेत्रफल जमिनमा मकै खेति गरेका रामेछापका कृषकहरुलाई तत्कालै १३ लाख किलो रासायनिक मल आवश्यक पर्ने केन्द्रले जनाएको छ ।
अहिले किसानले लगाएको मकैबालीमा धमाधम मल हाल्ने बेला भएको छ भने एकातिर कतिपय ठाउँहरुमा धमाधम धानको ब्याड राख्ने र धान रोपाइँ गर्ने बेला भइसकेको छ । जमिन बाँझो राखेमा एक लाख रुपैयाँसम्म जरिबाना गर्ने घोषणा गरेको सरकारले प्रत्येक वर्षको बजेट भाषणमा समयमा किसानलाई मल उपलब्ध गराउने आश्वासन दिँदै आएको छ । गत वर्ष पनि मल अभावको समस्या खेपेका किसानहरु सोही समस्या झेल्न बाध्य छन् । तर, सरकार भने वर्षैपिच्छेको बजेट भाषणको क्रममा किसानलाई समयमै मल उपलब्ध गराउने भनेर आश्वासन बाड्दै आएको छ । यसरी समयमा मल नपाउँदा कृषि प्रधान देशका नागरिकहरुको कृषिप्रतिको आकर्षण समेत घट्न थालिसकेको छ । सरकारले किसानका लागि आश्वासन बाँड्ने गरे पनि यथार्थमा भने आफूले बाँडेका आश्वासनलाई व्यवहारिक रुपमा उतार्न सकेको छैन । जसले गर्दा अहिले कतिपय किसानहरुले अत्याधिक मूल्य तिरेर विचौलियाहरुसँग मल किनिरहेका छन् । किसानहरु प्रतिबोरा २ हजार ८ सयदेखि ४ हजार रुपैयाँसम्म तिरेर मल किन्न बाध्य छन् । जसका कारण किसान मारमा परेका हुन् । जिल्लाका केही कृषकहरुले २ हजार ८ सयदेखि ४ हजार रुपैयाँसम्म तिरेर मल किन्न आफूहरु बाध्य भएको बताएका छन् । तर, त्यति मूल्य तिर्दा पनि पर्याप्त मल पाउन नसकेको र आफूहरु झनै समस्यामा परेको उनीहरुले गुनासो छ । सामान्यतः अहिले युरिया मल प्रतिबोरा ८ सय ९७, डिएपी २ हजार ३ सय ४६ र पोटास १ हजार ७ सय ४७ रुपैयाँ पर्दछ । यो महिनाको अन्तिमसम्म मल आउन सक्ने सम्भावना रहेको साल्ट्रेडिङ वनेपाका प्रमुख सुरेन्द्र अवालेले बताए ।
कृषि ज्ञान केन्द्र सिन्धुली र साल्ट्रेडिङ वनेपाबाट रामेछापका आठ वटै स्थानीय तहले मल ल्याउने गरेका छन् भने कृषि ज्ञान केन्द्र काभ्रेबाट रामेछापका दुई स्थानीय तहले मल ल्याउने गरेका छन् । कृषि ज्ञान केन्द्र सिन्धुलीमा रामेछापका आठ स्थानीय तहअन्तर्गत रहेका ३४ वटा सहकारी संस्थाहरुले मल ल्याउने गरेका छन् । त्यसमध्ये यस वर्षको हालसम्मको अवधिमा जिल्लाको रामेछाप नगरपालिका वडा नं. ९ मा रहेको भिमेश्वर सहकारी संस्था, सोही नगरपालिको वडा नं. ९ मा रहेको कृषक जागरण कृषि सहकारी संस्था र मन्थली नगरपालिका वडा नं. १३ मा रहेको पशुपति सहकारी संस्थाले मात्रै मल ल्याएका छन् । यी तीन वटा सहकारीले ३०.९ मेट्रिक टन युरिया मल ल्याएका हुन् ।
साल्ट्रेडिङ वनेपाबाट पनि जिल्लाका आठ वटै स्थानीय तहले मल ल्याउने गरेका छन् । साल्ट्रेडिङ वनेपाबाट जिल्लाका आठ स्थानीय तहले ७ सय ४७.७४ मेट्रिक टन युरिया, ३ सय ४१.३८ मेट्रिक टन डिएपी र १८.२२ मेट्रिक टन पोटास मल ल्याउने गरेका छन् । तर, वनेपाबाट यस वर्ष जिल्लाको मन्थली नगरपालिकाले १ सय ९० बोरो युरिया र सुनापती गाउँपालिकाले ९२ बोरा युरिया, १५ बोरा डिएपी र १ बोरा पोटास ल्याएका छन् । अहिले जिल्लाको सुनापति गाउँपालिकामा ५ सय मेट्रिक टन, रामेछाप नगरपालिकामा २ सय १४ टन युरिया, ६ टन पोटास र ७० टन डिएपी गरी जम्मा २ सय ९० ट मल आवश्यक पर्दछ । यस्तै, जिल्लाको खाँणादेवी गाउँपालिकामा १ हजार ९ सय १९ टन मल आवश्यक पर्ने गाउँपालिकाको कषि विकास शाखाका अधिकारी विजय श्रेष्ठले बताए ।
यसैगरी दोरम्बा शैलुङ गाउँपालिकामा १ सय टन मल खपत हुने गरेको दोरम्बा शैलुङ गाउँपालिकाका सूचना अधिकारी उज्ज्वल पाठकले बताए । केहि समयअघि दोरम्बा शैलुङ गाउँपालिकामा ५० बोरा युरिया र ५० बोरा डिएपी मल पठाइएको कृषि ज्ञान केन्द्र काभ्रेका अधिकारी कालिका न्यौपानेले बताए । सुनापति गाउँपालिकाले केही दिनअघि सुनाखरी र पूँजी सुधार सहकारी संस्थाले ५० बोरा युरिया र ५० बोरा डिएपी मल लगेको न्यौपानेले जानकारी दिए । सरकाले ल्याउन लागेको मल समयमा नआउँदा समस्या भइरहेको केन्द्रकी अधिकारी कालिका न्यौपानेले भएको छ । समयमा पर्याप्त मल ल्याउन नसक्दा मलको अभाव नै रहेको सुनापति र दोरम्बा शैलुङ गाउँपालिकाका अधिकारीहरुले बताएका हुन् । उमाकुण्ड गाउँपालिका, लिखुतामाकोशी र गोकुलगङ्गा गाउँपालिका लगायतका स्थानीय तहका किसानहरुको पनि त्यस्तै समस्या छ । उमाकुण्ड गाउँपालिकासँग त आफ्नो क्षेत्रभित्र कति मल आवश्य पर्छ भनेर तथ्याङ्कसमेत नराखेको पाइएको छ । उमाकुण्ड गाउँपालिका कृषि विकास शाखाकी कृषि सहायक प्राविधिक अबिजना कार्कीले गत आर्थिक वर्ष २०७६÷०७७ मा सहकारीमार्फत मल वितरण गर्न पाउने भनेर निर्देशन आएको भए पनि निर्देशलाई पालिकाले कार्यान्वयन नगरेको बताइन । पालिकाले अहिलेसम्म कुनै पनि संघ, संस्थासँग समन्वय गरेर मल वितरण नगरेको उनको भनाई छ । पालिकाभित्र कति मल आवश्यक पर्छ भन्ने तथ्याङ्क आफूहरुसँग नभएको समेत कार्कीले बताइन ।

प्रतिकृया

Add