आर्थिक चलखेल र कमिसनको खेल विकासको बाधक : चौलागाई

 सोमवार, चैत्र १३, २०७९ | onlinenews

वर्तमान राजनीतिक घटनाक्रम, बागमती प्रदेश सकारको गतिविधि र रामेछाप जिल्लाको विकासका लागि भइरहेका पहल तथा भूमिकाको विषयमा केन्द्रित रहि बागमती प्रदेश सांसद युवराज चौलागाईसँग गरिएको कुराकानीको सम्पादीत अंश :

अहिले सत्ता स्वार्थमा फँसेको राजनीतिलाई कसरी लिनुभएको छ ?

यसलाई स्वार्थमै फसेको भन्न मिल्दैन । मङ्सिर ४ गते सम्पन्न भएको निर्वाचनमा कुनै पनि दललाई स्पष्ट बहुमत प्राप्त भएन । चुनावबाट आएको परिणम भनेको जनादेश हो । जनादेश अनुसार नै गठबन्धन भएको हो । विश्वासको मत प्राप्त गरेर सरकार बनेको छ । त्यसमा स्थिरता छ, त्यसकारण यसलाई सकारात्मकरूपमा लिनुपर्छ ।

पछिल्लो समय माओवादी बढी नै सत्तालिप्सा भएको आरोप छ नि ?

माओवादी पार्टीलाई त्यसो भन्नुपर्ने कुनै आधार छ जस्तो लाग्दैन । माओवादीले सरकारमा जाँदैनांै भनेर प्रतिबद्धता गरेर र निर्णय बदलेर सरकारमा गएको होइन । माओवादीले प्रधानमन्त्री दावी गर्नु स्वभाविक हो । माओवादी पार्टीको अध्यक्ष प्रचण्ड अहिले प्रधानमन्त्री हुनुुहुन्छ र प्रधानमन्त्रीले आफूलाई अनुकूल हुने गरी गठबन्धन बनाउनु, मन्त्रिपरिषद् हेरफेर गर्नुलाई अन्यथा लिनु हुँदैन । राजनीतिक दलहरू संसदमा गएपछि सरकार निर्माण गर्नु उनीहरूको दायित्व हो, देशको आवश्यकता हो । नेपालको कानुनको सीमालाई उल्लङ्घन गरेको छैन । माओवादी बिना अरू पार्टीले सरकार बनाउने आधार थिएन । त्यसकारण माओवादीले आफ्नो नेतृत्मा सरकार बनाएको हो । त्यसकारण माओवादी सरकार चलाउन योग्य रहेछजस्तो लाग्छ ।

माओवादीले पाँचै वर्ष सरकारको नेतृत्व गर्ने सम्भावना कत्तिकोे छ ?

प्रचण्ड प्रधानमन्त्री हुनुहुन्छ । उहाँले पाँचै वर्ष सरकारको नेतृत्व गर्नुपर्छ । यसरी स्थायित्वको आभाष दिलाउन सकिन्छ । संविधानको कार्यान्वयन गर्न सकिन्छ, लोकतान्त्रिक संस्थाहरूलाई बलियो बनाउन सकिन्छ । त्यसकारण उहाँले पाँचै वर्ष सरकारको नेतृत्व गर्नुपर्छ ।

बागमती प्रदेश सरकारचाहिँ के गरिरहेको छ ?

विगत केही दिन अगाडि प्रजातन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएर मन्त्रीहरू फिर्ता बोलाउने निर्णय गर्नुभएको थियो र मन्त्रीहरूले राजीनामा दिनुभएको थियो । प्रदेश मुख्यमन्त्रीले आफूमाथि सदस्यलाई विश्वास छ भन्ने प्रस्ताव राख्नुहुने छ र फेरि विश्वासको मत लिनु हुनेछ । विश्वासको मत लिएर उहाँकै नेतृत्वमा सरकारले निरन्तरता पाउँने छ । बागमती प्रदेशमा केन्द्रजस्तै फेरि विश्वासको मत लिनुपर्ने स्थिति आएको छ । तर बागमती प्रदेश सरकारको नेतृत्वमा पाँचै वर्ष अहिलेकै नेतृत्वले निरन्तरता पाउँने छ ।

रामेछाप जिल्लाको विकासका लागि के गर्दै हुनुहुन्छ ?

