चुनावमा सबै पार्टीबीच स्वस्थ प्रतिस्पर्धा हुन्छः गृहमन्त्री शर्मा

 सोमवार, असार १२, २०७४ | onlinenews

१२ असार २०७४ दाङ


 गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले स्थानीय तह निर्वाचनमा सबै पार्टीहरुबीच स्वस्थ प्रतिस्पर्धा हुने बताएका छन् । मतदाताहरु पनि निर्वाचनमार्फत आफ्ना जनप्रतिनिधि छान्न आतुर भएको मन्त्री शार्माले बताए ।

दाङको तुलसीपुरमा सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा गृहमन्त्री शर्माले सरकारले निर्वाचनका लागि सबै सुरक्षा प्रवन्ध मिलाइसकेको बताए । ‘पार्टीहरुबीच पनि स्वस्थ प्रतिस्पर्धा हुन्छ  उनले भने ।’

अहिले केही छिटपुट घटना भए पनि निर्वाचन शान्तिपूर्ण वातावरणमा निष्पक्ष, भयरहित र धाँधलीरहित रुपमा सम्पन्न हुने मन्त्री शर्माले बताए ।

विप्लवलाई निर्वाचन बिथोल्न नैतिकताले दिँदैन

माओवादी केन्द्रका नेता समेत रहेका मन्त्री शार्माले विप्लव नेतृत्वको नेकपालाई निर्वाचन बिथोल्न नैतिकताले नदिने बताए । रोल्पाको थवाङमा विप्लव समूह पनि चुनावमा सहभागी हुनुलाई सकारात्मक भन्दै उनले भने– ‘विप्लवले निर्वाचन बिथोल्न अब नैतिक रुपमा मिल्दैन । किनभने थवाङमा उहाँ चुनावी मैदानमा हुनुहुन्छ । कतै उम्मेदवारी दिने कतै बिथोल्ने यो हुन सक्दैन ।’
प्रधानमन्त्री शेरबहादुर देउवा र राजपा नेता महन्थ ठाकुरको सहभागितामा बसेको बैठकमा निर्वाचनको मिति सार्ने र राजपाले स्वतन्त्र उम्मेदवारी दिने सहमति भएको मन्त्री शर्माले जानकारी दिए । संविधान संशोधनमा सरकार लचक भएरै चुनाव सारिएको भन्दै मन्त्री शर्माले भने– ‘राजपाको सहभागिताले निर्वाचन झन् उत्साहपूर्ण र सहज हुन्छ ।’

व्यापारी अपहरणकारी छिट्टै पक्राउ पर्छन्

     तुलसीपुरका कपडा व्यापारी राजकुमार श्रेष्ठ र अर्का व्यक्ति रणबहादुर घर्तीलाई अपहरण गर्नेहरुलाई छिट्टै पक्राउ गर्ने पनि मन्त्री शर्माले आवश्वासन दिए । दाङ जिल्लासहित देशभरको सुरक्षा सुदृढ बनाइएको उनको भनाइ छ ।
व्यापारी अपहरणको घटनाबाट सरकार गम्भीर भएको भन्दै उनले भने– ‘घटनाको कारण छ र अनुसन्धान जारी छ । पछि सबै स्पष्ट हुन्छ । यहाँको सुरक्षा सुदृढ गर्न सरकार दृढ छ ।’ आइतबार दाङ पुगेका गृहमन्त्री शर्मा सोमबार काठमाडौं  फर्किदै छन् ।

प्रतिकृया

Add