लम्बिदो लकडाउनले ब्यवसायि मारमाः थापा

 बुधबार, जेष्ठ २८, २०७७ | onlinenews
Share this

२८ जेठ, रामेछाप– लम्बिदो लकडाउनको कारण ब्यापारी ब्यवसायिहरु मारमा परेको रामेछाप उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष श्याम थापाले बताए । नेपालमा लकडाउन भएको ७९ दिन भइसकेको छ । लकडाउन कहिलेसम्म हुन्छ भन्ने निश्चित छैन, ब्यवसाय बन्द गरेर बस्नुपर्दा लम्बिदो बन्दाबन्दीको कारण ब्यवसाय नै संकटमा पर्दै गएको थापाको भनाई छ ।
ब्यवसाय बन्द हुँदा उद्योगि ब्यवसायिहरुलाई मार परेको भन्दै बन्दाबन्दीको मोडालिटीलाई बदल्नु पर्ने समेत ब्यवसायिहरुले माग गर्दै आएका छन् । करिब तीन महिना लामो बन्दाबन्दी भइसकेको अवस्थामा खाद्यन्न र औषधी मात्रै अत्यावश्यक बस्तु नभएर अन्य लत्ताकडा, कृषि औजार लगायतका बस्तुहरु पनि आवश्यक भइसकेको निवर्तमान अध्यक्ष थापाले बताए ।
होटल, सार्वजनिक यातायात र मानिसको धेरै भिडभाड हुने बाहेकका ब्यवसायहरु अब पनि सञ्चालन नहुने हो भने रामेछापका अधिकांश ब्यापारी, ब्यवसायिहरु ब्यवसायबाटै विस्थापित हुनुपर्ने अवस्था आइसकेको थापाले बताए । कतिपय साना ब्यवसायिहरु विस्थापित भइसकेको समेत उनले बताए ।
लकडाउनको अवधि निश्चित नभएकाले सामाजिक दूरी कायम गरेर ब्यापार ब्यवसायहरु सञ्चालन गर्नुपर्ने थापाको तर्क छ । सामजिक दुरी अनिवार्य कायम गरेर ब्यापार ब्यवसाय सञ्चालन गर्नुपर्छ, अब पनि ब्यवसाय बन्द गर्ने हो भने ब्यवसायिले विस्थापित वा आत्महत्या गर्नेजस्ता दुर्घटनाहरु बढ्न सक्छन् थापाले भने ।
खाद्य बस्तुको उपभोग्य अवधि ३ महिना, ६ महिना र ९ महिनाको हुन्छ । खाद्य बस्तु उत्पादन हुनसाथ रामेछाप आइपुग्दैन, रामेछाप आइपुग्दा केहि महिना लाग्छ, तीन महिना त बन्दबन्दी नै भइसक्यो, लकडाउन हुन अघि ल्याइएका कतिपय सामानको म्याद नाघिसकेको र कतिपया नाध्न लागको अवस्था छ, यस्ता समानहरु बिक्री गर्न सकिएन भने ब्यापारिहरु पूरै घाटामा जाने अवस्था छ उनले भने ।
बन्दाबन्दीको कारण ब्यापारिहरु मारमा परेका छन्, अझ त्यो भन्दाबढी उपभोक्ता मारमा परेका छन् । सामान रोजेर किन्न नपाउँदा कतिपय सन्दर्भमा उपभोक्ता ठगिन पुगेको थापाको भनाई छ । अहिलेको अवस्थामा म्याद नाघेको बस्तुहरु उत्पादक कम्पनीले फिर्ता लिनसक्ने अवस्था छैन । म्याद नाघेका बस्तु पनि ब्यवसायिहरुले लुकाइछिपाई बेच्ने नै हो, यसमा पनि उपभोक्ता नै ठगिने हुन् उनले भने । कि राज्यले ब्यवसायिको गोदाममा म्याद नाघेको बस्तु लिइदिने ब्यवस्था गर्नुपर्छ, अन्यथा अब पूर्णसतर्कताका साथ ब्यवसाय सञ्चालन गर्नुको विकल्प छैन थापाको भने ।
बन्दाबन्दीको कारण ब्यवसाय बन्द हुँदा ब्यापारीहरु घर भाडा र ऋणको ब्याज समेत तिर्न नसक्ने अवस्थामा पुगिसकेकाले, घर भाडा र ऋणमा सरकारले सहुलीयत दिने वा राहत प्याकेज ल्याउन आवश्यक रहेको थापाले बताए । बन्दाबन्दीको अवधिमा बैंकहरु चुप बसे पनि खुलेको दिनदेखि त ऋण असुलीको लागि ताकेता गर्छ, ब्यवसाय बन्द भएपछि त्यो बेला ब्यवसायिले तत्कालै ऋण तिर्न सक्ने अवस्था हुदैन, त्यसकारण पनि राज्यले सहुलियत वा राहत प्याकेज ल्याउन आवश्यक छ, थापाले भने ।
उत्पादन गर्न दिने तर बिक्री गर्न नदिने राज्यको दोधारे नीतिको कारण पनि उपभोक्ता मारमा परेको थापाको भनाई छ । राज्य उत्पादन चाहिँ गर भन्छ तर बिक्री गर्न रोक लगाएको छ, यसकारण पनि उपभोक्ता ठगिएका छन् उनले भने । राज्यले उत्पादन गर्न दिने हो भने बिक्री वितरण गर्न पनि दिनुपर्ने थापाको तर्क छ । उत्पादीत बस्तु बिक्री वितरण गर्न नदिने हो भने, उत्पादन नै रोक्नुपर्छ उनले भने ।

Share this

प्रतिकृया

Add