महिला सहकारीलाई लेखा तालिम

 बिहिबार, मंसिर २१, २०८० | onlinenews

 

रामेछाप– रामेछाप जिल्लाको सुनापति गाउँपालिका र खाँडादेवी गाउँपालिकामा सञ्चालित महिला बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारी र कर्मचारीहरुलाई लेखा सम्बन्धी ३ दिने तालिम दिइएको छ । सामुदायिक विकास समाज महिला तथा बाल सशक्तीकरणः स्वास्थ्य तथा सरसफाइ परियोजना मन्थली रामेछापले परियोजनाको कार्यक्षेत्र अन्तर्गतका महिला बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारी तथा कर्मचारीहरुका सिकाइ आदानप्रदान तथा रणनैतिक योजना तर्जुमा कार्यशाला आयोजना गरेको हो । महिलाहरुको क्षमता अभिवृद्धि तथा महिलाहरुद्धारा सञ्चालित सहकारी संस्थाहरुको लेखा प्रणालीलाई व्यवस्थित तथा चुस्त दुरुस्त पार्ने उद्देश्यले लेखा व्यवस्थापन सम्बन्धी तालिम सञ्चालन गरिएको परियोजना संयोजक तिलक कार्कीले जानकारी दिए ।

तालिममा दिदी बहिनी महिला बचत तथा ऋण सहकारी संस्था सुनापति–३ हिलेदेवी, सचेतना महिला बचत तथा ऋण सहकारी संस्था सुनापति–५ खनियापानी, जागरण महिला बचत तथा ऋण सहकारी संस्था सुनापति–१ गुन्सी, जनचेतना महिला बचत तथा ऋण सहकारी संस्था सुनापति–४ बेथान, जन्मभूमि महिला बचत तथा ऋण सहकारी संस्था खाँडादेवी–१ राकाथुम, एकता महिला बचत तथा ऋण सहकारी संस्था खाँडादेवी–२ मझुवा, सक्रिय महिला बचत तथा ऋण सहकारी संस्था खाँडादेवी–७ खाँडादेवीका पदाधिकारी तथा कर्मचारीको सहभागिता रहेको थियो । उक्त सहकारी संस्था महिला समूहमा आवद्ध मलिाहरुद्धारा सञ्चालन गरिएकाले महिला सहकारीको सदस्य हुन महिला समूहमा आवद्ध भएको हुनुपर्ने पनि परियोजना संयोजक कार्कीले बताए ।


तीन दिने सिकाइ आदाप्रदान तथा रणनैतिक योजना तर्जुमा सम्बन्धी कार्यशालाको सहजीकरण सामुदायिक विकास समाज (सिडिएसका) कार्यकारी निर्देशक मिलनकुमार घिसिङ र परियोजनाका लेखा तथा प्रशासन अधिकृत सुमन बोहराले गरेका थिए ।

बुधवार आयोजना गरिएको तालिम समापन कार्यक्रममा सामुदायिक विकास समाज (सिडिएस) का सचिव बलराम लामाले महिलाहरुलाई आत्मनिर्भर र सक्षम बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको बताए । तालिममा सिकेका कुरालाई आफ्नो सहकारी संस्थामा व्यवहारिक रुपमा लागू गर्न पनि उनले तालिमका सहभागिहरुलाई आग्रह गरे । सहयोगी परियोजनाको अवधि सीमित हुने भएकाले परियोजनाको अवधि सकिएपछि पनि जिल्लाबासी र सामाजिक अभियान्ताका हिसाब यो सहकार्यलाई निन्तरता दिने बताए ।

तालिमका सहजकर्ता तथा सामुदायिक विकास समाजका कार्यकारी निर्देशक मिलनकुमार घिसिङ्ले परियोजना बारिहएपछि आर्थिक रुपमा सहयोग गर्न नसकेपनि ज्ञान, सीप बाड्ने र सहकार्यलाई निरन्तर दिने बताए । घिसिङले सामाजमा पछि परेका वर्ग समुदायलाई अरु सरह हाराहारी र बराबरीमा पुर्याउनु आफूहरुको उद्देश्य रहेको बताए ।

महिलाहरु पनि पुरुष भन्दा पछि परेकाले महिलाहरुलाई पनि पुरुष सोसरह वा त्यो भन्दा अघि बढाउने लक्ष्यका साथ महिला लक्षित कार्यक्रम सञ्चालन गरिएको कार्यकारी निर्देशक घिसिङले बताए । समाजमा पछि परेका वर्ग समुदायलाई अघि बढाई सक्षम बनाएर मात्र असमानता र विभेदलाई अन्त्य गर्न सकिने भएकाले आफूहरुले सोही उद्देश्य अनुरुप काम गरिरहेको घिसिङले बताए ।

प्रतिकृया

Add