हामी निरन्तर जनताको बिचमा छौँ । सरकारसँग समन्वय गरेर जनताका काममा निरन्तर लागेका छौँ । यो वर्ष चालु बजेटमा भएको व्यवस्था अनुसार सबै कामहरू भइरहेका छन् । हामी निर्वाचित हुन पहिले नै यो वर्षको बजेट आइसकेको हुनाले बजेटलाई अन्य ढङ्गले प्रभावित पार्न सक्ने स्थिति छैन । आगामी वर्षको बजेटको निर्माणको काममा हामी लागिपरेका छौँ । बजेट निर्माणमा हाम्रो भूमिका रहने छ । विकासका कामलाई हामी अग्रगति दिन्छौँ । देशको आवश्यकतालाई हामीले बुझेका छौँ र के गर्नुपर्छ भन्ने हामीलाई थाहा छ । रामेछापका सबै जनप्रतिनिधिहरू रामेछापको पूर्वाधार विकासमा लाग्ने छौँ । सरकारसँग समन्वय गरेर स्थानीय आवश्यकताका आधारमा कार्यक्रमहरूलाई व्यवस्थित ढङ्गले चलाउन प्रयत्न गर्छाै । कृषि, पर्यटन र युवाहरूका लागि रोजगारी, शिक्षा र स्वास्थ्य लगायतका क्षेत्रमा बजेट पु¥याएर हामी अगाडि बढ्छौँ ।

केही नयाँ कामका सुरुवात भएका छन् त ?

चालु बजेट हामी निर्वाचित हुनुभन्दा पहिला नै आएको बजेट हो । यसमा हाम्रो सहभागिता र स्वामित्व छैन । प्रदेशमा हाम्रो पार्टीका प्रतिनिधि थिएनन्, त्यसकारण विगतमा हामीले चाहेका कतिपय आयोजनाहरू हुन सकेनन् । हामी निर्वाचित भएर आए पनि बजेट पुरानै छ । केही बहुवर्षीय योजनाहरू अगाडि बढाउने काम भएका छन् । आगामी वर्षका लागि आवश्यकताको आधारमा बजेट ल्याउने छौँ । यो वर्ष बहुवर्षीय योजनालाई व्यवस्थित कार्यान्वयनमा जोड दिइएको छ ।

आगामी वर्षको बजेट निर्माण गर्दा रामेछाप जिल्लाको विकासमा के कुरालाई प्राथमिकतामा राख्नुहुन्छ ? बढीभन्दा बढी बजेट ल्याउन यहाँको भूमिका कस्तो रहन्छ ?

सडक पूर्वाधारकै विकासमा बढी ध्यान दिनुपर्ने मैले देखेको छु । त्यसमा रामेछापको शैलुङ केन्द्रित गरेर विभिन्न ठाउँहरूबाट सडक पूर्वाधारको विकास गर्नु आवश्यक छ । मध्य पहाडी क्षेत्रको विकास सन्तोषजनक ढङ्गले अगाडि बढेको छैन । त्यसलाई हामी पूरा गर्छौ । पुराना रोकिएका विकासका कामलाई निरन्तरता दिनेछौँ साथै शैलुङ पर्यटनको विकासलाई जोड दिइने छ । कृषिमा आधारित उद्योगहरूलाई स्थापित गर्न जोड दिनुपर्ने देखिन्छ । युवाहरूको रोजगारीलाई ध्यानमा राख्ने छौँ । महिलाहरूको आय आर्जनलाई जोड दिइनेछ । दलित तथा जनजातिहरूको शिक्षा, स्वास्थ्य, सिपमूलक काम आदिलाई सहजीकरण गर्नेगरी र संविधानले व्यवस्था गरेअनुसार त्यसको संरक्षण क्षेत्र घोषणा गरेर काम गर्नुपर्छ भन्ने ठानेको छु । स्वास्थ्य क्षेत्रमा धेरै कामहरु गर्नुपर्ने छ । समग्रमा, रामेछाप जिल्लाको आय आर्जनमा पूर्वाधारको विकास गर्न आगामी वर्षको बजेटमा जोड दिन्छौँ ।

शैक्षिक सुधारको कुरालाई कसरी सम्बोधन गर्न सकिन्छ ?

सार्वजनिक शिक्षा रामेछापको महत्वपूर्ण क्षेत्र हो तर शिक्षाको विकासमा खासै ध्यान दिइएको पाइँदैँन । जति छ त्यतिले मात्र राज्यको परिधिभित्र रहेर सञ्चालन भएका छन् । रामेछापमा रहेका सार्वजनिक विद्यालयहरूलाई व्यवस्थित गर्दै सञ्चालनलाई निरन्तरता दिनुपर्छ भन्नेमा हामी प्रष्ट छौँ । प्रयत्नरत छौँ । विद्यालयका समस्याहरूलाई भित्रबाट नियाल्नुपर्ने स्थिति छ त्यो मैले नियालेको छु । हामीले विद्यालयको आन्तरिक व्यवस्थापनमा जोड दिने छौँ । संघीय सरकारले संघीय शिक्षा ऐन ल्याएको छैन । संघीय शिक्षा ऐन ल्याउने कुरामा हाम्रो तर्फबाट आवश्यकता अनुसार सल्लाह सुझाव दिने छौँ । ऐन छिटो ल्याउन हामी प्रयत्न गर्ने छौँ । विद्यालय शिक्षामा केन्द्रले बजेट व्यवस्था गरेको छ । त्यसलाई अझ प्रभावकारी बनाउने गरी कार्यक्रमहरू ल्याउने, राम्रो पुस्तकालय र प्रयोगशाला बनाउने, राम्रा खेल मैदानहरू बनाउने, विद्यार्थी केन्द्रित यातायातको व्यवस्था गर्ने, विद्यालयमा नर्सको व्यवस्था गर्ने, शिक्षकहरूलाई सबलीकरण गर्ने र उनीहरूको शिक्षणमा अझै ध्यान दिनेजस्ता कार्यमा हामी केन्द्रित छौँ । ग्रामिण भेगका विद्यार्थीहरू सहर पलायन हुनु नपर्ने गरी सामुदायिक विद्यालयको विकास गर्न प्रयत्न गर्ने छौँ ।

रामेछापको सुख्खाग्रस्त क्षेत्र र सिँचाइको लागि के सोच्नुभएको छ ?

