हिम्मत र साहस भएकी नारि हन् मिना ढकाल

 बिहिबार, जेष्ठ १७, २०७५ | onlinenews

 रबिचन्द्र भट्टराई


नेपाली समाजमा जतिसुकै महिला सशक्तिकरणका कुरा भएपनि, जतिसुकै महिला अधिकारका कुरा भएपनि सबै सिमित वर्ग र जानेबुझेकाको लागीमात्रै छ । अझैपनि थुप्रै अन्धविश्वासमा जकडिएका गाउँ समाजहरूमा महिलाहरू आफैले पनि यसको बारेमा बुझ्न सकिरहेका छैनन् । पुरूषले बाहिर गएर काम गर्ने, कमाउने र महिलाले घरको धन्दा गरि बस्ने, घर बाहिरका कृयाकलापमा महिलाको कुनै हात नहुने पुरानो सोचले गर्दा महिलालाई अधिकार के हो भन्नेसम्म हेक्का छैन । महिलाहरूले केहि नौलो काम गरे समाजले उत्पादन गर्ने बेइज्जतको डर सुसुप्त रूपमा महिलाहरूलाई बाँधिरहेको छ । केहि महिला अधिकारवादीहरू भने यसको सम्पूर्ण दोष पुरूषलाई थुपार्न चाहन्छन् र आफूँ चोख्खिन । तर यो कालन्तरदेखि चलिआएको चलनलाई यति सजिले एकले अर्कालाई दोष लगाएर भन्दा महिलाहरू आफैले हिम्मत गर्नेहो भने, कुनैपनि महिलाले आफ्नो मुक्तिको कर्म आफैबाट सुरू गर्ने हो भने समाज होस् या घर, गाउँ होस् या शहर राम्रो वातावरणमा कुनै पनि महिला अधिकारका समस्याहरू समाधानको सृजना हुन्छ । यतिखेर नेपाली समाजमा महिला अधिकार प्रशस्त छ, तर सदुपयोग सहि भयो या भएन, गरियो या गरिएन यसमा नै अनभिज्ञ छौं हामी ।
यसै समयमा नेपाली प्रख्यात हाँस्यकलाकारका पूर्व श्रीमति मिना ढकाल सम्पूर्ण नारि वर्गको रोल मोडलको रूपमा उभिएको मैले पाएँ । उनलाई नपुग्दो के थियो, आफ्नो श्रीमान्को जताततै नाम चलेको थियो । देस विदेस, धन सम्पती, न उनलाई के खाउँ के लाउँको समस्या थियो । श्रीमानले दिएको धन सम्पती र श्रीमान्कै कारण पाउने मान सम्मानमा उनि रमाउन चाहिनन् र अलग पहिचान बनाउने उनले दृढ सङ्कल्प गरिन् ।
सम्बन्ध बिच्छेद लगत्तै उनको ब्यापक चर्चा भयो । सारा नेपाली अचम्ममा परे । त्यति हँसाउने कलाकारको श्रीमतीले आखिर किन गरिन् सम्बन्ध विच्छेद ? सम्बन्ध चिसो भएपछि या त्यसलाई जोगाउन सक्नुपर्छ या त्यसबाट टाढा हुन सक्नुपर्छ । सेलिब्रेटि भएका कारण उनिहरूको सम्बन्धमा के कमजोरी थियो के गलत थियो त्यो नेपालीहरूको चासोको कुरा मात्र हो अरू केहि होइन । अन्तत, उनीहरूको सम्बन्ध एकअर्काबाट टाढा हुने भयो जसले नेपाल सञ्चार जगतमा लामो समयसम्म चर्चाको विषय बनिरह्यो । सम्बन्ध विच्छेदको घटनाले यति धेरै चर्चा पाएको सायद यहि नै होला ।
