संविधान दिवसको अवसरमा मैत्रीपूर्ण भलिबल प्रतियोगिता
मङ्लबार, अशोज १, २०८१
२९ असार, रामेछाप– २०७२ सालको भूकम्पपछिको पुनर्निर्माण कार्यक्रम अन्तर्गत रामेछाप जिल्लामा ८६ प्रतिशत निजी आवास निर्माण सम्पन्न भएको पुनर्निर्माण प्राधिकरणको तथ्यांक छ ।
पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय रामेछापको अनुसार जिल्लामा निजी आवास पुनर्निर्माणमा ११ अर्ब ४ करोड ३६ लाख रुपैयाँ खर्च भइसकेको छ । ८६ प्रतिशत भूकम्प प्रभावितहरुले दुई कोठे घर निर्माण गरेपनि अधिकांश भूकम्प प्रभावितको बास भने भूकम्पले क्षति पु¥याएकै घरमा छ ।
यस्तै मन्थली नगरपालिका–७ ठेडीखोलाका शिव माझीले पुनर्निर्माण कार्यक्रम अन्तर्गत घर बनाए तर उनी अहिले भूकम्पले थिलथिलो पारेकै घरमा बस्दै आएका छन् । भूकम्पले हल्लिएर धुजाधुजा भएको घर कतिबेला ढल्ने हो भन्न सकिने अवस्था छैन । घरको बाहिरबाट हेर्दा काक्रो चिरेजस्तो चिराचिरा देखिन्छ तर शिव माझी भन्छन् मलाई यही घर प्यारो छ ।
पुरानै घरमा बस्नु उनको रहर हैन, बाध्यता छ । शिव माझीको परिवारमा ८ जना छन् । ८ जनाको परिवार दुई कोठे घरले धान्ने कुरै भएन । घरमा ८ जना छौं, दुई कोठाको घर छ, एउटा कोठामा भाञ्छा छ, एउटा कोठामा ८ जना अटाइदैन अनि पुरानै घरमा नबसेर म के गरुँ शिवले भने ।
निर्माण गरिएको नयाँ घरमा छोरा बुहारी बस्छन् । अन्नपात राखनधरण र शिवको बास पुरानौ घरमा छ । पुरानो घरमा बस्नुको जोखिम त छदैछ, त्यतिमात्र हैन यदि पुरानो घर ढल्यो भने नयाँ बनाइएको दुई कोठे घर समेत जोखिममा छ ।
पुनारो घर किन नभत्काउनु भएको भन्ने जिज्ञासामा शिवको उत्तर छ– सरकारले दुई कोठाको भन्दा ठूलो घर बनाउन दिएन, दुई कोठामा परिवारको गुजारा चल्दैन, पुरानो घर भत्काएपछि म कहाँ बस्नु त्यसैले पुरानो घर नभत्काएको ।
पुरानो घर भत्काएर तत्काल अर्को घर बनाउनको लागि पैसा छैन । पुरानो घर भत्काएपछि अर्को घर नबनाई उपाए छैन, आपूmसँग घर बनाउने पैसा पनि छैन घर भत्काएपछि बास नै उठ्छ बरु मरे पनि यही मर्छु शिवको कथन छ ।
दुई कोठे एक तले घर परिवारको लागि पर्याप्त नभएपछि ठेडीखोलाका श्याम श्रेष्ठले पुनर्निर्माण कार्यक्रम अन्तर्गत तेश्रो किस्ता लिएपछि घरको तला थपेर फाराकिलो बनाएका छन् । पुनर्निर्माण प्राधिकरणको मापदण्ड अनुसार दुई कोठे घर निर्माण गरेर अनुदान रकम लिइसकेपछि श्यामले नयाँ घरको छानो भत्काएर माथि तला थपेका हुन् ।
श्यामले तला थपेको घर प्राविधिक दृष्टिकोणले बलियो नभएको इञ्जिनीयरहरुको भनाई छ । एक परिवारको लागि दुई कोठे घर अपर्याप्त भएकै कारण अधिकांश मानिसहरुले नयाँ घरमा घाँस, दाउरा राख्ने र गाई बस्तु बाध्न प्रयोग गर्दै आएका छन् । नयाँ निर्माण गरिएको घर आफ्नो भन्ने समेत घरधनीलाई अपनत्व छैन । भूकम्पपछि निर्माण गरिएको घरलाई घरधनीले आफ्नो नभनेर भूकम्पको घर भन्ने गरेका छन् ।
दुई कोठे घरले परिवारको गुजारा नचल्ने भएकै कारण कतिपय भूकम्प प्रभावितहरुले अनुदान पाउनको लागि मात्रै घर निर्माण गरेका छन् ।
ठेडीखोलाका डम्बरबहादुर भुजेल, सोमबहादुर भुजेल र उर्मिला भुजेलले एक कोठे घर निर्माण गरेका छन् । सोमबहादुरको परिवारमा ५ जना छन् । त्यस्तै डम्बरबहादुर र उर्मिलाको चार÷चार जनाको परिवार छ । उनीहरु अनुदान प्राप्तिको लागि मात्र पुनर्निर्माणमा सामेल भएको पाइन्छ । ट्रान्परेन्सी इन्टरनेशनल नेपाल रामेछापले मन्थली नगरपालिका–७ ठेडीखोला बस्तीमा गरेको अनुगमनको क्रममा यस्तो पाइएको हो । सरकारले पुनारो घर भत्काउन स्थानीय सरकार मार्फत निर्देशन जारी गरेपनि दुई कोठे घरले परिवारको गुजारा नचल्ने भएकै कारण ९० प्रतिशत भन्दा बढी भूकम्प प्रभावितहरुले पुरानो घर भत्काउन सकेका छैनन् ।
सरकारले निर्धारण गरेको पुनर्निर्माणको अवैज्ञानिक नीतिको कारण भूकम्पपछि निर्माण भएका अघिकांश घरहरु प्रयोगमा आउन सकेका छैनन् । यदि सरकारले निर्धारण गरेको प्राविधिक मापदण्ड कार्यान्वयन गराएर भूकम्प प्रभावितको परिवार संख्याको आधारमा आवश्यकता अनुसारको घर निर्माण गर्न दिइएको भए अहिले सबै नागरिक भूकम्प प्रतिरोधी घरमा बसेका हुने थिए । र, पुराना घरहरु घरधनी आफैले भत्काइसकेका हुने थिए । पुनर्निर्माणमा सरकारले वैज्ञानिक नीति ल्याउन नसकेकै कारण समस्या उत्पन्न भएको पाइन्छ ।