रामपुरमा भूकम्प रहित घरको अनुगमन-रामेछाप

 आइतवार, फाल्गुन २९, २०७३ | onlinenews
Share this

गम्भीर वि.क.


रामेछाप÷ पुनःनिर्माण कार्यक्रम अन्तर्गत रामेछापको रामपुर गाविसमा निर्माणाधित र निर्माण भइसकेका भूकम्प प्रतिरोधी घरको अनुगमन गरिएको छ । रामपुर गाविसमा नेपाल रेडक्रस सोसाइटी रामेछापले पुनःनिर्माणको काम गरिरहेको छ ।
अनुगमनपछि मापदण्ड पूरा गरेर घर बनाएका घर धनीहरुलाई दोश्रो किस्ता वापतको रकम उपलब्ध गराउँने नेपाल रेडक्रस सोसाइटी रामेछाप शाखाका मन्त्री जयप्रकाश श्रेष्ठले बताए ।
पहिलो किस्ताको मापदण्ड अनुसारको काम सम्पन्न गरेका घरधनीहरुको कागजात जिल्ला विकास समितिमा पठाइएको र जिल्ला विकास समितिले अनुमति दिने वित्तिकै दोश्रो किस्ताको रकम सम्बन्धित घरधनीलाई उपलब्ध गराउँने पनि मन्त्री श्रेष्ठले बताएका छन् ।
रामपुर गाविसमा ५ सय ५७ जनाले पहिलो किस्ता वापतको रकम लिएर घर निर्माणको काम भइरहेको श्रेष्ठले बताए । सरकारको मापदण्ड अनुसार पहिलो किस्ता दिनु पहिले निर्माण भएका घरधनीलाई पनि अनुदान रकम उपलब्ध गराउने र मापदण्ड विपरीत बनेका घरधनीलाई सवलीकरणको लागि सुझाव दिने नेपाल रेडक्रस सोसाइटीले जनाएको छ ।
रामपुर गाविसमा पहिलो किस्ता दिनू पहिले ५६ घर निर्माण भएको नेपाल रेडक्रस सोसाइटी अन्तर्गत पुनःनिर्माणका इञ्जिनीयर सम्झना ढकालले बताइन ।
ढकालका अनुसार रामपुर गाविसमा १ सय ८१ घर पुनःनिर्माणको तयारीमा रहेका छन् भने निर्माण सामाग्री तयारी अवस्थामा रहेका घरहरु २ सय ६९ वटा छन् ।
त्यसैगरी जग राखिसकेका घरहरु ५७ वटा, जग खन्ने काम सकिएको ५० घर र जग राखेर डिपीसी गरिसकेका घरहरु ३९ वटा रहेको ढकालले बताइन । मापदण्डअनुसार पहिलो किस्ताको काम पूरा गरिसकेका ३५ घरधुरीलाई दोश्रो किस्ताको लागि गाविसलाई अनुरोध गरेको पनि उनले बताइन ।
पुनःनिर्माण अन्तर्गत बनेका घर अनुगमन टोलीमा रामेछापका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारी, स्थानीय विकास अधिकारी दिनेशराज पन्त, पुनःनिर्माण प्राधिकरण रामेछापका प्रमुख ऋषिराज आचार्य, नेपाल रेडक्रस सोसाइटी रामेछाप शाखाका सभापति शिबकुमार कार्की, मन्त्री जयप्रकाश श्रेष्ठ, पत्रकार, गाविस सचिवलगायत सरोकारवालाहरु रहेका थिए ।

Share this

प्रतिकृया

Add