चरिकोटको भेटेरिनरी अस्पताल १० दिनदेखि डाक्टरविहीन

 बिहिबार, साउन ११, २०८० | onlinenews

रामेछाप । दोलखा जिल्लाको भेटेरिनरी अस्पताल १० दिनदेखि डाक्टरविहीन भएको छ । दोलखा र सिन्धुपाल्चोक दुई जिल्ला कार्यक्षेत्र रहेको अस्पताल १० दिनदेखि स्वास्थ्यकर्मी विहीन हुँदा सेवाग्राही मारमा परेका छन् ।
साउने संक्रान्ति मनाउन घर गएका प्राविधिक कर्मचारी अझै कार्यालय फर्किएका छैनन् । निमित्त कार्यालय प्रमुख पलट चौधरी साउन १ गते बिहान हाजिर गरेर निस्किएदेखि बुधवारसम्म अस्पताल आएका छैनन् ।
भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुखसहित डाक्टर तथा प्राविधिक कर्मचारी १० दिनदेखि अस्पतालमा छैनन् ।

बुधवार सेवाग्राही अस्पताल पुग्दा एकजना प्राविधिक र एक कार्यालय सहयोगी मात्रै अस्पतालमा थिए । दुई जिल्लाका अधिकांश किसानले पालेका पशु चौपायामा लम्पी स्किनको सङ्क्रमण फैलिनुका साथै कतिपय पशु चौपाया मरिरहेको दर्दनाक स्थिति छोडेर कार्यालय प्रमुख तथा डाक्टरहरू अस्पतालमा नहुँदा सेवाग्राहीले हदैसम्मको सास्ती व्यहोर्नु परेको छ ।

त्यस्तै, सूचना अधिकारीसमेत रहेका डा. ध्रुव डिसी पनि सोही समयदेखि अस्पतालमा छैनन् । ११ जनाको दरबन्दी रहेको भेटेरेनरी अस्पताल तथा विज्ञ सेवा केन्द्रमा सातजना कर्मचारी छन् ।
बुधवार दिउँसो १ः३० बजे अस्पताल पुग्दा एकजना प्राविधिक र एकजना कार्यालय सहयोगी मात्रै काममा कार्यालयमा थिए । उनीहरूले अन्य सबै कर्मचारी कोही बिदा तथा कोही हेटौँडा गोष्ठीमा गएको भन्ने जानकारी दिए । दुई जिल्लाका पशुहरूको उपचार हुने एक मात्र भेटेरीनरी अस्पतालमा १० दिन पशु स्वास्थ्य चिकित्सक नहुनु अस्पतालको हदैसम्मको लापरबाही भएको सरोकारवालाहरू बताउछन् ।

भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र चरिकोटका निमित्त प्रमुख पलट चौधरीले आफू प्रदेश मन्त्रालयको गोष्ठीमा सहभागी हुन हेटौँडा गएको बताए । चौधरीले आफूसँगै डा. ध्रुव डिसी पनि सोही कार्यक्रममा भाग लिन हेटौँडा आएको बताए ।

लम्पी स्किन सम्बन्धी यत्रो ठूलो महामारी चलिरहँदा लामो समय अस्पताल नै खाली किन भन्दा चौधरी यस विषयमा बोल्च चाहेनन् ।
बागमती प्रदेशको कृषि तथा पशुपन्छी मन्त्रालयका सूचना अधिकृत अनुप अधिकारीले साउन ९ गते मन्त्रालय मातहतका सबै कार्यालयको समीक्षा गोष्ठी एक दिन मात्रै रहेको जनाएका छन् । उनले यसबारे आवश्यक सोधपुछ गर्ने र गलत भएको पाइएमा आफूभन्दा माथिल्लो तहमा छलफल गर्ने बताए ।

दोलखाका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले कार्यालय छोड्दा सामान्य जानकारी आएको, तर अस्पतालजस्तो संवेदनशील क्षेत्रमा यति लामो समय चिकित्सक तथा कर्मचारी नभएको भन्ने जानकारी प्राप्त नभएको बताए । प्रजिअ धमलाले त्यसबारे तत्काल अध्ययन गर्ने बताएका छन् ।

प्रतिकृया

Add