जिल्ला प्रशासनमा श्रब्यदृश्य नागरिक वडापत्र

 सोमवार, भदौ ४, २०७५ | onlinenews

राजिव कार्की


रामेछाप– जिल्ला प्रशासन कार्यालय रामेछापले श्रब्यदृश्य सहितको नागरिक वडापत्र पुनः सञ्चालनमा ल्याएको छ । राज्य पुर्नसंरचनासँगै प्रशासनको काम कारबाहीमा पनि केही परिवर्तन भएकोले परिमार्जित श्रव्यदृश्य नागरिक वडापत्र सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिए ।
हुराडेक नेपाल दोलखाको सहकार्यमा तयार गरि सार्वजनिक गरिएको श्रब्यदृश्य वडापत्रका माध्यमबाट सेवाग्राहीले जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा, कुन कामका लागि कुन व्यक्तिलाई भेट्नु पर्ने र त्यसका लागि लाग्ने समयका बारेमा जानकारी प्राप्त गर्न सक्नेछन ।
दृश्यमार्फत कार्यालयले प्रवाह गर्ने सेवाका बारेमा जानकारी पाएपछि सेवाग्राहीलाई कामकाजका लागि सहज हुने प्रमुख जिल्ला अधिकारी शर्माले विश्वास व्यक्त गरे ।
आधा घण्टा लामो वडापत्रमा प्रशासनको कुन शाखाबाट के काम हुन्छ ? र के–के कागजपत्र जुटाउनु पर्छ ? भन्ने जस्ता जानकारीहरु समावेश गरिएका छन् । वडापत्रमा अडियो भिडियो तथा लिखित जानकारीहरु पाउन सकिन्छ । जसले गर्दा सेवाग्राहीहरु अलमलमा पर्नु नपर्ने र कर्मचारीहरुलाई सोध्न धाइराख्नु नपर्ने प्रजिअ शर्माले बताए ।
जिल्ला प्रशासनबाट प्रवाह हुने काम कारवाहीलाई छिटो, छरितो बनाउने र सेवाग्राहीलाई कामको लागि सजिलो बनाउन केन्द्रको निर्देशन अनुसारका अन्य जानकारीहरु पनि अझ थप गर्दै लगिने प्रजिअ शर्माको भनाई छ ।

प्रतिकृया

Add