विदेशको भन्दा तरकारी खेतीको कमाई राम्रो

 बुधबार, चैत्र २, २०७३ | onlinenews

चैत्र २, रामेछाप । नेपालमा जागिर नपाउँने वित्तिकै नेपालका युवाहरु विदेशीने गर्दछन् । बेरोजगार युवाहरुको रोजगारीको गन्तब्य नै विदेश बन्ने गरेको छ । विदेश जानु पहिले पैसा कामाउन नेपालमा कुनै पनि बाटो नदेख्ने युवाहरु जब विदेशी भूमिका पसिना बगाउँन पुग्छन अनि उनीहरुले नेपालमै आम्दानीका प्रसस्त श्रोत भएको देख्न थाल्छन् ।
रोजगारिको लागि विदेश गएका युवाहरुले नेपाल फर्किएपछि व्यवसाय सञ्चालन गरेर राम्रो आम्दानी गरेको उदाहरणहरु पनि प्रसस्तै छन । यस्तै विदेशबाट फर्केर तरकारी खेतीमा लागेका रामेछाप जिल्लाको रामपुर गाविस निवासी शेरमान तामाङ विदेश जानु पहिले तरकारी खेती गर्न जानेको भए विदेशनै जाने थिइन भन्छन् ।
चार वर्ष विदेशमा बस्दा केही गर्न नसकेको तामाङले तरकारी खेतीबाट राम्रो आम्दानी गरेको बताए । तरकारी खेतीबाट घर खर्च र तीन जना छोराछारीको पढाई खर्च समेत धानेर वर्षिक एक लाख रुपैयाँ आम्दानी हुने शेरमानकी श्रीमति विष्णुमाया तामाङले बाताइन । उत्पादन भएको तरकारी धेरैजति घरबाटै विक्री हुने गरेको र बाँकी रहेको रामेछाप हाटमा लगेर बेच्ने गरेको तामाङले बताइन ।
तामाङले सिर्जना जातको गोलभेडा, बन्दा, काउली र कोसे बालीका साथै तरकारीको नर्सरीबाट पनि राम्रो आम्दानी गरेका छन् । तामाङले नमूनाको लागि घर अगाडी एउटा गोलभेडाको टनेल र तरकारीको नर्सरी राखेका छन् भने घरदेखि केही तल रहेको ४ रोपनी खेतमा तरकारी खेती लगाएका छन् ।
दुई वर्षदेखि तरकारी खेतीमा लागेका तामाङलाई अझै पनि तरकारीमा लाग्ने रोगको बारेमा केही थाहाँ छैन । तरकारी खेतीमा लाग्ने रोगको उपचार गर्ने तालिम दिने सहयोगी संस्था पाएमा तरकारी खेतीलाई अझै विस्तार गर्ने तामाङको सोच रहेको छ । नेपालमा ब्यवसाय सञ्चालन गर्ने हो भने विदेशमा भन्दा नेपालमा राम्रो आम्दानी गर्न सकिने शेरमानको अनुभव छ ।

प्रतिकृया

Add