जागिर भन्दा व्यवसायबाट राम्रो कमाई

 शनिबार, साउन १२, २०८१ | onlinenews
Share this

 

मोरङ- हिम्मत र सहास भए परिवार चलाउन जागिर खोज्दै हिँड्नु पर्दैन भन्छिन् सरस्वती बस्नेत । मोरङ जिल्लाको बिराटनगर महानगरपालिका–३ मा बस्ने सरस्वती ३८ वर्षकी भइन् । सुनसरी जिल्लाकको इनरुवाबाट कामको खोजिमा विराटनगर बसाँइ सरेकी बस्नेतको ४ जनाको परिवार छ । परिवारमा १ छोरा र १ छोरी छन् ।

हिम्मत जुटाएर बिराटनगर झरेकी उनको पैसा आउने बाटो केहि पनि थिएन । बजारमा बसाइ सरेपछि घरमा हुने खर्च पनि बढ्यो । पैसाको अभावमा चिन्ता थपियो । पैसा आउने बाटो नभएको र घर चलाउनै समस्या भएपछि कामको खोजीमा भौतारिइन् उनी । अब के खाने ? के लाउने ? भन्ने अवस्था हुन लागेको थियो । उनले सहकारी संस्थामा जागिर पाइन् । सहकारीले उनलाई महिनाको ९ हजार रुपैयाँ मात्र तलब दिन्थ्यो । बिराटनगर बसाँई सरेपनि श्रीमानको कमाइ थिएन । कमाइको नाउँमा सरस्वतीको तलब मात्र भएकाले बिराटनगर बजारको खर्च चलेन । घर चलाउन गाह्रो भएकै कारण उनले श्रीमानलाई कुवेत पठाइन् । श्रीमान बिदेशिएपछि पनि पैसाको अभाव उस्तै थियो, बरु श्रीमान बिदेश जाँदा ऋण थपियो ।

सरस्वती सहकारीमा जागिरे थिइन् । बिराटनगर महानगरपालिकाले चलाएको सुरक्षित आप्रवासन (सामी) कार्यक्रमको बारेमा थाहा पाइन सरस्वतीले । कार्यक्रमले कमाउन परदेश गएकाहरुको परिवारलाई राखेर वित्तीय साक्षरता तथा मनोपरामर्श कक्षा चलाउने भयो । उनलाई पनि श्रीमान परदेशमा नै भएको कारण कक्षामा जाउँजाउँ लाग्यो । छोराछोरी लिएर बजारमा बस्न लागेकी उनका छोराछोरी नजिकैको बोर्डिङ्ग स्कुलमा कक्षा ५ र २ मा पढ्छन् । एकातिर छोरा छोरी पढाई खर्च अर्कोतिर भरलाग्दो जागिर नभएको उनलाई कक्षामा जाने समय मिलाउन सक्दिन कि भन्ने पनि लाग्यो । तर कक्षाको बारेमा थाहा पाएपछि जागिरलाई भन्दा बढि महत्व कक्षालाई दिइन् उनले ।

सरस्वती २१ हप्ता चलेको कक्षामा नियमित रुपमा आउन जान थालिन् । कक्षामा गएर उनले थोरै पैसाले घरचलाउन र बचत गर्न समेत जानिन् । उनले कक्षामा बसेपछि जागिर र व्यापारलाई तुलना गर्न सक्ने भइन् । उनी बजारमा बस्ने हुँदा व्यवसायको राम्रो अवसर थियो । तर व्यवसायमा लगानी गर्ने पैसा थिएन । थोरै पैसाबाट व्यवसाय सुरु गर्ने सोच बनाएकी उनले व्यवसायिक योजना बनाएकी थिइन् । व्यवसायिक योजना अनुसार उनलाई सिलाइकटाइ व्यवसाय सुरु गर्न २ लाख रुपैयाँ चाहिने थियो । आवश्यक पैसा उनले १६ प्रतिशत व्याजमा नेपालबैंकबाट ऋण लिनुभयो । उनले भइरहेको जागिर छोडेर २ लाख रुपैयाँ लगानी गरेर सिलाइकटाइ व्यवसाय सुरु गरिन् ।

सरस्वतीले टेलर खोलेर लुगा सिलाउन थालेको ६ महिना भयो । उनलाई घाम उदाएदेखि नअस्ताएसम्म एकैछिन पनि फुर्सद हुँदैन । सफलता मेहनत कुरेर बसिराखेको हुन्छ भन्ने सरस्वतीलाई आजभोली जागिर भन्दा व्यवसाय नै ठिक हो भन्ने लाग्छ । उनले फुटबल चोकमा महिनाको ४ हजार सटर भाडा तिरेर चलाएकी टेलरबाट महिनाको १५ हजार कमाइ हुन्छ । सरस्तवीले सहकारीमा काम गर्दा सबैलाई चिन्ने अवसर पाइन् । उनले जागिर छोडेर टेलर खोलेपछि चिनेका सबैले टेलर सम्बन्धी काम गराउनु पर्दा मलाई सम्झनु हुन्छ । यसरी आफूले बनाएको सम्वन्धले व्यवसायलाई पनि सघाएको छ, उनी भन्छिन् ।

सरस्वतीले कपडा सिलाएर कमाएको पैसाबाट महिनाको ३ हजार रुपैयाँ बैंकको किस्ता तिर्नुछिन् । उनले ३ महिनामा १ पटक किस्ता जम्मा गर्नुपर्छ । घरखर्च, छोराछोरीको पढाई खर्च, औषधी उपचार खर्च, बजारमा बच्चा लिएर बसेपछि हुने खर्च जस्ता दैनिक हुने खर्च उहाँकै कमाईले टारेको छ । उहाँले घरखर्च त चलाउनु भएको छ नै दैनिक ३ सय रुपैया लघुबित्तमा वचत गरिरहनु भएको छ । श्रीमानले विदेशबाट फर्किएर घडेरी किनेर घर बनाए । ६ अघिबाट उनीपनि किराना पसल चलाउँछन् । किराना पसलको आम्दानीबाट घरमा चाहिने नुन, तेल, मसला, दाल, चामलमा हुने खर्च चलेको छ । श्रीमानले पनि बिदेश जाने सोच त्यागिसक्नु भएको छ, सरस्वती भन्छिन् ।

जागिर छोडेर व्यवसायमा लागेकी सरस्वतीको भविष्यमा बैंकबाट लिएको ऋण चुक्ता गर्ने योजना छ । हातले सिलाउने पूरानो प्रविधिको मेसिन उनले टेलरमा प्रयोग गरिरहेको हुँदा नयाँ तथा आधुनिक प्रविधिमा आधारित मेसिन समेत किन्ने योजना छ, उनको । व्यवसायको आम्दानी सोचे झैँ भएको हुँदा आफूले चलाएको व्यवसायलाई ठूलो बनाउने योजनामा छिन् उनी । जागिर छोडेर मालिक बनेकी सरस्वती दुःख गर्नेलाई भगवानले न्याय गर्छन् भन्छिन् । श्रीमान बिदेश पठाएर शहर बजारमा बस्ने श्रीमतीहरु बिदेशबाट श्रीमानले पैसा पठाउने दिन गनेर बस्ने होइन, उमेर बल हुँदै कमाउनु पर्छ भन्छिन् सरस्वती ।

मोरङको जिल्लाको बिराटनगर महानगरपालिका वित्तीय साक्षरता सहजर्ताको सहयोगमा सागर बिक्रम बस्नेत

Share this

प्रतिकृया

Add