रामेछापको १० वर्षे रणनैतिक योजना निर्माण बारे विज्ञहरुसँग छलफल

 मङ्लबार, जेष्ठ २२, २०७५ | onlinenews

रामेछाप– रामेछाप जिल्लाको रामेछाप नगरपालिकाले १० वर्षे रणनैतिक योजना निर्माणबारे विषय विज्ञ र जिल्लाका राजनीतिक दलहरुसँग छलफल गरेको छ ।
रामेछाप नगरपालिकाले १० वर्षे रणनैतिक योजना निर्माणको लागि राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा.जगदीशचन्द्र पोखरेल सहित, अर्थविद, भूगर्वविद, बनविज्ञ लगायतका विज्ञहरुलाई जिल्लामा झिकाएर छलफल गरेको हो ।
एक्लैले विकास निर्माणको कामलाई आगाडि बढाउन नसकिने भएकाले विज्ञहरुसँगको छलफल कार्यक्रम गरिएको आयोजकले बताएको छ ।
समृद्ध नगरपालिका निर्माणको लागि आपूmहरुले राजनीतिक दलभन्दा माथि उठेर काम गर्ने रामेछाप नगरपालिका प्रमुख नरबहादुर थापामगरले बताएका छन् ।
विकास निर्माणमा सबै मिलेर अगाडि बढे समाजवादमा पुगिने र एक्लै हिडे अल्मलिने नगर प्रमुख मगरको भनाई थियो । रणनैतिक योजना निर्माण साथै कार्यान्वयनको अन्तिमसम्म पनि सबै मिलेर अगाडि बढ्नु आवश्यक रहेको उनले बताए ।
छलफल र रणनैतिक योजना निर्माणमा सबैलाई सक्रिय सहभागिता जनाउन आग्रह गर्दै छलफलले रामेछाप नगरपालिको रणनैतिक योजना निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने रामेछाप नगरपालिकाकी उपप्रमुख सिर्जना खड्काले बताइन ।
रणनैतिक योजनाको परिकल्पना सभालाई संवोधन गर्दै राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष जगदिशचन्द्र पोखरेलले आर्किटेक, सिटी प्लानर र सिभिल इञ्जीनियरविना नगरको विकास सम्भव नहुने बताए ।
नगर विकासको लागि आर्किटेक, सिटी प्लानर र सिभिल इञ्जीनियर तत्काल ब्यवस्था गर्न पनि नगरपालिकालाई सुझाव दिए । शहर निर्माण सिटी प्लानरकै सुपरभिजनमा हुनुपर्ने पोखरेलको भनाई छ ।
नगर विकासको लागि रणनैतिक योजना निर्माणसँगै कार्यान्वयनमा इमान्दारिताका साथ लाग्नुपर्ने जिल्लाका राजनीतिक दलका नेताहरुको भनाई छ ।
विगत जिल्ला विकास समिति हुँदा पनि राम्रो आवधिक योजना निर्माण गरेर लक्ष्यहरु निर्धारण गरिए पनि कार्यान्वयन गर्ने बेलामा निर्माण गरिएका योजनालाई दराजमा थन्क्याउँदा विकास हुन नसकेको नेपाल कम्युनिष्ट पार्टी रामेछापका नेता आनन्द श्रेष्ठले बताए ।
त्यस्तै नेपाली काँग्रेस रामेछापका सभापति लबश्री न्यौपानेले विज्ञहरुले निर्माण गरेको योजना आफ्नो र अर्को नभनी कार्यान्वयन गर्नुपर्ने बताए । शहर विकासको लागि सार्वजनिक जग्गाको संरक्षण गर्नुपर्ने पनि विज्ञहरुले सुझाव दिएका छन् ।
छलफलमा नगरपालिका अन्तर्गतका वडा अध्यक्षहरु, राजनीतिक दल, सामाजिक अगुवा, बुद्धिजीवि र स्थानीयको सक्रिय सहभागिता रहेको थियो ।
१० वर्षे रणनैतिक योजना निर्माणको लागि रामेछाप नगरपालिकाले आयोजना गरेको कार्यक्रममा चारघरे सेवा समिति रामेछापको सहजीरण र दिव्यदृष्टि प्रा.लि दोलखाले सहयोग गरेको थियो ।

प्रतिकृया

Add