एक रातमा साँढे ५ हजार यात्रु भित्रिए रामेछाप

 बिहिबार, बैशाख ११, २०७७ | onlinenews
Share this

११ वैशाख, रामेछाप– गयको १२ घण्टाको अवधिमा रामेछाप जिल्लामा साँढे पाँच हजार यात्रु भित्रिएको छ । बुधबार साँझ ६ बजेदेखि बिहीबार बिहान ६ बजेसम्म काठमाडौंबाट ५ हजार ५ सय ८६ यात्रु रामेछाप प्रवेश गरेका हुन् ।
लकडाउन लम्बिएपछि काठमाडौंमा रहेर मजदुरी गरेर जिविको चलाउँदै आएकाहरुलाई खानाको समस्या भएको भन्दै सम्बन्धित स्थानीय तहको सिफारिसमा गाउँ फर्काउन थालिएपछि एकै रातमा साँढे पाँच हजार यात्रु रामेछाप भित्रएको हो ।
१२ घण्टाको अवधिमा रामेछाप जिल्ला प्रवेश गर्ने सेलेघाट नाकाबाट साना ठूला गरि १ सय २३, लुभुघाटबाट २५ र सित्खाबाट ३६ वटा गरि १ सय ८४ वटा सवारी साधन रामेछाप भित्रएको प्रवेश गरेका छन् ।


१ सय ८४ सवारी साधनमा २ हजार ५ सय ६७ जना महिला र ३ हजार १९ जना पुरुष रामेछाप भित्रएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता प्रहरी निरीक्षक टेकेन्द्र पौडेलले जानकारी दिए ।
रामेछाप जिल्ला प्रवेश गरेका यात्रुहरु मध्य रामेछाप जिल्लाको बासिन्दा १ हजार ८ सय ५९ जना रहेको र अन्य यात्रु, दोलखा, ओलढुङ्गा र सोलुखुम्बु जिल्लाको बासिन्दा भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ ।


काठमाडौंबाट गाउँ फर्कनेको ओइरो लागेपछि गाउँमा भने त्रास फैलिएको छ । बाहिरबाट आएका मानिसमा कोरोना संक्रमण हुनसक्ने आशंकामा गाउँका मानिसहरुमा त्रास फौलिएको हो । बाहिरबाट आएका मानिसहरुलाई निश्चित अवधिभर क्वारेन्टाइनमा राख्नु पर्ने स्थानीयको भनाई छ । रामेछापको सेलेघाट नाका भएर मन्थलीको भैसेश्वर हँुदै जाने यात्रुहरुलाई भने भैसेश्वरमा ज्वरो जाँच गरेर पठाउने गरिएको छ ।

Share this

प्रतिकृया

Add