शरणार्थी प्रकरणको निष्पक्ष छानविन हुनुपर्छ : रिमाल

 बिहिबार, जेष्ठ ४, २०८० | onlinenews

रामेछाप– नेकपा एमालेका उप–महासचिव विष्णु रिमालले नक्कली भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानविन हुन पर्ने बताए । यो प्रकरण संगठीत अपराध भएकाले जोसुकै भए पनि दोषि उम्कीन नहुने नेता रिमालको भनाइ छ । घटनामा मुछिएका एमाले नेताहरुलाई अनुसन्धानमा सघाउन पार्टीले निर्देशन दिएको बताउदै दोषी ठहरिएमा कानुनी कारबाही हुने र निर्दोष ठहरिएमा व्यक्तित्वमा पुगेकोे क्षतिका बारेमा छलफल गरिने नेता रिमालले बताए ।
प्रहरीले गरिरहेका निष्पक्ष अनुसन्धान र अदालती प्रक्रियामा हस्तक्षेप नगर्न नेता रिमालले सरकारको ध्यानाकर्षण गराएका छन् । सरकारको दवावमा नपरी घटनाको निष्पक्ष छानविन गर्न पनि नेता रिमालले प्रहरीलाई आग्रह गरे । भुटानी शरणार्थी प्रकरण मात्र नभइ भ्रष्टाचारका अन्य फाइलहरु पनि खोल्नु पर्ने भन्दै एमाले भ्रष्टाचारीलाई जोगाउने पक्षमा नरहेको बताए । “कुनै पनि काण्डमा नेकपा एमाले मुखमा पानी हालेर बोल्दैन, स्पष्ट बोल्छ, कुनै पनि दोषी नउम्किउन, निर्दोष नफसुन् एमालेको धारणा स्पष्ट छ” उनले भने । नेता रिमालले भने ‘ ओमनी काण्ड, यतिकाण्ड, ललिता निवास काण्ड, वाइडबडी काण्ड, क्यान्टोनमेन्ट काण्ड’ सबै काण्डहरुको छानविन हुनुपर्छ ।
नेकपा एमाले रामेछापको पार्टी कार्यालय मदन आश्रित भवनको शिलान्यास गर्न रामेछाप आएका नेता रिमालले प्रेस चौतारी नेपाल रामेछापले आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् ।
पत्रकार सम्मेलनमा नेता रिमालले ठूला दल र स्थापित नेताहरुलाई नियोजित रुपमा बद्नामी गराउने गरी प्रचार उद्योग नै सञ्चालन भएको बताए । उनले भने ‘ठूला दल र स्थापित नेताहरुलाई नयाँ बनाउने र विचारविनाका पार्टीको पक्षमा प्रचार गर्ने उद्योग नै सञ्चालन भएको छ, जसले सामाजिक सञ्जाल मार्फत मित्थ्या र भ्रामक समाचारहरु प्रचार गरिरहेका छन् ।’ २०७२ सालको संविधान माथि प्रश्न उठाउने र यो व्यवस्था नै असफल बनाउने हर्कतहरु भइरहेका छन् उनले भने ।

प्रतिकृया

Add