विकासका लागि एकता आवश्यक हुन्छ : श्रेष्ठ

 शनिबार, भदौ ९, २०८० | onlinenews

 

रामेछाप– रामेछापको मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठले विकासका लागि एकता आवश्यक रहेको बताए । विकासका कुरामा जुनसुकै राजनीतिक पार्टी र समुदाय भए पनि एकमत भएर लाग्नु पर्ने बताए । विकासमा एकता हुन सकेन भने त्यसको अवसर अरुले लिने बताए ।
मन्थली नगरपालिका भित्रका माझी समुदायलाई ढोलक, मादल र झ्याली वितरण कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख श्रेष्ठले यस्तो बताएका हुन् । मन्थली नगरपालिकाको आर्थिक सहयोगमा नेपाल माझी उत्थान सङ्घ रामेछापले शनिवार एक कार्यक्रम आयोजना गरी १३ वटा माझी समूहलाई ढोकल, मादल र झ्याली वितरण गरेको हो । माझी समुदायको संस्कार, सँस्कृति संरक्षण गर्ने उद्देश्यले माझी समुदायको चाडपर्व तथा पितृ संस्कारमा नभइनहुँने बाद्यबादनका सामग्री प्रदान गरिएको बताए । वितरण गरिएको सामग्री माझी सामुदायको संस्कृति संरक्षको आधार मात्र हो, यो पर्याप्त होइन नगरप्रमुख श्रेष्ठले भने ।

मन्थली नगरपालिकाले जातजातिहरुको भाषा, संस्कार र संस्कृति संरक्षणका लागि काम गरिरहेको पनि नगरप्रमुख श्रेष्ठले बताए । मन्थली नगरपालिकामा माझी, नेवार, मगर, तामाङ लगायत जातिका संस्कृतिको संरक्षण गरी पर्यटनसँग जोड्न सके समृद्धिको आधार बन्ने बताए । शैक्षिक सुधार नभएसम्म सरकारले ल्याएको समृद्धिको परिकल्पना पूरा हुन नसक्ने भन्दै मन्थली नगरपालिकाले शिक्षा, स्वास्थ्य, स्वरोजगार र खानेपानीलाई प्राथमिकतामा राखेर काम गरिरहेको नगरप्रमुख श्रेष्ठको भनाइ छ ।

आफू नेकपा एमालेबाट नगरप्रमुखमा निर्वाचित भएपनि निर्वाचित भइसकेपछि साझा व्यक्ति भएकाले नगरको साझा एजेण्डा बोकेर काम गरिरहेको छु, त्यसमा दायाँबायाँ भएमा तपाईहरुले खबरदारी गर्नुहोला उनले भने । मन्थली नगरपालिकामा ४ राजनीतिक दलको प्रतिनिधित्व रहेको छ । अहिलेसम्म कसैले पनि राजनीतिक स्वास्र्थबाट प्रेरित नभइ सामूहिक सोचले काम गरेका छाँै, उनले भने आगामी दिनमा पनि सामूहिक सोचका साथ अघि बढ्ने छौँ ।
नगरप्रमुख श्रेष्ठले माझी समुदायको संस्कार, सँस्कृतिको संरक्षण गर्न माझी सङ्ग्रहालय स्थापना गर्न पनि माझी समुदायलाई सुझाव दिए । मन्थली नगरपालिकालाई आधार मानेर सङ्ग्रहालय स्थापना गर्न नगरप्रमुख श्रेष्ठको सुझाव छ । अहिले संरचना भएको ठाउँबाट सुरुवात गर्नुस् तपाईहरु जागरुक हुनुभयो भने पछि त्यसलाई केन्द्र पर्ने ठाउँमा निर्माण गर्न सकिन्छ उनले भने ।

