गाउँपालिकाको अवरोधको कारण प्रहरी कार्यालय भवन निर्माण अनिश्चित

 सोमवार, साउन १२, २०७७ | onlinenews
Share this

१२ साउन, रामेछाप–इलाका प्रहरी कार्यालय चोप्राङको भवन खाँडादेवि गाउँपालिकाको अवरोधको कारण निर्माण हुन सकेको छैन । प्रहरीले गाउँपालिकासँग अनुमति नलिई इलाका प्रहरी कार्यालयको भवन निर्माण गर्न लागेको भन्दै टेण्डर प्रक्रिया सकिएर भवन निर्माणको काम सुरु हुन लागेपछि गाउँपालिकाले निर्माण कार्य रोकेको हो ।
इलाका प्रहरी कार्यालयको भवन निर्माण गर्न गाउँपालिकाले नदिएपछि भवन निर्माण कार्य नै अनिश्चित भएको छ । इलाका प्रहरी कार्यालय चोप्राङको पक्की भवन निर्माण कार्य एक वर्षमा सम्पन्न गर्ने गरि आर्थिक वर्ष २०७६/०७७ मा टेण्डर गरिएको थियो ।
भवन निर्माणको लागि खाँडादेवि गाउँपालिका–६ का विन्दा कार्की र शान्ता कार्कीको नाममा नाप नक्सा रहेको ४ रोपनी ३ पैसा जग्गा निःशूल्क पास गरेर दिएपछि इलाका प्रहरी कार्यालय चोप्राङको भवन निर्माणको प्रक्रिया थालनी गरिएको थियो ।
तर प्रहरीले गाउँपालिकासँग अनुमति नलिई भवन निर्माणको काम अगाडि बढाएको भन्दै गाउँपालिकाले भवन निर्माणको काम सुरु गर्नै दिएको छैन । इलाका प्रहरी कार्यालय चोप्राङमा निर्माण गर्दा गाउँपालिकाबाट टाढा पर्ने भएकाले गाउँपालिकाको सुरक्षालाई ध्यानमा राखेर गाउँपालिकाबाट दुई किलोमिटरको दूरीमा इलाका प्रहरी कार्यालय निर्माण गर्न लागिएको थियो ।


सुरक्षाको दृष्टिकोणले उपयुक्त ठाउँ छानेर प्रहरीले बनाउन लागेको भवन निर्माण कार्यमा गाउँपालिकाले अवरोध गरेपछि प्रहरीको भवन बन्ने वा नबन्ने नै अनिश्चित भएको हो । २०७७ साल असार मसान्तमा सम्पन्न गर्ने गरि खानी निर्माण सेवा प्रा.लि.ले २ करोड १८ लाख ५९ हजारमा इलाका प्रहरी कार्यालय भवन निर्माणको ठेक्का पारेको थियो ।
निर्माण ब्यवसायिले भवन निर्माणको लागि मोविलाइजेसन पेस्की समेत माग गरिसकेको अवस्थामा गाउँपालिकाले भवन निर्माणको काम गर्न नदिएको हो । टेण्डर भएको ठाउँमा प्रहरी कार्यालयको भवन निर्माण नहुने हो भने आपूmले दिएको जग्गा फिर्ता दिनुपर्ने जग्गा दाता नारायण कार्कीको माग छ ।
नारायण कार्कीले आफ्नी श्रीमति र भाउजुको नाममा रहेको जग्गा प्रहरी कार्यालय भवन निर्माणको लागि दान दिएका थिए । खाँडादेवि गाउँपालिका अध्यक्ष प्रेमबहादुर तामाङ, तत्काली प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा, जिल्ला प्रहरी कार्यालय रामेछाप प्रमुख र खाँडादेवि गाउँपालिका–६ का वडा अध्यक्ष पुष्कर कार्कीको रोहवरमा आपूmले प्रहरीलाई जग्गा दान गरेको जग्गा धनी कार्कीको भनाई छ ।


प्रहरी कार्यालय भवन निर्माण गर्ने भनिएको स्थलमा गाउँपालिकाको प्राविधिक समेत पुगेर प्राविधिक रुपमा घर बनाउन उपयुक्त भएको बताएको जग्गादाता कार्कीको दावि छ । प्रहरी कार्यालय भवन निर्माण हुने भएपछि मुख्य सडकबाट प्रहरी कार्यालय निर्माण हुने स्थलसम्म पुग्न ७ मिटर चौडाई भएको ५ सय मिटर सडक समेत जग्गा दाता कार्कीले ब्यक्तिगत लगानीमा खनिदिएका थिए ।
सामाजिक भावनाले प्रहरीलाई सहयोग गर्ने उद्देश्यले सडक निर्माण गरिदिएको कार्कीले बताए । भवन निर्माणको काम सुरु हुन लागेपछि गाउँपालिकाले काम रोकिदिंदा जग्गा दाता हुनुको नाताले आपूm एकदमै दुःखी भएको कार्कीले बताए ।
गाउँपालिका अध्यक्ष र सोही वडाका अध्यक्षको समेत रोहवरमा आपूmले जग्गा दान गरेकाले सोही ठाउँमा प्रहरी कार्यालय बन्नु पर्ने जग्गा दाता कार्कीको भनाई छ । मेरो जग्गा अलपत्र पार्ने हो भने म अदालत जान्छु कार्कीले भने ।

