मोटरसाइकल किन्न विनियोजन गरेको बजेट शिक्षामा लगानी

 बिहिबार, साउन १८, २०८० | onlinenews

 

रामेछाप- रामेछाप जिल्लाको मन्थली नगरपालिका–५, सुनारपानीका वडाध्यक्ष रवीन कार्की (नवीन)ले मोटरसाइकल खरिदका लागि विनियोजन गरेको बजेट शिक्षामा लगानी गर्ने भएका छन् ।
मोटरसाइकल खरिदका लागि वडाले विनियोजन गरेको ४ लाख रुपैयाँ बजेट वडाभित्रका विद्यालयमा अध्ययन गर्ने गरिब र दलित समुदायका विद्यार्थीहरुका लागि शैक्षिक सामग्रीमा लगानी गर्ने वडा अध्यक्ष कार्कीले जानकारी दिए ।
मोटरसाइकल खरिदका लागि बजेट विनियोजन गरिएको भए पनि शैक्षिक सुधार गर्नु महत्वपूर्ण आवश्यकता भएकाले शिक्षामा लगानी गर्ने सोच बनाएको अध्यक्ष कार्कीले बताए ।

‘वडाभित्रका विद्यालयमा गरिब तथा दलित समुदायका विद्यार्थीहरुलाई शिक्षामा सहयोग गर्ने उद्देश्यले सवारी खरिदका लागि विनियोज गरिएको बजेटबाट शैक्षिक सामग्री वितरण गर्ने योजना बनाएको हुँ’, कार्कीले भने ।
वडामा रहेका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सुधार ल्याउन आफैबाट सुरु गर्नुपर्छ भन्ने मान्यताका साथ चालू शैक्षिक सत्रबाट उनले आफ्ना छोरालाई समेत बोर्डिङ स्कुलबाट निकालेर गाउँकै सामुदायिक विद्यालयमा भर्ना गरेका थिए ।

उनले फरक प्रसङ्गमा गाउँका मानिसहरु सहर पलायन हुने क्रम बढेकोप्रति चिन्ता व्यक्त गर्दै सिँचाइ व्यवस्था र कृषिमा आधुनिकीकरण गर्न वडाको बजेटले मात्र सम्भव नहुने भएकाले प्रदेश र सङ्घीय सरकारको भर पर्नुपर्ने बाध्यता रहेको बताए । शिक्षा, स्वास्थ्य र कृषिमा रुपान्तरण गर्न आपूm लागिपरेको कार्कीको भनाइ छ ।

प्रतिकृया

Add