कोरोनाभाइरसको कारण आयआर्जन गुमाएका युवालाई किबि र कागतीको विरुवा

गरिब विपन्न परिवारलाई विरुवासँगै रकम

 बिहिबार, जेष्ठ ८, २०७७ | onlinenews
Share this

८ जेठ, रामेछाप– खाँडादेवि गाउँपालिका चोप्राङका स्थानीय युवाहरुलाई आधुनिक खेतीतर्फ आकर्षित गर्ने उद्देश्यले सामुदायिक विकास समाज रामेछापले २ हजार १ वटा किबि र ३ सय १० वटा कागतीको विरुवा निःशूल्क प्रदान गरेको छ ।
कोरोनाभाइरसको सम्भावित संक्रमणलाई रोकथाम गर्ने उद्देश्यले सरकारले लकडाउन घोषणा गरेपछि शहरबाट गाउँ फर्किएका युवाहरुलाई आधुनिक कृषितर्फ प्रोत्साहन गर्ने उद्देश्यले किबि र कागतीको विरुवा वितरण गरिएको सामुदायिक विकास समाज (सिडिएस) का कार्यकारी निर्देशक मिलनकुमार घिसिङले बताए ।


कोरोनाभाइरस (कोभिड–१९) को कारण रोजगारी तथा आयआर्जन गुमाएकाहरुलाई छोटो अवधिको रोजगार सिर्जना गर्ने र लकडाउनको कारण गाउँ फर्किएका युवाहरुलाई काम सिर्जना गरि कृषि क्षेत्रमा परम्परागत खेतीलाई परिवर्तन गरि आधुनिक खेतीतर्फ आकर्षित गर्ने उद्देश्यले विरुवा प्रदान गरिएको घिसिङको भनाई छ ।
टिडीएच जर्मनीको आर्थिक सहयोगमा सामुदायिक विकास समाज (सिडिएस) द्धारा सञ्चालीत बाल सशक्तिकरण स्वास्थ्य तथा सरसफाई परियोजना मार्फत चोप्राङका ८७ घर परिवारलाई प्रतिघर २५ वटा किबि र स्थानीयको मागको आधारमा कागतीको विरुवा प्रदान गरिएको हो ।
विपन्न तथा गरिब ११ परिवारलाई किबि तथा कागतीको विरुवा साथै विरुवा रोप्न खनिएका प्रति खाडल एक सय रुपैयाँको दरले प्रतिपरिवार दुई हजार ५ सय रुपैयाँ आर्थिक रकम पनि सहयोग गरिएको सामुदायिक विकास समाजद्धारा सञ्चालीत बाल सशक्तिकरण स्वास्थ्य तथा सरसफाई परियोजना संयोजक तिलक कार्कीले जानकारी दिए ।


विपन्न तथा गरिब परिवारलाई राहत पुगोस भन्ने उद्देश्यले विरुवा रोप्न खाडल खने वापत पारिश्रमिक स्वरुप सो रकम प्रदान गरिएको हो ।
सामुदायिक विकास समाजले गाउँका युवाहरुलाई काम साथै गरिब तथा विपन्न परिवारलाई रोजगारी दिने उद्देश्यले विरुवा प्रदान गरेकोमा खाँडादेवि गाउँपालिका अध्यक्ष प्रेमबहादुर तामाङले सामुदायिक विकास समाजलाई धन्यवाद दिए ।


गाउँपालिकाले पनि युवाहरुलाई कृषिप्रति आकर्षित गर्नको लागि एक घर एक विरुवाको नीति अघि सारेको अध्यक्ष तामाङले बताए । गाउँपालिकाले विरुवाहरु तत्कालै खरिद गरि वितरण गर्ने पनि अध्यक्ष तामाङले जानकारी दिए । लकडाउनको कारण शहरमा रहेका युवाहरु गाउँ फर्किएपछि युवाहरुलाई कृषिमा आकर्षित गर्ने उद्देश्यले गाउँपालिकाले पनि कृषि लक्षित कार्यक्रम ल्याएको गाउँपालिका अध्यक्ष तामाङको भनाई छ ।

बिरुवा पाएपछि युवाहरु पनि खुसी

सामुदायिक विकास समाजले किबि तथा कागतीको विरुवा प्रदान गरेपछि स्थानीय युवाहरु खुसी भएका छन् । रोजगारीको क्रममा शहरमा बस्दै आएका युवाहरु लकडाउनकाको कारण गाउँ फर्किएपछि फुर्सदिला भएका थिए । काम नपाएर भौतारिरहेको बेला सामुदायिक विकास समाजले किबि र कागतीको विरुवा प्रदान गरेपछि आपूmलाई खुसी लागेको स्थानीय युवा दिपक श्रेष्ठले बताए ।
लकडाउनका कारण दुई महिनादेखि घर बस्दै आएका अर्का युवा प्रेमकुमार श्रेष्ठले लकडाउनको बाँकी समय सामुदायिक विकास समाजले दिएको किबि र कागतीको विरुवा हुर्काउनमा सदुपयोग गर्ने बताए । काम नपाएर दिक्क भएको बेलामा सामुदायिक विकास समाजले बिरुवा दिएर कामको सिर्जना गरिदिएको भन्दै उनले खुसी ब्यक्त गरे ।


सामुदायिक विकास समाजले बिरुवासँगै विपन्न तथा गरिब परिवारको लागि बिरुवा रोप्न खाल्डो खने वापत पारिश्रमिक पनि दिएकाले उनीहरुलाई राहत पुगेको बताए । बिरुवा र पैसा दुवै पाउँदा विपन्न परिवारका मानिसहरु एकदमै खुसी भएको अर्का युवा राजेशकुमार श्रेष्ठले बताए । सामुदायिक विकास समाजले दिएको दुई हजार पाँचसय रुपैयाँले दैनिक उपभोग्य बस्तु किन्न सहयोग पुगेको उनीहरुको भनाई छ ।

Share this

प्रतिकृया

Add