गौरीशंकर बहुमुखी क्याम्पस दोलखाको आर्थिक अवस्था नाजुक भएपछि प्राध्यापकहरुको करार अवधि नथप्ने निर्णय

 आइतवार, भदौ १४, २०७७ | onlinenews
Share this

सन्तोष ढुङ्गेल


१४ भाद्र, दोलखा– गौरीशंकर बहुमुखी क्याम्पस चरिकोटको आर्थिक अवस्था अत्यन्तै नाजुक भएका कारण प्राध्यापकहरुको करार अवधि नथपिने भएको छ ।
क्याम्पस प्रशासनले महायज्ञ लगाई संकलन गरेको करिब ४० लाख रकम समेत भौतिक संरचना निमार्णमा खर्च गरेका कारण चालू आर्थिक अवस्था शून्य भएकोले प्राध्यापकहरुको करार अवधि थप नगर्ने निर्णय गरेको हो ।
गौरीशंकर बहुमुखी क्याम्पस दोलखाका क्याम्पस प्रमुख शान्त केसीले “राजेन्द्र मानन्धर अध्यक्ष रहेको क्याम्पस व्यवस्थापन समितिले सुनिल आचार्य क्याम्पस प्रमुख रहदा नै महायज्ञ लगाई संकलन गरेको करिब ४० लाख रकमको भौतिक संरचना निमार्ण गरेको तथ्याङ्क आफूसँग रहेको स्वीकार गरे ।”
व्यवस्थापन समितिको साउन ३२ गतेको बैठकले सम्पूर्ण प्राध्यापकहरुलाई भाद्र १ गतेबाट बेतलबी बिदामा राखी करार अवधि थप नगर्ने निणर्य गरेको क्याम्पस प्रमुख केसीले बताए । आन्तारिक स्रोतबाट जम्मा भएको रकम समेत भौतिक निर्माणमा ब्यबस्थापनले खर्च गरेको क्याम्पसले जनाएको छ ।
यता प्राध्यापक संघका अध्यक्ष गोपाल न्यौपानेले भने गौरीशंकर बहुमुखी क्याम्पसको व्यवस्थापन समितिले अव्यवहारिक अस्वाभाविक दम्भ देखाएर निर्णय गरेको बताए । उनले भने–क्याम्पसमा नियमित पठनपाठन शुरु भए पश्चात क्याम्पस संचालन गर्न विषयगत आवश्यकता अनुसार करारमा बोलाउन सकिने भनी गैह्र जिम्मेवारी निणर्य गरेको छ । न्यौपानेले भने ‘शिक्षकहरुलाई मानसिक तनाव दिन र आफ्ना विश्वासपात्र भित्राउन गरेको यस्तो निर्णय आपत्तिजनक छ ।’
क्याम्पस व्यवस्थापन समितिको बैठकमा प्राध्यापक संघको प्रतिनिधि पनि सहभागी गराउनु पर्नेमा म काठमाण्डौ गएको मौका छोपी साउन ३२ को बैठकको लागि ३१ गते बेलुकी खबर गर्ने व्यवस्थापन समितिको नियतनै खराब रहेको प्रष्ट हुन्छ उनले भने । प्राध्यापक संघका सचिवलाई बैठकमा सहभागी हुन पठाउँदा क्याम्पस प्रमुख एवं व्यवस्थापन समितिका सदस्य सचिव केसीले प्राध्यापक संघका सचिव प्रकाश दाहालको फोन नउठाउनु नै प्राध्यापकमाथि अपराध गर्न खोजेको प्रमाणित हुन्छ अध्यक्ष न्यौपानेको भनाई छ । १८ वर्षदेखि निरन्तर काम गर्ने प्राध्यापकहरु दुई दिन आउनेहरुको खेलौना बन्न सक्दैनन । आन्दोलनको आँधिबेहरीसहित हैसियत देखाउने छन्, यो प्राध्यापक संघको चेतावानी हो,उनले भने ।
मानन्धर अध्यक्ष बनेर आएपछि शैक्षिक सुधार शून्य तर भौतिक निर्माण भने भएको देखिन्छ । यसमा पनि भौतिक निर्माणको काम गर्दा क्याम्पस व्यवस्थापन समितिका अधिकांश सदस्यहरुले अनविज्ञ रहेको बताएका छन् । अरुले जम्मा गरेको खर्च गर्न सजिलो हुन्छ, आफैले सहयोग जुटाउन भीमकाय पहाड उठाएजतिकै हुन्छ, व्यवस्थापन समितिका एक जिम्मेवार सदस्यले भने । शैक्षिक क्षेत्रमा योगदान नै नभएका व्यक्तिलाई राजनैतिक चलखेलका आधारमा जिम्मेवार पद दिंदा जिल्लाकै पहिलो बहुमुखी क्याम्पसको अवस्था दयनीय बनेको हो । नेबिसंघ गौरीशंकर क्याम्पस इकाईका एक नेताले बताए ।
जिल्लाका एउटा सहकारी संस्थामा तत्काल झिक्न नमिल्ने गरी क्याम्पसले राखेको करिब ३ लाख जति पैसा होला, अरु क्याम्पसको खातामा पैसा निल भएकाले क्याम्पस प्रमुख, आपूm र प्रशासनका कर्मचारीलाई खाइपाई आएको तलबको ५० प्रतिशत मात्र दिने निर्णय गरेको सहायक क्याम्पस प्रमुख सुवास रिमालले जानकारी दिए ।

Share this

प्रतिकृया

Add