हलेसी मन्दिरको आम्दानी संयुक्त खातामार्फत सञ्चालन, पुजारीलाई पोशाक

 बुधबार, साउन ९, २०७५ | onlinenews

खोटाङ– खोटाङको त्रि–धार्मिकस्थल हलेसी मन्दिरको आम्दानीलाई संयुक्त चल्ती खातामा जम्मा गरेर सञ्चालन गर्ने निर्णय गरिएको छ ।
हिन्दु, बौद्ध र किरात धर्मावलम्वीहरुको आस्थाको केन्द्रकारुपमा रहेको हलेसीमा आउने बाह्य तथा आन्तरिक पर्यटकले चढाएका भेटीहरुको हिसाव–कितावलाई पारदर्शी बनाउन संयुक्त चल्ती खातामा जम्मा गरेर सञ्चालन गर्ने निर्णय गरिएको हो ।
संकलित आम्दानीका रुपमा बाँध्नका लागि हलेसी तुवाचुङ नगरपालिकाको पहलमा त्रि–पक्षीय चल्ती खाता सञ्चालन गर्ने निर्णय गरिएको हो ।
मंगलबार हलेसीमा भएको बैठकले हलेसीको मन्दिरको आम्दानीलाई चुस्तदुरुस्त र पारदर्शीरुपमा संकलन गर्दै हलेसीकै पर्यटन प्रवद्र्धन गर्नका लागि उपयोग गर्न नगरपालिकाका एक जना, हलेसी महादेबस्थान विकास समितिका एक जना र हलेसी मन्दिर व्यवस्थापन समितिका एक जना प्रतिनिधिको संयुक्त दस्तखतबाट सञ्चालन हुने चल्ती खाता संञ्चालन गर्ने निर्णय गरिएको हो ।
हलेसी तुवाचुङ नगरपालिका–७ महादेबस्थानमा पर्ने हलेसीको आम्दानीलाई स्थानीय तहको मातहतमा ल्याएर मन्दिरकै व्यवस्थापन, परिचालन र बिकासमा खर्च गर्नेगरी संयुक्त चल्ती खाता सञ्चालन गर्ने निर्णय गरिएको हलेशी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए । हलेसीको आम्दानीको पारदर्शीतामाथि प्रश्न उठिरहेको समयमा स्थानीय सरकार कार्यान्वयनमा आएदेखि नै हलेसीको आम्दानीमा पारदर्शीता कायम गर्ने पहल थालिएको थियो ।
नगरपालिका, हलेसी महादेबस्थान बिकास समिति र हलेसी मन्दिर व्यवस्थापन समितिको संयुक्त बैठकले पहिलोपल्ट हलेसीको आम्दानीलाई नगरपालिकाको मातहतमा ल्याउने र कार्यविधि तयार गरेर खर्च गर्ने निर्णय गरेको हो ।
गुरुयोजना लागू गर्दै हलेसीलाई आर्थिक केन्द्रकारुपमा विकास गर्नका लागि समेत साझा सहमती कायम गरेर आम्दानी व्यवस्थापनको काम अघि बढाइएको हलेसी महादेबस्थान बिकास समितिका कार्यकारी निर्देशक सम्बर भुजेलले बताए ।
बैठकले आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्ने हलेसीको आम्दानीलाई पारदर्शी राख्न संयुक्त खातामा जम्मा गर्ने, हलेसी मन्दिर व्यवस्थापन समितिलाई मासिक चालु खर्चवापत २० हजार उपलव्ध गराउने, बसाहागुफा प्रवेश गर्ने आन्तरिक पर्यटकबाट जनही २० रुपैयाँ र बाह्य पर्यटकबाट जनही सय रुपैयाँ प्रवेश शुल्क लिने, हलेसीको प्रचार–प्रसारका लागि हेल्पडेस्क तथा सही सूचना सम्प्रषणका लागि छुट्टै सूचना केन्द्र सञ्चालन गर्नेलगायतका १४ बुँदे निर्णय गरेको छ ।
यस्तै, हलेसीको रिट्ठाबोटे–ठूलढुंगा–मञ्जुश्री सिँढी रेलिङ निर्माण गर्ने, मन्दिर व्यवस्थापन समितिको मातहतमा रहेका कर्मचारीलाई नगरपालिकाको मातहतमा ल्याउने, हलेसीबजारका होटलबाट निस्कने पेयपदार्थका बोतल सम्बन्धित व्यवसायीमार्फत व्यवस्थापन गर्न पहल गर्ने, मन्दिर वरपरको डोरामाला पसललाई व्यवस्थापन गर्ने, मन्दिर व्यवस्थापन र संरक्षणमा खटिएका कर्मचारी÷स्वयंसेवक र पुजारीलाई पोशाक व्यवस्था गर्ने, मन्दिरमा आरती पुजाका लागि एक जना ब्राह्मण नियुक्त गर्ने, हलेसी आसपासमा झुण्ड्याइएका लुंदर र ध्वजापताका हटाउन समन्वय गर्नेलगायतका निर्णय भएको छ ।

प्रतिकृया

Add