१२ वर्षीय नाबालिकालाई यातना दिएको मुद्दामा दलित आयोगको चासो

 सोमवार, चैत्र ७, २०७८ | onlinenews

नवराज विश्वकर्मा


रामेछाप । घरभित्र प्रवेश गरेकै कारण रामेछापको मन्थली नगरपालिका भलुवाजोरकी १२ वर्षीय नाबालिकालाई छिमेकीले २१ घण्टासम्म घरको थाम र दलिनमा बाँधेर सिस्नो लगाई कुटपिट गरेको घट्नाबारे राष्ट्रिय दलित आयोगले चासो देखाएको छ ।
नेपालको संविधान २०७२ को धारा २४ मा कुनै पनि व्यक्तिलाई प्रथा, परम्परा, धर्म, रीतिरिवाज, जात, जाति, वंश, समुदाय, पेशा वा व्यवसाय वा शारीरिक अवस्थाको आधारमा जातीय तथा अन्य सामाजिक छुवाछुत र भेदभाव गर्न नपाइने व्यवस्था गरिएको छ । यस्तै, संविधानको धारा २२ मा यातना विरुद्धको हकको व्यवस्था गरिएको छ । जसमा पक्राउ परेको वा थुनामा रहेको व्यक्तिलाई समेत शारीरिक वा मानसिक यातना दिन नहुने र निजसँग निर्मम, अमानवीय वा अपमानजनक व्यवहार गर्न नहुने व्यवस्था गरिएको छ । तर, विद्यमान व्यवस्थालाई नै चुनौती दिनेगरी गत फागुन ३० गते मंगलबार मन्थली नगरपालिकाको वडा नं. ६ भलुवाजोर बस्ने ६३ वर्षीय शेरबहादुर श्रेष्ठले छीमेकी १२ वर्षीय बालिकालाई थाम र दलीनमा बाँधेर सिस्नो लगाउँदै कुटपिट गरि यातना दिएका थिए ।
सोही घटनाबारे बुझ्न शनिबार सदरमुकाम मन्थली आएका राष्ट्रिय दलित आयोगका सदस्य सुन्दर पुर्कोटीको नेतृत्वको टोलीले घटना स्थलमा पुगेर अध्ययन गरेको हो । पीडित नाबालिकालाई बाँधेर यातना दिइएको स्थलमै पुगेर आयोगको टोलीले घटनाबारे जानकारी लिएको छ । आयोगका सदस्य सुन्दर पुर्कोटी, कानून व्यवसायी यमकुमारी गडेल, मन्थली नगरपालिका वडा नं. ६ की कार्यवाहक वडा अध्यक्ष कमला बस्यल, मानव अधिकारकर्मी, सुरक्षाकर्मी र पत्रकारसहितको टोलीले घटना स्थलमा पुगेर पीडित र पीडितका आफन्त र वरपरका स्थानीयहरुसँग घटनाबारे जानकारी लिएका थिए । त्यसक्रममा पीडक श्रेष्ठले आफूलाई घरभित्र पसेर दही खाएकै कारण घरकोे बाँधेर यातना दिएको पीडित नाबालिकाले बताएकी छन् । सानो जातकी अर्थात् दलित जातकी नाबालिका आफ्नो घरभित्र पसेको भन्दै पीडक श्रेष्ठले चार घण्टा हात खुट्टा बाँधेर दलीनमा झ्ण्ड्याएर र बाँकी १७ घण्टा थाममा बाँधेर सिस्नो लगाउँदै लठ्ठीले कुटपिट गरेको पीडित बालिकाले बताएकी हुन् ।
पीडक श्रेष्ठको कुटपिटपछि अघिल्लो दिन सोमबार बेलुका करिब ८ः०० बजेपछि आफू बेहोस हुन पुगेको र त्यसपछि आफूलाई केही थाहा नभएको पीडित नाबालिकाले बताइन । पीडक श्रेष्ठले रातको समयमा आफ्नो घरमा आएर आमा र भाइसहित आफूलाई अश्लील र अपशब्द प्रयोग गरि गालीगलौज गर्ने गरेको पीडित नाबालिकाले सुनाइन् । अहिले पनि राती घरमै आएर पीडक श्रेष्ठको श्रीमती बालकुमारी श्रेष्ठले धम्क्याउने गरेको पीडित बालिकाले बताइन । यस्तै, आफूहरुले पीडित नाबाबालिकालाई छोडिदिन आग्रह गर्दा पिडक श्रेष्ठले दलित नाबालिका घरभित्र पसेपछि घरै अशुद्ध भएको र कुल, पितृ सबै नष्ट भएको भन्दै रुद्री लगाएर घर नचोख्याएसम्म नछाड्ने भनेर अघिल्लो दिन अपराह्न ४ः०० बजेदेखि भोलिपल्ट दिउँसो १२ः०० बजेसम्म बाँधेर राखेको घटनका प्रत्यक्षदर्शी सार्के नेपाली र शंकर नेपालीले आयोगका प्रतिनिधिलाई बताएका थिए ।
यस्तै, पीडित नाबालिकाका भाइ करिब ९ वर्षीय दिपक नेपालीले पनि आफ्नी दिदीलाई हात, खुट्टा र कम्मरमा बाँधेर राखेको आफूले देखेको बताएका छन् । आयोगका सदस्य पुर्कोटी र अधिवक्ता गडेलले शनिबार नै जिल्ला प्रहरी कार्यालयमा पुगेर घटनाबारे जानकारी लिएका थिए । जिल्ला प्रहरी कार्यालय पुगेका राष्ट्रिय दलित आयोगका सदस्य पुर्कोटी र अधिवक्ता यमकुमारी गडेलले पीडकको अवस्थाबारे पनि जानकारी लिएका थिए । पीडक श्रेष्ठले दलित पसेपछि आफ्नो घर अशुद्ध भएको र कुल, पितृ, देवताहरु समेत नष्ट हुने भएपछि आफूले आवेगमा घरको थाम र दलिनमा बाँधेर सिस्नो लगाई कुटपिट गरेको स्वीकार गरेको पुर्कोटीले बताए ।

प्रतिकृया

Add