त्यस समयदेखि आजसम्म पनि मिना ढकालको चर्चा सामाजिक संजालमा रोकिएको छैन । उनका फेसबुक स्टाटस् लगायत उनका भिडियो अन्तरवार्ताहरूले संसारभररहेका नेपालीहरूमा तरंग पैदा गरिरह्यो । पहिलो म्युजिक भिडियो बाहिर आएपछि त उनलाई छिःछिः र दुरदुर गर्ने नेपालीहरू यति भएकि उनका बारेमा नराम्रा कुरा भन्दा अरू केहि देखिन्नथ्यो । मलाई पनि लागेको थियो यतिसम्म किन गर्नु परेको होला, चुपलागेर बसे हुन्थ्यो नि । लेख्नेहरूले पनि महिला अधिकारको दुरूपयोग गरिन् भन्दै पत्रिकामा समेत लेखिरहे । तर, उनले हिम्मत हारिनन् । सामान्यतया महिलाहरू कमजोर हुन्छन् भन्ने हाम्रो समाजमा भनाई छ । थाहा छैन यो कति हदसम्म सहि छ यहा पुरै गलत । तर मिना ढकालको लागि भने यस्ता सानातिना कुरामा अल्झिने समय थिएन । यूटुव र फेसबुकमा आएका नराम्रा कमेन्टहरूलाई उनले हिम्मत र साहसमा बदल्न जानिन् र मनोबल उच्च राखिरहिन् । अन्तत, उनले दोस्रो म्युजिक भिडियो आउँदै गरेको कुरा सार्वजनिक गरिन् । प्राय सबैले सोचे के मिना ढकालको मानसिक स्थिति त ठिक छ ? सबैलाई अचम्म लागिरहेको थियो र मलाई पनि । तर अचम्म त त्यतिखेर लाग्यो जब उनले आफैले लेखेको गीत युटुवमा आयो । गीत कुनै पनि कलाकारले गाउने स्तर भन्दा कम थिएन, उत्कृष्ट होला नहोला तर नेपाली स्तरका कलाकारहरूले गाउने गीतहरूमा कुममा कुम मिलाउन सक्ने अवस्था सृजना भयो ।
अघिल्लो पटकको असफलता र ब्यापक छिःछिः दुरदुर पछि पनि हिम्मत नहारी उनले दोस्रो गीतमा यति राम्रो प्रस्तुती दिनुनै उनको सफलताको विन्दु छर्लङ्ग भएको हो कि भन्नेमा नकार्न जो कोहिलाई गाह्रै पर्ला । हुन त नराम्रो गितको छविले गर्दा यो गीतमा पनि त्रुटि भेटिन्छन् तर उनी पहिलो अपार असफलतामा टुटेर फुटेर नगई दोस्रो सफल अवतरण गर्नु सम्पूर्ण नेपाली नारि समाजको लागि ठूलो उदाहरण भने छर्लङ्ग सावित भएको छ । लगत्तै उनले नेपाली नारिहरूको माया प्रेमको आधारित नारि प्रधान चलचित्र बनाउने घोषणा गरेकिछिन् । मलाई विश्वास छ उनले यो अवश्य पुरा गर्नेछिन् किनभने उनीमा हिम्मत र साहस प्रशस्त रहेछ । यदि उनको यस सफलतामाथि अर्को सफलता हुँदै गयो भने हाँस्यकलाकार मनोज गजुरेलकी पुर्व श्रीमती भनेर हैन कि स्वयं हाँस्य कलाकार मनोज गजुरेललाई मिना ढकालका पुर्व श्रीमान् भनेर चिन्ने अवस्था नआउला भन्न सकिन्न । यदि त्यतिसम्म नभए पनि कुनै एउटा सार्वजनिक कार्यक्रममा दुवैजना कलाकारको नामले आमन्त्रित हुने अवस्था देखिन्छ भन्न चाहिँ अब अवश्य सकिन्छ ।
खैर, जे होस् असफलता नै सफलताको पहिलो श्रेणी रहेछ भन्ने जुन प्रमाण मिना ढकालले दिएकि छिन् त्यो सम्पूर्ण मानवजातीको लागि अर्थपूर्ण देखिन्छ । उनका अरू योजनाहरू सफल रहुन् । नेपाली कलाकारीताको क्षेत्रमा एक्लै हिम्मत गरेर ठाउँ बनाउन सफल भैसकेकि छिन् यसलाई निरन्तरता दिँदै पाइला अगाडि बढिरहास् । शुभकामना छ ।

प्रतिकृया

Add