रामेछापमा पहिलो पटक अन्तर्राष्ट्रिय म्याराथुन हुँदै

 मङ्लबार, फाल्गुन ३०, २०७९ | onlinenews

रामेछाप- रामेछाप जिल्लामा पहिलो पटक सुनापति–शैलुङ्ग अन्तर्राष्ट्रिय अल्ट्रा म्याराथुन प्रतियोगिता हुने भएको छ । राष्ट्रिय खेलकुद परिषदको आयोजना, रामेछापको सुनापति, खाँडादेवी र दोरम्बा शैलुङ्ग गाउँपालिकाको सहआयोजना तथा जिल्ला खेलकुद विकास समितिको व्यवस्थापनमा आगामी चैत्र ४ गते अल्ट्रा म्याराथुन प्रतियोगिता हुन लागेको हो । ५५ किलोमिटर, २५ किलोमिटर र ५ किलोमिटरमा पुरुष तथा महिला तथाको छुट्टाछुट्टै प्रतियोगिता हुने छ । ५५ किलोमिटरको म्याराथुन सुनापति गाउँपालिकाको साँदीडाँडाबाट सुरु भएर सुनापति गाउँपालिकाको सुदापति डाँडा, खाँडादेवी गाउँपालिकाको खाँडादेवी मन्दिर, दोरम्बा शैलुङ्ग गाउँपालिकाको अग्लेश्वरी, दोरम्बा बजार हुँदै शैलुङ्गमा पुगेर टुङ्गिने छ जिल्ला खेलकुद विकास समिति रामेछापका प्रमुख अर्जुन कार्कीले जानकारी दिए ।
कार्कीका अनुसार २५ किलोमिटर म्याराथुनका लागि सुनापति गाउँपालिकाको साँदीडाँडाबाट सुरु भएर गाल्वा भञ्ज्याङ्ग, दोरम्बा शैलुङ्ग गाउँपालिका अग्लेश्वरी, दोरम्बा बजार हुँदै शैलुङ्गमा पुगेर समापन हुने छ भने ५ किलोमिटर अन्तर्गत शैलुङ्गकै वरिपरि प्रतिस्पर्धा गराइने छ । अन्तर्राष्ट्रिय म्याराथुन मापदण्ड अनुसार सञ्चालन गरिने प्रतियोगितामा प्रतियोगीहरूको सहजताको लागि ४० जनाभन्दा बढी स्वयम्सेवा परिचालन गर्नुका साथै ९ स्थानमा चेकपोष्ट खडा गरिने आयोजकले जनाएको छ । प्रत्येक चेक पोष्टमा धावकहरूका लागि जुस पानी लगायतका खानेकुराको व्यवस्था गरिने पनि कार्कीले जानकारी दिए । प्रतियोगितको लागि विदेशी सहित ९० जनाले नाम दर्ता गराइसकेको र चैत्र १ गतेसम्म नाम दर्ता गर्ने समयावधि तोकिएकाले प्रतियोगितको संख्या अझै बढ्नसक्ने आयोजकको भनाइ छ ।
म्याराथुनको ५५ किलोमिटर अन्तर्गत प्रथम हुनेले ७५ हजार नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने द्वितीय हुने नगद ३५ हजार शिल्ड, मेडल र प्रमाणपत्र तथा तृतीय हुनेले नगद २० हजार सहित शिल्ड मेडल र प्रमाणपत्र पाउने छन् । त्यसैगरी २५ मिलोमिटर अन्तर्गत प्रथम पुरस्कार ४० हजार नगद सहित, शिल्ड, मेडल र प्रमाणपत्र, द्वितीय पुरस्कार २० हजार नगद सहित शिल्ड मेडल र प्रमाणपत्र तथा तृतीय पुरस्कार नगद १० हजार शिल्ड मेडल र प्रमाणपत्र रहेको छ । त्यस्तै ५ किलोमिटर अन्तर्गत प्रथम पुरस्कार नगर १५ हजार, शिल्ड, मेडल र प्रमाणपत्र, द्वितीय १० हजार नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र तथा तृतीय पुरस्कार नगद ५ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र रहेको छ । प्रतियोगितमा सहभागी सम्पूर्ण प्रतियोगिहरूलाई मेडल प्रदान गरिने आयोजकले जनाएको छ ।
म्याराथुनबारे जानकारी गराउन आयोजना गरिएको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सुनापति गाउँपालिका उपाध्यक्ष गीता विष्टले रामेछापको पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले सुनापति–शैलङ्ग अल्ट्रा अन्तर्राष्ट्रिय म्याराथुन आयोजना गरिएको बताइन् । प्रतियोगितालाई आगामी वर्षहरूमा निरन्तरता दिने पनि उपाध्यक्ष विष्टले बताइन् ।

प्रतिकृया

Add