खिम्ती सवस्टेशनको बिजुली रामेछाप जोडिने

 आइतवार, जेष्ठ २८, २०८० | onlinenews

रामेछाप– आफ्नै जिल्लामा ठुला–ठुला जलविद्युन् आयोजना बने पनि ढल्केबर र सिन्धुपाल्चोक लामसाँघुको बिजुली प्रयोग गर्नुपर्ने रामेछापका नागरिकको बाध्यता हट्ने भएको छ ।
अबको केही दिनमा रामेछाप जिल्लामा न्यू खिम्ती सवस्टेशनको लाइन जोडिने भएको छ । न्यू खिम्ती सवस्टेशनको लाइन रामेछाप जोड्ने तयारी अन्तिम चरणमा पुगेको नेपाल विद्युन् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । शुुक्रवार साँझ रामेछाप सदरमुकाम मन्थली बजारमा जडान गरिएको स्मार्ट सडक बत्ती र हाइमास्ट बत्तीको उद्घाटन गर्दै कार्यकारी निर्देशक घिसिङले यस्तो बताएका हुन् । उनले भने ‘‘न्यु खिम्तीको काम सम्पन्न हुने चरणमा छ, शनिवारदेखि चार्ज गरेर यसको केही दिनमा रामेछाप जिल्लामा सप्लाई हुन्छ, त्यसपछि पटक–पटक बत्ती आउने जाने समस्याको अन्त्य हुन्छ ।”
रामेछापको मन्थली नगरपालिका–१३ फुलासीमा निर्माण गरिएको सवस्टेशनको क्षमता २२०,१३२, १३२, ३३ र ११ केभीको छ । न्यू खिम्ती सवस्टेशनको विद्युन् सप्लाई भएपछि रामेछापमा पटक–पटक बत्ती आउने जाने लगायतका लोडसेडिङ समस्याको अन्त्य हुने र विद्युतीय उपकरणहरुमा हाई भाल्टेजका कारण हुने क्षति पनि कम हुने घिसिङले बताए ।
‘अहिले रामेछापमा उत्पादन भएको विद्युन् ढल्केबर, काठमाडौँ लगायतका ठाउँमा पुग्ने र ढल्केबरको बिजुली फेरि रामेछापले बाल्नुपर्ने बाध्यता छ, अब यो बाध्यता सधैँका लागि अन्त्य हुन्छ, घिसिङले भने ।
रामेछाप जिल्लाका सबै ठाउँको विद्युत्् समस्या अन्त्य गर्नका लागि जिल्लाका विभिन्न ६ स्थानमा सवस्टेशन निर्माण गरिएको र त्यसको उद्घाटन गर्ने तयारी भइरहेको पनि उनले बताए । ‘गर्जाङ, खिम्ती, ठोसे, साँघुटार, दोरम्बा, राकाथुम, र बाम्तीमा सवस्टेशन निर्माण गरिएको छ, यसको करिब करिब चार्ज पनि भइसकेको र अब यो सबै सवस्टेशनमा न्यू खिम्तीबाट विद्युत् सप्लाई हुन्छ’, उनले भने ।
उनले देशभरका सबै नागरिकलाई विद्युत सेवा प्रदान गर्नेगरी विद्युतीकरण भइसकेकाले नेपाल विद्युत् प्राधिकरण घर उज्यालोसँगै सहर उज्यालो कार्यक्रममा लागेको बताए । देशभर ६० प्रतिशत स्थानीय तह र ४० प्रतिशत खर्च भार विद्यत् प्राधिकरणले बेहोर्ने गरी सहर उज्यालो कार्यक्रम सञ्चालन गरिएको बताए । उनले यही अभियान अन्तर्गत रामेछाप सदरमुकाम मन्थली बजार क्षेत्र, वडा नं ८ चिसापानी र सुनापति गाउँपालिकाको बेथानमा स्मार्ट सडक बत्ती र हाइमास्ट बत्ती राखिएको बताए । मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले नगरका धेरै अधिकांश वडाहरूमा खानेपानीको चरम अभाव रहेको र तामाकोसीको पानी लिफ्ट मार्फत तानेर नागरिकले आँत भरिरहेको बताए । अति सुख्खाग्रस्त यस्ता क्षेत्रका नागरिकहरूलाई खानेपानी तान्दा र सिँचाइका लागि पानी तान्नका लागि निःशल्क विद्युत् उपलब्ध गराइदिन विद्युन् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङसँग माग गरे । ‘मन्थली नगरपालिकामै विद्युन् आयोजनाहरू बनेका छन्, यहाँ उत्पादन भएको बिजुली खानेपानी र सिँचाइका लागि यहाँको जनताले निःशुल्क पाउनुपर्छ’, उनले भने । नगरपालिकाभित्रका केही ठाउँमा विद्युन् विस्तार गर्नुपर्ने, खानेपानी सिँचाइका लागि ठाउँ–ठाउँमा ट्रान्समिटर राख्नु पर्ने बताए ।

प्रतिकृया

Add