एक रात पनि टिकेन प्रशासनको सिल

 शुक्रबार, जेष्ठ ९, २०७७ | onlinenews
Share this

९ जेठ, रामेछाप– जिल्ला प्रशासन कार्यालय रामेछापले मन्थलीस्थित लक्ष्मी आयल स्टोर्समा लगाएको ताला एकरात पनि टिक्न सकेन । जिल्ला प्रशासन कार्यालय रामेछापको प्रशासकीय अधिकृत भाष्कर दाहाल नेतृत्वको टोलीले बिहीबार साँझ लक्ष्मी आयल स्टोर्समा सिल गरेको थियो ।
लक्ष्मी आयल स्टोर्समा पेट्रोल हालेका १ सय वटा भन्दा बढी मोटरसाइकलको कार्पेटर तथा इन्जीनमा समस्या आएपछि सो पम्पमा सिल गरिएको हो । पेट्रोलमा मिसावट गरेर बिक्री गर्दा मोटरसाइकलको कार्पेटर तथा इन्जीनमा समस्या आएको पत्ता लागेपछि प्रशासनले सो आयल स्टोर्सलाई सिल गरेको थियो ।
बिहीबार साँझ जिल्ला प्रशासन कार्यालयले पम्पमा सिल गरेपनि ब्यवसायिले सोही राति सिल गरेको पम्पमा १२ हजार लिटर डिजेल खनाएको छ । जिल्ला प्रशासन कार्यालयको प्रतिनिधिले पम्पको नोजल मात्रै सिल गरेको र पेट्रोल तथा डिजेल स्टोर गर्ने टयांकीमा सिल नगरेको कारण ब्यवसायिलाई आफ्नो कर्तुतको प्रमाण नष्ट गर्न सजिलो भएको छ ।
प्रशासनले सिल गरेपछि प्रशासनको अनुमतिविना ब्यवसायिले पेट्रोलियम पदार्थ बिक्री गर्न र थप स्टोर गर्न पाइदैन । प्रशासनले सिल गरेपछि लक्ष्मी आयल स्टोर्सले रातारात पम्पको ट्यांकीमा नयाँ डिजेल ल्याएर थपेको छ ।
प्रशासनको अनुगमन टोलीले नोजलमा ताला लगाइदिए पनि डिजेल नझार्नु भन्ने निर्देशन नदिएको ब्यवसायि गोमा कार्कीले दावि गरिन् । प्रशासनले डिजेल र पेट्रोल एकै पटक आएमात्रै ट्यांकीमा नर्भन भनिएकाले १२ हजार डिजेल मात्रै स्टोर टयांकीमा हालिएको उनले बताइन ।
यता जिल्ला प्रशासन कार्यालय रामेछापका प्रशासकीय अधिकृत भाष्कर दाहालले भने प्रशासनको अनुमतिविना डिजेर र पेट्रोल दुवै नझार्न भनिएको बताएका छन् । सिल गरिएको पम्पमा प्रशासनको अनुमतिविना ब्यवसायिले रातारात डिजेल भर्नुले सो आयल स्टोर्सप्रति थप शंका उब्जिएको दाहालले बताए ।
बिहीबार अनुगमनमा जाँदा पम्पको नोजन बिग्रिएको ब्यवसायिले बताएको र शुक्रबार बिहान जाँदा सही रुपमा चलिरहेको पाइएको भन्दै पम्प सञ्चालकले प्रशासनलाई समेत छलछाम गरेको दाहालले बताए ।


