मुलुकलाई नयाँ दिशा दिन आवश्यक : प्रधानमन्त्री दाहाल

 बिहिबार, साउन ३२, २०८० | onlinenews
रामेछाप- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशलाई नयाँ दिशा दिन आश्यक रहेको बताए । शान्ति, सहकार्य र एकताको सन्देशसहित मुलुकलाई नयाँ युगतिर लैजान आवश्यक रहेको दाहालले बताए ।
२० औँ दोरम्बा स्मृति दिवसलाई सम्बोधन गर्न बिहीवार रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाको डाडाँकटेरी आएका प्रचण्डले यस्तो बताएका हुन् । प्रधानमन्त्री दाहालले मुलुकमा लोकतान्त्रिक गणतन्त्रसहितको व्यवस्था ल्याउन सफल भए पनि जनताले अपेक्षा गरे अनुसारको परिवर्तन ल्याउन नसकेको बताए ।
मुलुकमा स्थायी शान्ति, सुशासन र सम्वृद्धिका लागि धेरै काम गर्न बाँकी रहेको दाहालले बताए । हामी देशमा आमुल परिवर्तन ल्याऔँ भनेर सैद्धान्तिक रुपमा भन्न त भन्छौँ तर व्यवहारमा जनताको दैनिकीमा परिवर्तन ल्याउन सकिरहेका छैनौँ, कहिँ न कहिँ अल्मलिएका छौँ उनले भने ।
मुलुकमा व्याप्त विकृति र विसङ्गतिको अन्त्य गर्न आफ्नो नेतृत्वको सरकार लागिरहेको दाहाललको भनाइ छ । वर्तमान गठबन्धन सरकार मुलुकमा भ्रष्टाचार अन्त्य गरी सुशासन र विकासका लागि अघि बढिरहेको बताउदै उनले भने गठबन्धनमा कुनै समस्या छैन । ‘सुशासन, सामाजिक न्याय र सम्वृद्धिको कुरामा हामी एकतावद्ध छौँ’, दाहालले भने– प्रतिक्रियावादीहरुले चलाएको बाहिरी हल्लाको पछि नलाग्न म आग्रह गर्दछु ।
शान्ति प्रकृयाको बाँकी काम सम्पन्न गर्न सरकार क्रियाशिल रहेको उनले बताए । अब वलिदान र वीरता सम्झेर दिवस मनाउने मात्र हैन, रोजगारी र सम्वृद्धिका कार्यक्रम पनि सञ्चालन गर्नुपर्छ भनेर सरकारले नयाँ कार्यक्रम ल्याउन लागेको उनको भनाइ छ । दोरम्बा हत्याकाण्ड शान्ति प्रकृया विथोल्न गराइएको सुनियोजित र कायरतापूर्ण हत्याकाण्ड भएको भन्दै दाहालले उक्त घटना मानवअधिकारका दृष्टिले जघन्य अपराधको रुपमा विश्वमा कहलिएको बताए । दाङको हापुरेमा सरकार र माओवादीबिच शान्ति वार्ता भइरहेको बेला २०६० साउन ३२ गते दोरम्बामा माओवादीका २१ जना नेता कार्यकर्ताको हत्या भएको थियो ।
प्रधानमन्त्री दाहालले सरकारमा गएपछि माओवादी र जनताको सम्बन्ध चिसिँदै गएकोमा चिन्ता प्रकट गरे । ‘हिजो हामी सामन्तवाद निरङ्कुशताका विरुद्ध बन्दुक बोकेर लडाइँमा थियौँ, त्यसबेला माओवादी र जनताको सम्बन्ध पानी र माछाको सम्बन्ध जस्तै थियो’, दाहालले भने – विगतमा हामीले गरेका त्यस्तो सम्बन्ध केही अल्मलिएकाले फेरि पुरानै बाटोमा ल्याउन नयाँ सङ्कल्पसहित लागेका छौँ ।
हिजो हामी रक्तपातपूर्ण क्रान्तिमा थियौँ, तर आज हामी समाजवादका निम्ति रुपान्तरणको शान्तिपूर्ण अभियानमा जुटेका छांैँ,  दाहालले भने – फेरि जनतासँग जोडिएर प्रतिगमन र भ्रष्टाचारका विरुद्ध एकाकार भएर समाजवादी क्रान्ति सफल बनाउन आवश्यक छ । आउने ३ महिनामा नयाँ एउटा वातावरण बन्छ बन्छ । अर्को ३ महिनामा हाम्रो पार्टी जिवन्त पार्टीको रुपमा आउँछ । त्यसो भयो भयो, २०६४ को निर्वाचनको परिणाम ल्याउन गाह्रो छैन, उनले भने ।
‘यो पटक राम्रो काम गरेर जनताको मन जित्ने काम बाहेक अन्य कुनै काम गर्नु छैन’ दाहालले भने – जीवनको उतरार्धमा भए पनि राष्ट्र र जनताको निम्ति समाजवाद ल्याउनका लागि नयाँ सङ्कल्पका साथ पहलकदमी लिन्छु । त्यसैले सरकारले ठुला बहुउद्देश्यीय योजनामा अघि लागेकोे उनले बताए । एउटै  जलविद्युत आयोजना १० हजार मेघावाटको बनाउन सकियो भने त्यसले आर्थिक सम्वृद्धिको बाटो ल्याउने दाबी दाहालको थियो ।
कार्यक्रममा बागमती प्रदेशका मुख्य मन्त्री सालिकराम जम्कटेल र माओवादीका नेता जनार्दन शर्मा प्रभाकरलगायतका वक्ताले दोरम्बा हत्याकाण्डलगायतका घटनामा मारिएका सहिदको रगत खेर जान नदिन जनताको आशा र भरोसाको केन्द्र भएर काम गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रतिकृया

Add