१७ स्वास्थ्य संस्थाका भवन अलपत्र

 बिहिबार, पुस ५, २०८० | onlinenews

 

रामेछाप– रामेछाप जिल्लामा विभिन्न ठाउँका १७ वटा स्वास्थ्य चौकीको भवन निर्माण कार्य अलपत्र परेको छ । स्काई विवश निर्माण सेवाले निर्माणको जिम्मेवारी लिएर १९ वटा भवनमध्ये दुईवटा भवनको निर्माण कार्य अन्तिम चरणमा पुगे पनि १७ वटा भवन अलपत्र पारेको हिडेको छ । तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट निर्माण सुरु भएको चिसापानी स्वास्थ्य चौकीलगायत विभिन्न स्थानका स्वास्थ्य संस्थाको भवन अलपत्र अवस्थामा छन् ।

सघन सहरी तथा भवन निर्माण आयोजना रामेछापका अनुसार उक्त कम्पनीले १५ महिनामा काम सक्ने गरी २०७८ वैशाख ८ गतेबाट जिल्लाका विभिन्न स्थानका १९ वटा स्वास्थ्य संस्थाको भवन निर्माणको कामको थालेको थियो ।

तोकिएको समयमा काम सम्पन्न नभएपछि २०७९ चैत २७ गतेसम्म काम सक्ने गरी पहिलो पटक म्याद थप गरिएको थियो । पहिलो पटक थपिएको म्यादमा पनि काम सम्पन्न नभएपछि २०८० मङ्सिर २० गतेसम्म काम सक्ने गरी अन्तिम पटक म्याद थप गरिएको समय समेत सकिदा पनि निर्माण सुरु भएको छैन ।

सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय रामेछापका अनुसार ११ वटा स्वास्थ्य चौकी भ्याट बाहेक १९ करोड ३७ लाख ८७ हजार र ८ वटा स्वास्थ्य चौकी २० करोड ५२ लाख ४५ हजार रुपैयाँ लागतमा निर्माण गर्ने गरी सम्झौता भएको थियो ।

प्रतिकृया

Add