बेलुका सिल गरेर हिडेको पम्पमा बिहान आएर हेर्दे पेट्रोल तान्ने नोजलको मोटर घुमाउने फित्ता खुस्काएर अन्यत्रै राखिएको अवस्थामा पाइएको र डिजेल पेट्रोल स्टोर गर्ने टयांकी समेत सफा गरेको अवस्थामा पाइएको प्रशासकीय अधिकृत दाहालको भनाई छ ।
रामेछापको प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्माले पनि सिल गरिएको पम्पमा प्रशासनको अनुमतिविना पेट्रोल डिजेल झार्न अनुमति नदिएको बताएकी छन् ।
यसबाट पम्प सञ्चालकले जानाजान अपधरा गरेको कुरा पुष्टि हुन्छ । सिल गरेको पम्पको नोजलको मोटर घुम्ने फित्ता निकालेर लुकाइनु, रातारात ट्यांकीमा डिजेल भरिनु र ट्यांकी सफा गरिएको अवस्थामा पाइनुले पम्प सञ्चालकले जानीजानी अपराध गरेको कुरालाई पुष्टि गर्दछ । प्रशासनको फितलो सिलबन्दीले पम्प सञ्चालकलाई आफ्नो अपराध लुकाउने मौका मिलेको हो । प्रशासनको फिलतो सिलबन्दीको कारण पम्प सञ्चालले गरेको कर्तुतको प्रमाण नष्ट भइसकेको हुनसक्ने आशंका गरिएको छ ।
प्रशासनले सिल गरेको पम्पमा विना अनुमति डिजेल झारिएको सूचना बाहिर आएपछि जिल्ला प्रशासनकै सेटिङमा पम्प सञ्चालकले डिजेल झारेको हुनसक्ने टिप्पनीहरु भइरहेका छन् । प्रशासनको सेटिङविना पम्प सञ्चालकको एक्लो आँटले मात्र त्यस्तो काम हुन नसक्ने नागरिक समाजका अगुवाहरु बताउछन् । लक्ष्मी आयल स्टोर्सले गरेको हर्कतमा प्रशासनले साथ दिएको हुनसक्ने चौतर्फी आशंकाहरु गरिएका छन् । प्रशासनको इशाराविना हुनसक्ने काम पनि होइन त्यो ।
लक्ष्मी आयल स्टोर्सले हवाई इन्धन पेट्रोलमा मिसाएर बिक्री गरेको आशंका गरिएको छ । सो पेट्रोल हालेपछि मोटरसाइकल स्टार्ट नै नहुने, स्टार्ट भइहाले पनि पिकअप नदिने र इन्जीनमा बढी भार परेकोजस्तो हुने समस्या आएको मोटरसाइकल धनीहरुको भनाई छ ।
पेट्रोलमा मिसावट नभएको भनि रिपोर्ट निकाल्नको लाग माथिल्लो तहमा समेत सेटिङ मिलाउने कोसिस भइरहेको सूचना हाम्रो अनलाइन न्यूजलाई प्राप्त भएको छ । रामेछाप उद्योग बाणिज्य संघका अध्यक्ष समेत रहेका लक्ष्मी आयल स्टोर्सका सञ्चालक केशवप्रसाद घिमिरेले सर्वजनिक रुपमै दुई गाडी तेलको पैसा खर्च हुने भयो भनेको कुरा समेत विश्वासिलो सुत्रबाट प्राप्त भएको छ ।
यदि पेट्रोलमा मिसावट भएको प्रमाणित भएमा पम्प सञ्चालकले लक्ष्मी आयल स्टोर्समा हालेको तेलकै कारण बिग्रिएका १ सय वटा भन्दा बढी मोटरसाइकलहरु बनाइदिनु पर्नेछ । त्यसकारण पनि पम्प सञ्चालक आफ्नो अपराध लुकाउन हरतरहले लागिपरेको जानकारी प्राप्त भएको छ । उद्योग बाणिज्य संघका अध्यक्ष समेत रहेका केशव घिमिरेले आफ्नो पदीय शक्तिको दुरुपयोग गरि आफ्नो अपराधलाई लुकान सक्नेछन् र उनी अपराध लुकाउन लागिपरेका समेत छन् ।
पदीय शक्तिको दुरुपयोग गरि आपूmले गरेको अपराध प्राविधिक रुपमा लुकाउन सफल भएछन् भने पनि आम नागरिकको नजरमा उनी बेइमानी नै ठहरिने छन् । जिल्ला प्रशासन कार्यालयले शुक्रबार पेट्रोलको स्यापल निकालेर पुनः सिल गरेको छ ।

Share this

प्रतिकृया

Add