खोलाले बगाएको चार दिनपछि उष्माको शव भेटियो

 बिहिबार, जेष्ठ ३, २०७५ | onlinenews

रामेछाप- सोमबार बिहान रामेछाप जिल्लाको रणजोर खोलाले बगाएर बेपत्ता भएकी उष्मा फुयालको चार दिनपछि शव फेला परेको छ ।
१८ वर्षकी उष्मा फुयालको शव बिहीबार दिउँसो छिमेकी जिल्ला सिन्धुलीको गोलञ्जोर गाउँपालिका–७ स्थित खुर्कोटमा फेला परेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
सोमबार बिहान कक्षा ११ को परीक्षा दिन परीक्षा केन्द्र रहेको रुद्राक्षेश्वर माध्यमिक विद्यालय मुगिटार जानेक्रममा रणजोर खोलामा आएको बाढीले उष्मालाई बगाएर बेपत्ता बनाएको थियो ।
फुयाँललाई खोला तर्ने क्रममा बगाएको थियो । परीक्षा दिन गएका ६ जना विद्यार्थीहरु एकआपसमा हात समातेर खोला तर्दै गर्दा सबै जनालाई खोलाले बगाएको थियो ।
उष्मासँगै खोलाले बगाएका अन्य ५ जना साथीहरु भने केही तामाकोसीमा पुगेर त केही कोसीमा नपुग्दै बाहिर आउन सफल भएका थिए । खोलाले वगाएकाहरु मध्ये उष्मा भने चारदिनदेखि वेपत्ता थिइन ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासीले बेपत्ता भएकी उष्माको खोजी कार्यलाई जारी जारी राखेका थिए ।
खोजी गर्दै जादा खुर्कोटमा फुयालको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजेन्द्रकुमार थापाले जानकारी दिए ।

प्रतिकृया

Add