सुशासन जोखिम न्यूनीकरणमा मन्थलीको ७८ अङ्क

 बिहिबार, पुस २६, २०८० | onlinenews

 

रामेछाप- स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा रामेछाप जिल्लाभित्र मन्थली नगरपालिका प्रथम भएको छ । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन ७१ दशमलव ७५ अङ्क प्राप्त गरी ‘समग्र व्यवस्थापकीय क्षमतामा मन्थली नगरपालिका प्रथम भएको हो । मन्थलीले वित्तीय सुशासन जोखिम न्यूनीकरण मूल्याङ्कनमा समेत ७८ अङ्क ल्याई रामेछाप जिल्लाका पालिकाहरुमा प्रथम भएको छ ।

बुधवार आयोजना गरिएको १४ औँ नगर सभामा नगरप्रमुख लब श्रेष्ठले सो कुरा जानकारी दिएका हुन् । मन्थली नगरपालिकाले ६ महिनामा चालु आर्थिक वर्षको कुल बजेटको २२ प्रतिशत खर्च भएको जानकारी दिएको छ । सो अवधिमा स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणालीमा जम्मा भएको १ अर्ब १३ करोड ५ लाख ४३ हजार बजेटमध्ये पुस २४ गतेसम्म चालुतर्फ २७ र पूँजीगततर्फ १२ प्रतिशत बजेट खर्च भएको मन्थली नगरपालिकाले जनाएको छ ।

नगरपालिका अन्तर्गत रहेका ठुला साना गरी ३ सय ५१ योजना र कार्यक्रममध्ये १ सय १२ योजना सम्झौता भई कार्यान्वयनमा गएको र ४१ योजना सम्पन्न भइसकेको पनि नगरप्रमुख श्रेष्ठले जानकारी दिए । नगर र वडा साझेदारीका योजनामध्ये ५ वटा ठेक्का सम्झौताको चरणमा र अन्य बोलपत्र आह्वानको चरणमा रहेको उनको भनाइ छ ।

आन्तरिक राजस्वतर्फ ४ करोड ४३ लाख आम्दानी हुने अपेक्षा राखिएकोमा १ करोड ३२ लाख ९५ हजार रुपैँया राजश्व सङ्कलन भएको श्रेष्ठले नगर सभामा जानकारी दिए । नगरपालिकाको आम्दानीको मुख्य स्रोतको रुपमा रहेको ढुङेगा, गिटी, बालुवा ठेक्का लाग्न नसक्दा लक्ष्य अनुसारको राजश्व उठ्न नसकेको नगरप्रमुख श्रेष्ठको भनाइ छ । कृषि क्षेत्रको प्रवर्धन र प्रोत्साहन गर्न उत्पादनमा आधारित अनुदान, समूह र फार्ममा आधारित कृषिलाई प्रोत्साहन, रैथाने बाली प्रवर्धनलगायतका कार्यक्रम सञ्चालन भइरहेको नगरपालिकाले जनाएको छ ।

समुदायमा आधारित लघु उद्यमी सिर्जना र विकासका लागि रोजगार कार्यक्रम सञ्चालन गरिएको साथै उद्यमीलाई तालिम र प्रविधि हस्तान्तरण कार्यक्रम अघि बढाएको श्रेष्ठले बताए । मन्थली नगर अस्पतालमा १५ शैय्यामा बनाइएको, गर्भवती महिलालाई सुत्केरी हुन अस्पताल आउनजान र काठमाडौँ रेफर गर्नु गर्दा निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउँदै आएको र छोरीको जन्मलाई प्रोत्साहन गर्न सन्तति बचत प्रोत्साहन कार्यक्रम लागू गरिएको श्रेष्ठले भनाइ छ । त्यसैगरी बालमैत्री नगर घोषणाको लागि आवश्यक तयारी भइरहेको पनि श्रेष्ठले नगर सभामा जानकारी दिए ।
न्यायिक समितिमा जिम्मेवारी सरेर आएका १० वटा र चालु आर्थिक वर्षमा दर्ता भएका १० वटासहित २० उजुरी फछ्र्यौट भएको मन्थली नगरपालिका न्यायिक समितिले जनाएको छ ।

प्रतिकृया

Add