रामेछापका समस्याहरूमध्ये खानेपानीको समस्या प्रमुख समस्या हो । खानेपानीका कतिपय कार्यक्रमहरू गरिरहेका छौँ । खानेपानी व्यवस्थापन र वितरणमा राजनीतिक तहबाट ध्यान दिनुपर्ने देखिन्छ किनभने पानीका मुहान र स्रोतहरू सीमित छन् । सीमित मुहानहरूलाई व्यवस्थित गर्दा धेरै समस्या समाधान हुन सक्छन् । अहिलेको राजनीतिकरणले खानेपानीलाई बिगारेको छ । खानेपानीको मुहान राज्यको अभिलेखमा राख्ने र राज्यले स्वामित्वमा लिएर आवश्यकता अनुसार खानेपानीको वितरण गर्दा राम्रो हुन्छ । त्यसका लागि नीतिगत परिवर्तनको आवश्यकता छ । खानेपानी आम जनताको आधारभूत अधिकार हो । त्यसकारण निःशुल्क खानेपानीको व्यवस्था राज्य तर्फबाट हुनुपर्छ । त्यो पूरा गर्नका लागि हामीले राज्यलाई झक्झक्याउँछौँ । रामेछापको अधिकांश सुख्खाग्रस्त क्षेत्र मध्ये २ नं. क्षेत्रको पनि अधिकांश भू–भाग पर्दछ । विगत भन्दा खानेपानी समस्या केही कम भएको छ तर पर्याप्त छैन । आगामी दिनमा खानेपानीलाई व्यवस्थित गर्नेगरी काम गर्नेर्छौं । ‘एक घरः एक धारा’ कार्यक्रम लागू गर्ने छौँ ।

रामेछापमा प्रदेश र संघीय सरकार मार्फत सञ्चालित अधिकांश योजनाहरु अधुरै छन्, यसलाई सम्पन्न गर्न के सोच्नु भएको छ ?

योजना निर्माणमा समस्याहरू देखिएका छन् । त्यसमा आर्थिक चलखेलहरू हुने, बिचौलिया र शासकको बिचमा लेनदेन हुने, कमिसनका खेल हुने, जसको कारण जनतालाई समेत विवादमा ल्याएको पाइएको छ । यस्ता कार्यलाई पूर्णरूपमा हटाउन मेरो प्रयत्न हुन्छ । बजेटले विकासका काम गर्ने हो । त्यसबाट कुनै लाभको अपेक्षा गर्नु हुँदैन । यस्ता कार्यहरूको अन्त्य गर्न मेरो प्रयास रहने छ । विगतमा भएका बजेटले व्यवस्थित कार्य गर्न नसक्नुमा दुईवटा कारणहरू छन् । पहिलो बजेट नै आवश्यकताअनुसार वितरण नहुने । विभिन्न सुनुवाइ र अध्ययनबिना नै बजेट वितरण गरिएकाले यो समस्या निम्त्याएको हो । आगामी दिनमा त्यस्तो नहोस् भन्ने कुरामा हामी ध्यान दिने छौँ । यसपाली नै चलिरहेको बजेटमा कतिपय अशुद्ध कुराहरूले गर्दा स्थानीय तहमा बजेट कार्यान्वयनमा ठुल्ठुला समस्या आएका छन् । दोस्रो, बजेट कार्यान्वयन तहका समस्या छन् । ठेकेदारहरूले बजेट राम्रोसँग कार्यान्वयन नगरिदिने, समितिहरूले गर्ने कामहरू समयमा निर्माण नहुने, खर्च नगर्ने विवाद गर्ने जस्ता कार्यले समस्या आएका छन् । चाहिने ठाउँमा बजेट नआउने र आएको बजेट कार्यान्वयन नहुने कुरालाई रोक्ने मेरो प्रयत्न रहने छ ।

अन्त्यमा भन्नु केही छ ?

रामेछापको जनताले आसाभरोसा राखी विजयी गराउनुभएको छ । बजेट आर्थिक वर्षको हिसाबले अझै सुरु भएको छैन । आगामी वर्ष हामी जनताको भावना र राज्यको सामथ्र्य मिलाएर बजेटका कामहरू गर्ने छौँ । रामेछापको विकासमा सबैको साथ र हातेमालो रहोस् भन्ने अपेक्षा छ ।

प्रतिकृया

Add