सार्वजनिक सुनुवाईमा प्रशासकीय अधिकृत र वडा अध्यक्षको जुहारी

 शनिबार, मंसिर १, २०७५ | onlinenews
Share this

रामेछाप: जिल्लाको मन्थली नगरपालिकाले चालू आर्थिक वर्षको पहिलो चौमासिकमा सञ्चालन गरेको गतिविधिको सार्वजनिक सुनुवइमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत र वडा अध्यक्षबीच दोहोरी चलेको छ ।
नगरपालिकाको कार्यालय परिसरमा सञ्चालन गरिएको सार्वजनिक सुनुवाइमा सेवाग्राहीले नगरपालिकाका सबै वडाका अध्यक्षको उपस्थिति नभएकोमा जिज्ञासा राखेपछि प्रशासकीय अधिकृत मानबहादुर खड्काले वडा अध्यक्षहरुलाई ४८ घण्डा अघि खबर भएको तर नआएको जवाफ दिएका थिए ।
४८ घण्टा अघि एस.एम.एस मार्फत १४ वटै वडाका अध्यक्ष र कार्यपालिकाका सबै सदस्यहरुलाई जनाताले राखेका जिज्ञासाको समेत जबाफ दिने तयारीका साथ अनिवार्य उपस्थितिको लागि जानकारी गराइएको भए पनि सबै वडा अध्यक्षहरु नआएको उनको भनाई थियो ।
कार्यक्रममा आएका वडा अध्यक्षहरु पनि ११ बजे बोलाइएकोमा कोही १२ बजे, कोही साँढे १२ बजे, कोही १ बजेमात्रै आएको र त्यसमा पनि ३÷४ जनामात्रै आएको भनि प्रमुख प्रशासकीय अधिकृतले सेवाग्रालाई जवाफ दिएका थिए ।
उनले त्यतिमात्रै भनेनन् साँढे तीन वर्षपछि आउने चुनावमा त्यस्ता वडा अध्यक्षहरुलाई टिक नदिन राजनीतिक दललाई आग्रह पनि गरे ।
उनले भने–दलले टिकट नै नदिनुहोला जसले हेलचेक्राई गर्नु भाछ, टिकट पाइहले पनि आफ्नो एक भोट मात्रै आउला । अहिले सूचना पाइन भन्नुभएको छ । यसको परिणाम तीन बर्षपछि मात्रै थाहा पाउनुहुने छ खड्काले वडा अध्यक्षहरुलाई भने ।
वडा अध्यक्षमाथि खनिइएका प्रमुख प्रशासकीय अधिकृत खड्काको जवाफ सकिन नपाउँदै मन्थली नगरपालिका–५ का अध्यक्ष रामबहादुर कार्की बसेको ठाउँबाट उठेर नगरपालिकाले नियोजित रुपमा आफूहरुलाई सूचना नदिएकोे आरोप लगाए ।
सार्वजनिक सुनुवाई गर्न आन्तरिक तयारी गरेर कार्यक्रम आयोजना गर्नुपर्ने भए पनि नगरपालिकाले वडा अध्यक्षहरुलाई जानकारी नदिई कार्याक्रम आयोजना गरेको कार्कीले बताए ।
सूचना पाएर पनि वडा अध्यक्षहरु नखाएको भए कारबाही गर्नुस् नत्र सार्वजनिक ठाउँमा बोलाएर गाली नगर्नुस, हामी आयोजक हैनौँ कार्कीले भने ।
उनले थपे– हामीलाई प्रश्न सोध्ने ठाउँमा राख्ने, अनि हामीले प्रश्न सोध्ने कि उत्तर दिने । हामी निर्वाचित पदाधिकारी हौँ हाम्रो पनि हैसियत हुन्छ, तापई हामीलाई कार्यलय सहोगीको व्यवहार गर्ने ? कार्कीको प्रमुख प्रशाकीय अधिकृतलाई जवाफ थियो ।
आफूहरुले कुनै गल्ती नगरेको दावि गर्दैै आफूले बोलेका सबै शब्दहरु फिर्ता लिन पनि प्रमुख प्रशासकीय अधिकृतलाई कार्कीले आग्रह गरे ।
कार्कीका कुरा सकिन नपाउँदै वडा नम्बर १ का अध्यक्ष नारायणदश श्रेष्ठले पनि प्रमुख प्रशासकीय अधिकृतको बनाइप्रति आपत्ती जनाए । आपूmलाई जनताले जिताएर पठाएकाले प्रशाकीय अधिकृतले हेपेर बोल्न नपाइने बताए ।
पदीय दायित्व भुलेर कसैलाई पनि नाम तोकेर बोलाउन नमिल्ने भन्दै बोल्दा सम्मानीत भाषा प्रयोग गर्न सिक्न पनि वडा अध्यक्ष श्रेष्ठले प्रमुख प्रशासकीय अधिकृतलाई सुझाव दिए ।
नगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा मन्थली नगरपालिकाका १४ वडा मध्ये १, ५, १०, १२, १३ र १४ का वडा अध्यक्ष मात्रै सहभागि थिए ।
सेवाग्राहीले राखेको प्रश्नको जवाफ दिंदै मन्थली नगरपालिका प्रमुख रमेशकुमार बस्नेतले वडा अध्यक्षहरुलाई सूचना दिने क्रममा नगरपालिकाको तर्फबाट कम्जोरी भएको स्वीकार गर्दै आगामी हुने कार्यक्रममा पूर्व तयारी गरेर मात्र कार्यक्रम गरिने बताए ।
मन्थली नगरपालिकाको आयोजना तथा सान नेपालको सहजिकरणमा सञ्चालन गरिएको सार्वजनिक सुनवाईमा मन्थली नगरपालिका प्रमुख रमेशकुमार बस्नेतले नगरपालिकाले पहिलो चौमासिकको अवधिमा गरेको २३ करोड ९८ लाख ५३ हजार ५ सय ८३ रुपैयाँको आम्दानी र खर्च विवरण सार्वजनिक गरेको थिए ।

Share this

प्रतिकृया

Add