अन्ततः प्रधानाध्यापक गिरीले गल्ती स्वीकार गरे

 मङ्लबार, पुस २१, २०७७ | onlinenews
Share this

रामेछाप– मन्थली नगरपालिका–९ पुरानागाउँको स्थानापति माध्यमिक विद्यालयको प्रधानाध्यापक रामबाबु गिरीले छात्राबृत्ति वितरण र माध्यमिक पुस्तकालय स्थापनामा गल्ती भएको स्वीकार गरेका छन् ।
विद्यालयले प्रेस विज्ञप्ति प्रकाशित गरि छात्राबृत्ति, माध्यमिक पुस्तकालय स्थापना र विज्ञान प्रयोगशालाको सामग्री खरिदमा गल्ती भएको स्वीकार गरेको हो । विद्यालयले जारी गरेको विज्ञाप्तिमा तीन आर्थिक वर्षको छात्राबृत्ति वितरण नभएको स्वीकार गरिएको छ । छात्राबृत्ति तत्कालै वितरण गरिने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।
माध्यमिक पुस्तकालय स्थापनाको लागि मन्थली नगरपालिका मार्फत गएको ६ लाख ५० हजार रुपैयाँ भुक्तानी भएको तर पुस्तकालयको सामग्री खरिद नगरिएको पनि विज्ञप्तिमा उल्लेख छ । रकम भुक्तानी भइसकेको तर पुस्तक खरिद नगरिएको उल्लेद गर्दै सोही विज्ञप्तिमा भनिएको छ, बजेट हिनामिना भएको छैन ।
माध्यमिक पुस्तकालयको लागि नगरपालिका मार्फत गएको ६ लाख ५० हजार रुपैयाँ पेस्की स्वरुप लिइएको प्रधानाध्यापक रामबाबु गिरीको भनाई छ । पेस्की लिएको रकम ३५ दिनभित्र फरफारक गरिसक्नु पर्दछ अन्यथा १० प्रतिशत ब्याज थपेर फिर्ता गर्नुपर्ने हुन्छ ।
प्रधानाध्यापक रामबाबु गिरीले पेस्कीको रुपमा ६ लाख ५० हजार रुपैयाँ लिएका हुन् भने उनले अब ७ महिनाको १० प्रतिशतका दरले ब्याज समेत जोडर विद्यालयलाई पैसा फिर्ता गर्नुपर्ने छ । उनले गएको असार ३१ गते चेकमार्फत भुक्तानी लिएका थिए ।
छात्राबृत्तिको नाममा आएको पैसा विद्यालय ब्यवस्थापन समितिले निर्णय गरेर विद्यालयको जग्गा खरिदमा खर्च गरिएको बताएका छन् । मन्थली नगरपालिका महाशाखा प्रमुख हेमन्त कुमार बुढाथोकीले भने विद्यार्थीको छात्राबृत्तिको लागि गएको पैसा अन्य शिर्षकमा खर्च गर्न नमिल्ने बताएका छन् । त्यसमा विद्यालय ब्यवस्थाप समितिको निर्णयले पनि काम नगर्ने भएकाले सम्बन्धित पक्षलाई कारबाही हुने जानकारी दिए ।
विद्यालयको लागि विज्ञान प्रयोगशालाको सामग्री खरिदको लागि विनियोजन गरिएको रकमको बील भर्पाई बनाइएको तर सामग्री खरिद नभएको पाइएको छ ।

Share this

प्रतिकृया

Add