छाडा कुकुरलाई रेविज विरुद्धको खोप तथा बन्ध्याकरण शिविर

दुई दिनमा १ सय ५६ कुकुरको बन्ध्याकरण

 शुक्रबार, फाल्गुन २, २०७६ | onlinenews
Share this

२ फागुन, रामेछाप– रामेछापको मन्थली नगरपालिकाले सडकमा छाडा छोडिएका कुकुरहरुको लागि रेविज विरुद्धको खोप तथा स्पेइङ्ग बन्ध्याकरण शिविर सञ्चालन गरेको छ ।
मन्थली बजारमा रहेका छाडा कुकुरहरुको संख्या बृद्धि भएको र सडकमा हिड्ने यात्रु तथा बालबालिकाहरुलाई कुकुरले टोक्ने डर भएकाले कुकुरको टोकाइबाट सर्ने रेविज लगायतको रोगहरुको नियन्त्रण तथा छाडा कुकुरको संख्या घटाउने उद्देश्यले शिविर सञ्चालन गरिएको मन्थली नगरपालिका पशु सेवा शाखाले जनाएको छ । सडकमा छाडा छोडिएका कुकुरलाई नियन्त्रणमा लिएर रेविज विरुद्धको खोप तथा बन्ध्याकरण गरिएको हो ।


बजारमा रहेका छाडा कुकुरको संख्या दिनदिनै पढ्दै गएकाले कुकुरको संख्यालाई नियन्त्रण गर्नको लागि स्पेइङ्ग बन्ध्याकरण शिविर सञ्चालन गरिएको स्वास्थ्य शाखाले जनाएको छ । सदरमुकाममा छाडा कुकुरको संख्या बढ्दै गएपछि सडक दुर्घटना बढाउनेदेखि कुुकुरको कारण पैदल यात्रीलाई हुने जोखिम न्यूनिकरण गर्ने उद्देश्यले शिवि सञ्चालन गरिएको मन्थली नगरपालिकाले जानकारी दिएको छ ।

केन्द्रीय रिफरल चिकित्सालय त्रिपुरेश्वरको प्राविधिक सहयोग र मन्थली नगरपालिका पशु सेवा शाखाको आयोजनामा शिविर सञ्चालन गरिएको हो । पाँच दिनसम्म सञ्चालन गरिने शिविरमा बिहीबार र शुक्रबार गरि दुई दिनमा १ सय ५६ वटा कुकुरहरुलाई रेविज विरुद्धको खोप तथा बन्ध्याकरण गरिएको मन्थली नगरपालिका पशु सेवा स्वास्थ्य शाखा मन्थलीका पशु स्वास्थ्य प्राविधिक मुकुन्द खड्काले जानकारी दिए । नियन्त्रणमा लिइएका कुकुरलाई उपचारपछि जुन एरियाबाट नियन्त्रणमा लिइएको हो त्यही एरियामा लगेर छोडिदिएको पनि खाड्काले बताए ।
दुई दिनमा बन्ध्याकरण गरिएका १ सय ५६ वटा कुकुर मध्य ८० प्रतिशत फिमेल रहेको पशु सेवा शाखा मन्थलीले जानकारी दिएको छ । शिविरमा बरिष्ट पशु चिकित्सक डाक्टर शंकर पाण्डे, पशु चिकित्सक डाक्टर अर्जुन अर्याल, विकास गिरी, पशु चिकित्सक खितबहादुर श्रेष्ठ लगायत मन्थली नगरपालिका पशु सेवा शाखाका पशु सेवा प्राविधिकहरुको सम्लग्नता रहेको छ ।


कुकुर मार्न नमिल्ने भएकाले कुकुरको संरक्षण र पशुबाट मानिसमा सर्ने रोगहरु पनि धेरैजसो कुकुरबाट नै सर्ने भएकाले कुकुरको संख्या नियन्त्रणका साथै सरुवा रोग न्यूनिकरणमा समेत शिविरले सहयोग गर्ने बताइएको छ । शिविरबाट मन्थलीमा छाडा छोडिएका कुकुरको जन्मने संख्यामा आगामी वर्ष २ हजार संख्या घट्ने अनुमान रहेको पशु सेवा शाखा मन्थलीका पशु सेवा प्राविधिक खड्काले बताए ।

Share this

प्रतिकृया

Add