काँग्रेसभित्र प्रभावशाली नेता थिए खड्का

 शुक्रबार, चैत्र १६, २०७४ | onlinenews

काठमाडौं । नेपाली कांग्रेसका नेता खुमबहादुर खडकाको निधन भएको छ । भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा शुक्रबार साँझ उपचारको क्रममा खड्काको निधन भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीटमार्फत पुष्टि गरेका छन् ।
मृगौला, छाती र नसाको समस्याबाट पीडित खड्कालाई उपचारका लागि गत ६ गते भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा लगिएको थियो ।
उनको स्वास्थ्य स्थिति गम्भीर भएपछि नेपाली कांग्रेसले स्वास्थ्य अवस्था बुझ्न मंगलबार शंकर भण्डारी र रमेश लेखकलाई भारत पठाएको थियो ।
दाङबाट राजनीति यात्रा सुरु गरेका खड्का २०४८, ०५१ र ०५६ सालको प्रतिनिधिसभा चुनावमा विजयी भएका थिए । ०४८ सालदेखि ०५८ सालसम्म ८ पटक मन्त्री भएका खड्कालाई कांग्रेसका कार्यकर्ता तथा उनको गृहजिल्ला दाङमा निकै सदभावका साथ हेर्ने गरिन्थ्यो ।
भ्रष्टाचारको आरोपमा २०६९ साल भदौ ६ गते खुमबहादुर खड्का जेल चलान भएका थिए । सर्वोच्च अदालतले साउन ३० गते पदमा रहदा पदको दुरुपयोग गरि भ्रष्टाचार गरेको ठहर गर्दै उनलाई डेढ बर्ष कैद र ९४ लाख, ७४ हजार १ सय २२ रुपैयाँ वीगो र त्यतिनै जरीवानाको फैसला गरेको थियो ।
२०६९ साल भदौ ६ गते जेल चलान भएका खड्का २०७० असोज २२ गते जेलमुक्त भएका थिए ।
कांग्रेसभित्र खुमबहादुर खड्का, चिरञ्जीवि वाग्ले, गोविन्दराज जोशी भ्रष्ट्राचारको आरोपमा सजाय भोगेका नेता हुन् । भ्रष्टाचारको आरोपमा जेल सजाय भोगेका अन्य नेताको राजनीतिक यात्रा कठिन र कार्यकर्ता माझको लोकप्रियता घटदा पनि खड्काको पार्टीभित्र र बाहिर राम्रो प्रभाव रहेको थियो ।
कांग्रेसको १३ औँ महाधिवेशनमा शेरबहादुर देउवाको प्यानलबाट केन्द्रीय सदस्यमा उम्मेदवार बनेका खड्का भारी मतले विजयी भएका थिए । पार्टीको नेतृत्व तहमा हुँदा पनि र नहुँदा पनि खड्का पार्टीमा निकै प्रभावशाली नेताको रुपमा रहेका थिए ।

प्रतिकृया

Add