रामेछापमा शान्ति योगाश्रमको भवन शिलान्यास

 बिहिबार, पुस ५, २०८० | onlinenews

 

रामेछाप- रामेछापको रामेछाप नगरपालिका–८ डुकुरसिंमा शान्ति योगाश्रम बन्ने भएको छ । भारतीय राजदूतावासको ८० प्रतिशत र नेपाल सरकारको २० प्रतिशत लागानीमा निर्माण हुन लागेको योगाश्रम भवनको बुधवार शिलान्यास गरिएको छ ।

प्रतिनिधि सभा सदस्य पूर्णबहादुर तामाङ, रामेछाप नगरपालिका प्रमुख लबश्री न्यौपाने र भारतीय राजदूतावासका द्धितीय सचिव प्रशान्तकुमार सोनाले संयुक्त रुपमा भवन शिलान्यास गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य पूर्णबहादुर तामाङले जिल्लाको पर्यटन प्रबर्धनसँग जोडिएको डुकुरसिं डाँडामा योगाश्रम बन्नु खुसीको कुरा भएको बताए ।

शान्त र आनन्दित यो क्षेत्रमा योगाश्रम बनेपछि नेपालका मात्रै नभएर भारतका पनि धेरै मानिसहरु योगा गर्न आउने वातावरण बनाउनुपर्ने तामाङको भनाइ छ । रामेछाप नगरपालिका प्रमुख लबश्री न्यौपानेले पर्यटनको उच्च सम्भावना बोकेको डुकुरसिं डाँडामा भारतीय राजदूतावासले लगानी गरेकोमा धन्यवाद व्यक्त गरे । उनले पछिल्लो समय नगरपालिका पर्यटकीय क्षेत्रको विकासमा योजनावद्ध रुपमा लागेको बताए ।

भारतीय राजदूतावासका द्धितीय सचिव प्रशान्तकुमार सोनाले भारत सरकारले नेपालको साँस्कृतिक विकासलाई जहिले पनि प्राथमिकतामा राख्ने गरेको भन्दै आगामी दिनहरुमा पनि यस्ता सहयोगहरुलाई निरन्तरता दिने बताए । मलागिरी विकास केन्द्रका अध्यक्ष हिरण्यप्रसाद पौडेलको पहलमा उक्त शान्ति योगाश्रम ४ करोड ८४ लाख १३ हजार ३ सय १२ रुपैयाँ लागतमा बन्न लागेको हो । भवन निर्माणको जिम्मा एस रामेछाप कन्स्टक्सन प्रालिले पाएको छ ।

प्रतिकृया

Add