मन्थली अस्पतालले विभिन्न कार्यक्रम गरी मनायो वार्षिकोत्सव

 आइतवार, माघ २८, २०८० | onlinenews

निरजकुमार श्रेष्ठ


रामेछाप- रामेछापको मन्थली अस्पतालले तेस्रो वार्षिकोत्सव विभन्न कार्यक्रम गरी मनाएको छ । मन्थली नगर अस्पतालको वर्षिकोत्सवको अवसरमा मन्थलीको भैँसेश्वरस्थित रणजोर खाला पुलबाट आकासे पुलसम्म म्याराथन प्रतियोगिता आयोजना गरिएको थियो । म्याराथनमा महिला तथा ३० वर्षमाथिका र ३० वर्ष तलका पुरुष टिम गरी ३ टिमले भाग लिएका थिए ।
त्यसैगरी वार्षिकोत्सवको अवसरमा मन्थली अस्पतालमा रहेका बिरामीहरूलाई फलफूल वितरण गरिएको थियो भने रक्तदान कार्यक्रमको पनि आयोजना गरिएको थियो ।

मन्थली अस्पतालले ओपिडी, रेडियोलोजी सेवा, थेरापी सेवा, डेनटल सेवा, पोस्टमार्टम, आँखा केन्द्र, ल्याब, फार्मेसीलगायत सेवा प्रदान गर्दै आएको मन्थली अस्पतालका प्रमुख डाक्टर समीर क्षेत्रीले जानकारी दिए । डा. क्षेत्रीका अनुसार साप्ताहिक रुपमा खोप सेवा सञ्चालन, सर्पदंशका बिरामीको उपचार सेवा पनि प्रदान गरिँदै आएको छ । डाक्टर क्षेत्रीले धेरै चुनौतीहरूलाई चिर्दै मन्थली अस्पतालले स्वास्थ्य सेवा प्रवाह गरिरहेको भन्दै दैनिक २ सय जनासम्म बिरामीहरूको उपचार सेवा दिइदै आएको बताए । डा. क्षेत्रका अनुसार चालु आर्थिक वर्षको हालसम्म करिब २६ हजार बिरामीको स्वास्थ्य उपचार गरिएको छ ।

मन्थली अस्पतालले कैयौँ जटिल केसहरूको समेत सफल उपचार गरेको भन्दै अस्पतालले आफ्नो सेवालाई विस्तार गर्दै लगेपछि बिरामीको चाप बढेको डाक्टर क्षेत्रीको भनाइ छ ।
मन्थली अस्पतालमा रामेछाप जिल्लासहित छिमेकी जिल्ला ओखलढुङ्गा, दोलखा, सोलुखुम्बु र सिन्धुलीलगायतका बिरामीहरू आउने गरेको डा. क्षेत्रीले बताए । बिरामी भर्नाको लागि बेडको अभाव हुने गरेको भन्दै मन्थली अस्तालमा बेड थप गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ । थाइराड जाँचलगायतका आधुनिक मेसिनहरू समेत खरिद प्रक्रियामा रहेको मन्थली अस्पतालले जनाएको छ ।
वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको औपचारिक कार्यक्रमको उद्घाटन प्रतिनिधि सभा सदस्य पूर्णबहादुर तामाङले गरेको गरेका थिए । कार्यक्रम प्रमुख अतिथि समेत रहेको तामाङले कार्यक्रमलाई सम्बोधन गर्दै मन्थली अस्पतालाई व्यवस्थित बनाउन प्रदेश तथा सङ्घीय सरकार लाग्नु आवश्यक रहेको बताए ।

मन्थली नगरपालिकाबाट मात्रै अस्पताल धान्न सक्ने अवस्था नरहेको भन्दै अस्पताल व्यवस्थापनका लागि सङ्घीय र प्रदेश सरकारसँग समन्वय गरी अस्पताललाई आवश्यक उपकरण तथा जनशक्ति व्यवस्थापन गर्न आफू लागिपर्ने प्रतिवद्धता समेत व्यक्त गरे । बागमती प्रदेश सभा सदस्य युवराज चौलागाईँले एकले अर्कालाई दोष लगाएर पन्छन नहुने बताए । राजनीतिक पार्टी, जनप्रतिनिधि लगायत सबैले सुध्रिनु आवश्यक रहेको बताए । विकास गर्ने हो भने एकले अर्कोलाई दोष लगाएर हुँदैन, हामीहरू सबै सुध्रिनु पर्छ, सांसद चौलागाइले भने । स्वास्थ्य नागरिकको मौलिक अधिकार हो भन्ने विषयमा आम नागरिकलाई थाहा हुनुपर्ने बताए । नागरिकको मौलिक अधिकारलाई सुरक्षित गर्न सम्बन्धित निकाय सबै लाग्नुपर्ने सांसद चौलागाईँको भनाइ छ ।

त्यस्तै बागमती प्रदेशका अर्का सांसद आनन्दकुमार श्रेष्ठले मन्थली अस्पताललाई हेर्ने सङ्घीय र प्रदेश सरकारको दृष्टिकोण बदलिनु आवश्यक रहेको बताए । बागमती प्रदेश सरकारको गैरजिम्मेवारी पनको कारण मन्थली अस्पलतालाई व्यवस्थित गर्न नसकिएको सांसद श्रेष्ठको भनाइ थियो ।अस्पतालमा बिरामीको चाप अत्यधिक बढेपछि आवश्यक जनशक्ति व्यवस्थापन गरिदिन आपूmले सङ्घीय र प्रदेश सरकारलाई आग्रह गर्दा समेत बेवास्ता गरिएको भन्दै सांसद श्रेष्ठले गुनासो समेत गरे । सरकारले डाक्टर पठाउँदा समेत मन्त्रालयले रमाना नदिँदा डाक्टर आउन नसकेको उनको भनाइ छ ।

मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठले शिक्षा र स्वास्थ्यमा राजनीति गर्नु नहुने बताए । मन्थली अस्पतालको विकासको लागि सहयोग गरिदिन प्रदेश र सङ्घीय सरकारलाई अनुरोध समेत गरे । प्रदेश र सङ्घमार्फत सञ्चालित धेरै योजनाहरू पूरा हुन नसकेको भन्दै विकासको कामलाई अघि बढाउन प्रदेश र सङ्घीय सांसदहरूले प्रदेश र सङ्घीय सरकारलाई खबरदारी गर्न आग्रह गरे । आफूहरूले पनि प्रदेश र सङ्घीय सांसदहरूलाई खबरदारी गर्ने अवस्था आउन सक्ने उनको भनाइ छ ।औपचारिक कार्यक्रमका बिच म्याराथन प्रतियोगिता प्रथम, द्वितीय र तृतीय हुने खेलाडीहरूलाई पुरस्कार पनि विरतण गरिएको थियो । त्यसैगरी मन्थली अस्पतालले उत्कृष्ट कर्मचारीहरूलाई समेत सम्मान गरेको थियो ।

प्रतिकृया

Add