बाल सञ्जाललाई तालिम तथा भ्रमण

 बुधबार, मंसिर ६, २०८० | onlinenews

 

रामेछाप– अन्तर्राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा रामेछापको सुनापती गाउँपालिका स्तरीय बाल सञ्जालका पदाधिकारीहरुलाई वकालत तथा पैरवी एवम् बालमैत्री स्थानीय शासन सम्बन्धित ३ दिने तालिम दिइएको छ । तालिम मङ्सिर २ गतेदेखि ५ गतेसम्म काभ्रे जिल्लाको बनेपामा सञ्चालन गरिएको थियो ।

सामुदायिक विकास समाज, महिला तथा बाल सशक्तीकरणः स्वास्थ्य तथा सरसफाइ परियोजना रामेछापको आयोजनामा तालिम सञ्चालन गरिएको हो । जिल्लाको सुनापती गाउँपालिकामा गठन भइ क्रियाशील सुनापती गाउँपालिका स्तरीय बाल सञ्जालका २९ जना पदाधिकारीहरुलाई तालिम दिएको परियोजनाका संस्थागत विकास सहजकर्ता मोहनकुमार सुनुवारले जानकारी दिए । तालिममा बाल सञ्जालको काम, कर्तव्य र भूमिका, बालमैत्री घोषणा प्रकृया, सरोकारवालाहरुको भूमिका लगायतका विषयमा छलफल भएको थियो ।


त्यसैगरी बालअधिकार, कानुनी प्रावधान, बाल समूह तथा सञ्जालले घरपरिवार, समाज, विद्यालय तथा स्थानीय सरकारसँग खेल्नु पर्ने भूमिकाका विषयमा छलफल भएको थियो । बालबालिकाले स्थानीय सरोकार, समस्या तथा सवालमा पैरवी तथा वकालतका विषयमा पनि प्रशिक्षण दिइएको सुनुवारले बताए । आफूले सिकेका ज्ञान, सीप, क्षमता तथा समसामयिक विषयलाई सहपाठी शिक्षामार्फत फैलाउने विषयमा समेत छलफल भएको थियो ।

तालिमको सहजिकरण बाल अधिकारकर्मी तथा अभियान्ता रन्जन पौडेल, अशोक खनाल, सामुदायिक विकास समाजका कार्यकारी निर्देशक मिलनकुमार घिसिङ र परियोजना संयोजक तिलक कार्कीले गरेका थिए । तालिम पश्चात बालमैत्री घोषणा भएका पनौती नगरपालिका र धुलीखेल नगरपालिका, बालमैत्री विद्यालय एवम् संरचनाहरुको स्थलगत अध्यायन भ्रमण गरिएको थियो ।

प्रतिकृया

Add