सुनापतीमा निःशुल्क स्त्रीरोग स्वास्थ्य शिविर

 बिहिबार, अशोज ११, २०८० | onlinenews

 

रामेछाप– रामेछापको सुनापती गाउँपालिकामा निःशुल्क स्त्रीरोग स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । गाउँपालिकाको ३ वटा वडाहरुमा स्त्रीरोग विशेषज्ञ सेवासहित स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।
शिविरमा पाठेघरको परीक्षण, उपचार, भिडियो एक्सरे, इसिजी, भिआइए परीक्षण र उपचार, यौनरोग उपचार तथा परामर्शसहित विशेषज्ञ सेवा प्रदान गरिएको थियो ।

सामुदायिक सेवा प्रतिष्ठान भक्तपुरको प्राविधिक सहयोग, शीर मेमोरियल एड्भेन्टिष्ट अस्पताल बनेपा, सामुदायिक विकास समाज, महिला तथा बाल सशक्तिकरणःस्वास्थ्य तथा सरसफाइ परियोजना मन्थली, रामेछाप र सुनापती गाउँपालिकाको आयोजनामा निःशुल्क स्त्रीरोग स्वास्थ्य शिविर सञ्चालन गरिएको परियोजना संयोजक तिलक कार्कीले जानकारी दिए ।

कार्कीका अनुसार सुनापती गाउँपालिका–१ गुन्सी, वडा नं. ५ खनियापानी र वडा नं. ४ बेथानमा शिविर सञ्चालन गरिएको हो । शिविरमा स्त्रीरोग विशेषज्ञ, रेडियोलोजिष्ट, एनएसथेसियाले सेवा दिएका थिए । शिविरमा स्वास्थ्य परीक्षण, औषधी उपचार, परामर्श तथा रेफर समेत गरिएको कार्कीले बताए । सो शिविरबाट पाठेघर खसेका महिलाहरुलाई निःशुल्क अपरेशन गरिने पनि उनले जानकारी दिए ।

शिविरमा ७ सय ८७ जनाले स्वास्थ्य परीक्षण गराएका छन् । जसमध्ये पाठेघर खसेका ५४ जनाले शिविरमै उपचार पाएका छन् । भिआए पोजेटिभ देखिएका २४ जनाको क्रायोथेरापीबाट उपचार गरिएको थियो भने १५ जना पाठेघर खस्ने समस्याबाट पीडितको अपरेशन गरिने भएको छ । यौनरोगको परामर्श र औषधीसमेत गरिएको थियो ।

पालिका अध्यक्ष ठुलोकान्छा तामाङले स्वास्थ्य शिविर मार्फत गाउँमा नै विशेषज्ञ सेवा उपलब्ध गराएकोमा खुसी व्यक्त गरे । शिविरबाट विशेषगरी महिलाहरुले लाभ लिएका र अझ थप सेवा उपलब्ध गराउन लागिपर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । गाउँघरमा नै महिलासँग सम्बन्धित शिविर ल्याएकोमा खुसी व्यक्त गर्दै सचेतना महिला सहकारीकी अध्यक्ष किरण श्रेष्ठले महिलाहरुलाई उपचारको बारेमा जानकारी नुहँदा रोग लुकाए राख्ने गरेको बताइन् । यस्ता शिविरबाट उनीहरुले लाभ पाएको श्रेष्ठको भनाइ छ ।

प्रतिकृया

Add