१ सय ६३ जनालाई ३ महिने कम्प्युटर तालिम

 सोमवार, जेष्ठ २२, २०८० | onlinenews

रामेछाप– नेपाल आदिवासी जनजाति महासंघ रामेछापको समन्वय तथा मन्थली नगरपालिकाको आर्थिक सहयोगमा नगरभित्रका १ सय ६३ जनालाई तीन महिने आधारभूत कम्प्युटर तालिम दिइएको छ । जनजाति समुदायको क्षमता विकासका लागि कम्प्युटर तालिम सञ्चालन गरिएको नेपाल आदिवासी जनजाति महासंघ रामेछापका कार्यवाहक अध्यक्ष श्रीबहादुर माझीले बताए । आइतवार तालिम समापन गरिएको हो । तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्दै मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठले सीप सिकेर निरन्तरता नदिएमा त्यसले प्रतिफल नदिने बताए । सीप र दक्षता नभएको व्यक्तिले जागिर खान भनसुन गर्ने गरेको भन्दै क्षमता, दक्षता र सीप भए जागिरले खोज्दै आउने बताए । तालिममा सिकेका सीपलाई व्यवहारमा लागू गर्न आग्रह गर्दै थप सीप सिक्न चाहनेका लागि नगरपालिका सहयोग गर्न तयार रहेको बताए ।

नगरप्रमुख श्रेष्ठले फरक प्रसंगमा मन्थली नगरपालिकालाई समृद्ध बनाउन शिक्षा, कृषि, स्वास्थ्य, स्वरोजगार र पर्यटनलाई आधार मानेको र त्यसमध्ये शिक्षालाई महत्वपूर्ण आधारका रुपमा लिएको बताए । बोर्डिङ्गमा पढ्ने बालबालिकालाई अभिभावकले विद्यालय पर्याउन जाने, पढाइको बारेमा चासो राख्ने तर सामुदायिक विद्यालयमा अध्ययन गर्ने बालबालिकाका अभिभावकले आफ्ना बालबालिकाको पढाइमा ध्यान नदिएको बताए । शैक्षिक सुधारका लागि शिक्षक, विद्यार्थी, विद्यालय व्यवस्थापन समिति र अभिभावकको भूमिका महत्वपूर्ण हुने नगरप्रमुख श्रेष्ठको भनाइ छ । नागरिकलाई सक्षम बनाउन शैक्षिक सुधार गर्नु पर्ने भन्दै शैक्षिक सुधार नगरी समृद्ध नगर बनाउन नसकिने बताए । एक वर्षभित्र मन्थली नगरपालिकालाई बालमैत्री पालिका घोषणा गर्ने अभियानमा नगरपालिका रहेकाले, नगरको अभियानमा सहयोग गर्न पनि अनुरोध गरे । नगरपालिकाले गरेको राम्रो कामको समर्थन र नराम्रो काममा सुझाव दिन पनि नगरप्रमुख श्रेष्ठले आग्रह गरे । तालिम ए वान कम्प्युटर ट्रेनिङ्ग सेन्टर मन्थलीले दिएको थियो ।

प्रतिकृया

Add