मलाई नेकपाको सदस्यता लिन दवाव आयोः कार्की

टेण्डर भएको ठाउँमा घर निर्माण हुनेको लागि जग्गा दाता कार्कीले नेकपाको सदस्यता लिनुपर्ने दवाव आएको जग्गा दाता कार्कीले बताए । नेकपाको सदस्यता लिए टेण्डर भएकै ठाउँमा प्रहरी कार्यालय निर्माण हुने अन्यथा त्यहाँ प्रहरी कार्यालय निर्माण गर्न नसकिने भनि गाउँपालिका अध्यक्ष प्रेमबहादुर तामाङले दवाव दिएको जग्गा दाता कार्कीको आरोप छ ।
सामाजिक काम गर्दा स्थानीय सरकारबाट यस्तो अनुचित दवाव आउनुले म अचम्मित भएको छु कार्कीले भने । उनले भने– मैले कुनै पार्टी विशेष भएर जग्गा दान गरेको हुँइन, सामाजिक भावनाले जग्गा दान गरेको हुँ । सामाजिक कार्य गर्नको लागि नेकपा बन्नै पर्छ भन्ने कहाँ छ ? सामाजिक काम नेकपाले मात्रै गर्नुपर्छ र अरुले गर्नु हुँदै भन्ने यो कस्तो सरकार हो ? कार्कीले प्रश्न गरे ।
पहिला जग्गा दिनुप¥यो भनेर अनुरोध गर्ने अनि जग्गा दिइसकेपछि मेरो जग्गा अलपत्र पार्न पाइन्छ कार्कीले गुनासो गरे । आपूmले जग्गा जे प्रयोजनको लागि दिएको हो, त्यसैमा प्रयोजन हुनेपर्ने अन्यथा जग्गा फिर्ता पाउनुपर्ने जग्गा दाता कार्कीको भनाई छ ।
प्रहरी कार्यालय भवन निर्माण गर्नको लागि जग्गा दिन गाउँपालिकाले नै जग्गा दाता कार्कीलाई अनुरोध गरेको तर अहिले आएर गाउँपालिका भवन र प्रहरी कार्यालय अन्यत्रै सार्न लागिपरेको नेपाली काँग्रेस खाँडादेवि गाउँपालिका पार्टी अध्यक्ष तेज घिसिङले आरोप लगाए । टेण्डर भइसकेको ठाउँमा प्रहरी कार्यालय नबन्ने हो भने गाउँपालिकाले ठूलो चुनौतीको सामना गर्नुपर्ने चेतावनी पनि घिसिङले दिए ।

टेण्डर रद्द भइसक्योः अध्यक्ष तामाङ

खाँडादेवि गाउँपालिका अध्यक्ष प्रेमबहादुर तामाङले इलाका प्रहरी कार्यालय चोप्राङको भवन निर्माण लागि भएको टेण्डर रद्द भइसकेको बताए । प्रहरीले गाउँपालिकासँग अनुमति नलिई भवन निर्माणको काम अघि बढाएको कारण टेण्डर रद्द भएको तामाङले जानकारी दिए ।
इलाका प्रहरी कार्यालयको भवन निर्माणको लागि गाउँपालिकाले तीन ठाउँमा जग्गा हेरेको र तीन ठाउँ मध्यय नारायण कार्कीको जग्गा पनि रहेको तामाङले बताए । तर नारायण कार्कीको जग्गामा घर बनाउन गाउँपालिकाले अनुमति नदिएको उनको भनाई छ ।
गाउँपालिकाको अनुमतिविना प्रहरीले भवन निर्माणको प्रक्रिया अघि बढाएको भनिरहँदा सम्बन्धित वडाले जिल्ला मालपोत कार्यालयलाई इलाका प्रहरी कार्यालय चोप्राङको भवन निर्माण प्रयोजनको लागि जग्गा दान दिएको हो भनि सिफारिस गरेको छ ।


गाउँपालिका अध्यक्ष तामाङले भने– हामीसँग अनुमति नलिई काम गरेकाले प्रहरी कार्यालय भवन बन्न नसकेको हो । प्रहरी कार्यालय भवन निर्माणको लागि गाउँपालिकाले तय गरेको जग्गा अर्कै थियो तर अर्को जग्गामा टेण्डर भएको कारण भवन निर्माण हुन नसकेको हो उनले भने । जग्गा दाताले जग्गा फर्ता गर्न चाहन्छ भने गाउँपालिका फिर्ता गराउन पनि तयार छ तामाङले भने ।
प्रहरी कार्यालय भवन निर्माणको लागि अर्कै ठाउँमा जग्गा ब्यवस्थापन भएर टेण्डरको तयारी भइरहेको पनि गाउँपालिका अध्यक्ष तामाङले जानकारी दिए । गाउँपालिका अध्यक्ष प्रेमबहादुर तामाङले रेण्डर रद्द भएको बताइरहँदा जिल्ला प्रहरी कार्यालय रामेछापले भने टेण्डर भएकै ठाउँमा भवन निर्माणको लागि ६ महिना म्याद थप भएको जानकारी दिएको छ ।
चोप्राङ इलाका प्रहरी कार्यालयको भवनसँगै टेण्डर भएका इलाका प्रहरी कार्यालय टोकरपुर, प्रहरी चौकी दोरम्बा, इलाका प्रहरी कार्यालय प्रिती र प्रहरी चौकी बाम्तीको भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । तर इलाका प्रहरी कार्यालय चोप्राङको भवन भने गाउँपालिकाको अवरोधको कारण सुरु समेत हुन सकेको छैन ।
निर्माण ब्यवसायि रत्नप्रसाद गौतमले भने गाउँपालिकाले अनुमति दिएमा तत्कालै भवन निर्माणको काम सुरु गर्न आपूm तयार रहेको बताए । गाउँपालिकाको विवादको कारण भवन निर्माण कार्य रोकिएको र विवाद मिलेमा आपूm काम गर्न तयार रहेको निर्माण ब्यवसायि गौतमले बताए ।

Share this

प्रतिकृया

Add