चिज उत्पादन केन्द्रको भवन पुनःनिर्माण हुन नसक्दा समस्या

 आइतवार, फाल्गुन २९, २०७३ | onlinenews

रामेछाप: रामेछाप जिल्लाको गुम्देल गाविसमा रहेको चिज उत्पादन केन्द्र थोदुङ्गको भवन भूकम्पले भत्काएपछि पुनः निर्माण हुन नसक्दा, चिज उत्पादनमा समस्या भएको छ ।
रामेछाप जिल्लाकै जेठो र सरकारी स्वामित्वमा रहेको चिज उत्पादन केन्द्रको भवन भत्किएपछि उत्पादन भएको चिज भण्डारण गर्न र कृषकले ल्याउने दूध राख्न समेत समस्या भएको कर्मचारीको भनाई छ ।
चिज उत्पादन र भण्डारणको समस्या मात्रै हैन भवन नहुँदा कर्मचारीको दैनिकी पनि कष्टकर बनेको छ । सो ठाउँमा वर्षैभरी चिसो हुने र फागुन चैत्रसम्म हिँउ पर्ने भएकाले जस्ताको टहरामुनी बस्दा सारै कष्ट भएको चिज उत्पादन केन्द्रका कर्मचारीले बताए ।
भवनको अभावमा चिज कार्खानामा प्रयोग हुने सामाग्रीहरु समेत बाहिरै खुल्ला चौरमा राख्ने गरिएको छ । चिज बनउने मेशिन बाहेक सबै सामाग्री खुल्ला चौरमै राखिएको छ ।
दुग्ध संस्थान केन्द्र लैनचौरमा पटक–पटक आफ्नो समस्याको बारेमा जानकारी गराउँदा पनि सुनुवाई नभएको कर्मचारीको गुनासो छ । कार्यालयको नियम अनुसार काम गर्न समय लाग्ने भन्दै केन्द्रले आलटाल गरेको कर्मचारीले गुनासो गरे ।
वि.स.२०१५ सालमा स्थापना भएको थोदुङ्गो चिज उत्पादन केन्द्र रामेछापको एकमात्र सरकारी स्वामित्वमा रहेको चिज उत्पादन केन्द्र हो । सो केन्द्रमा अहिले २२ चौरी गोठबाट दूध आउने गरेको छ ।
दूध कृषकलाई समयमै पेस्कि दिन नसक्दा केही कृषकहरु निजी चिज उत्पादन केन्द्रमा गएको कर्मचारीले बताए । गुम्देलको अधिकांस शेर्पा समुदायले चौरीको दूध बेचेर जीविकोपार्जन गर्दै आएका छन् ।
चौरी दूध ब्यवसायिहरुले वर्षमा साढे दुई लाख रुपैयाँसम्म नाफा कमाउने गरेका छन् । विगतका वर्षहरुमा जेष्ठ महिनाबाट चिज उत्पादन गर्न सुरु हुने गरेको भए पनि पछिल्ला वर्षहरुमा चौरी छिट्टै ब्याउँन थालेपछि चैत्रदेखि असोज सम्मलाई चिज उत्पादनको मौसमी महिनाको रुपमा लिने गरिएको छ ।

प्रतिकृया

Add