माझी, नेवार, मगर, तामाङ लगायत जनताजतिको सँस्कृति संरक्षण गरी पर्यटनको रुपमा विकास गर्न सकिने पनि उनले बताए । पर्यटकीय सिजनमा मन्थलीबाट लुक्लाका लागि उडान हुने र विदेशी पर्यटकहरु लुक्ला जान मन्थली आउने भएकाले यहाँको संस्कार सँस्कृतिलाई पर्यटनको रुपमा विकास गर्न सके स्थानीयको आर्थिक आम्दानी बढ्नुका साथै नगरलाई पनि चिनाउन सकिने र जनजातिहरुको सँस्कृति समेत संरक्षण हुने बताए ।
माझी समुदायको भाषा संस्कृति संरक्षण गर्न माझी समुदाय आफै तयार हुनुपर्ने बताउँदै माझी भाषा पाठशाला खोलेमा नगरपालिकाले केही सहयोग गर्ने बताए । तर, स्थानीय सरकारले सम्पूर्ण सहयोग गर्छ र काम गरौँला भन्नेतर्फ लाग्न नहुने उनको भनाइ छ ।

स्थानीय सरकार प्रमुख भएर जनजातिको मात्रै कुरा गर्न मिल्दैन तर जनजातिहरुकै कार्यक्रम भएकाले सन्दर्भ जोडेको हुँ उनले भने । खाँडादेवीमा पर्ने सेलेघाटमा बाइसे चौबिसे राज्यको बेला माझी राजा बस्थे भने चर्चा छ, यदि त्यो सत्य हो भने त्यस ठाउँको इतिहासको पनि खोजी गर्नु आवश्यक रहेको बताए । जातीय सँस्कार आफैले खोज्ने हो, अरुले खोजेर दिदैन उनले भने ।
माझी समुदाय शिक्षामा पछि परेको प्रसङ्गमा नगरप्रमुख श्रेष्ठले शिक्षामा सक्षम बन्न आफ्ना बालबालिकाहरुलाई नियमित विद्यालय पठाउन आग्रह गरे । एउटा जनजातिले राम्रो काम ग¥यो भने अरु कसैको उक्साहटमा लागेर हामी जनजाति नै खुट्टा तान्न पछि लाग्ने स्वभाव रहेको भन्दै त्यसतर्फ सचेत हुनुपर्ने बताए । मन्थली नगरपालिकामा माझी जातिका खेलाडीहरुले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै खेलाडीहरु नगरबाट खेलमा सहभागि हुँदा सामान्य व्यवस्थापन मात्र गर्न सकेको नगरप्रमुख श्रेष्ठको भनाइ छ ।

शनिवार एक औपचारिक कार्यक्रमको आयोजना गरी नेपाल माझी उत्थान संघ रामेछापले मन्थली नगरपालिका अन्तर्गत १३ वटा टोल समितिलाई बाद्यबादनका सामग्री वितरण गरिएको हो । नगरपालिकाको आर्थिक सहयोगमा खरिद गरिएको २७ सेट बाद्य सामग्री मध्ये नवुघाट २ सेट, सेलेघाट २ सेट, मसान्टार १ सेट, हात्तीटार २ सेट, कुनौरी २ सेट, मन्थली ३ सेट, करमबोट १ सेट, चिसापानी ३ सेट, गाइखुरा २ सेट, ओढारे २ सेट, मुगिटार २ सेट, भटौली ‘ए’ १ सेट र भटौली ‘बि’ लाई २ सेट वितरण गरिएको नेपाल माझी उत्थान सङ्घ रामेछापका अध्यक्ष हरि माझीले जानकारी दिए । २७ सेट मध्ये २६ सेट वितरण भएको र बाँकी १ सेट माझी उत्थान सङ्घले स्टकमा राखेको अध्यक्ष माझीले बताए ।
माझी समुदायको लागि चाडपर्व तथा पितृ सँस्कारमा अत्यावश्यक सामान पाउँदा माझी समुदाय निकै खुसी र उत्साहित भएको स्थानीय बालकृष्ण माझीले बताए ।

प्रतिकृया

Add