दुतावासले निर्माणको जिम्मा लिएको विद्यालय अलपत्र

 बिहिबार, पुस २७, २०७४ | onlinenews

रामेछाप । छीमेकी राष्ट्र भारत र चीनका दुतावासले निर्माण गर्ने जिम्मा लिएको रामेछापको ११ वटा विद्यालयमा अझैसम्म निर्माण कार्य सुरु हुन सकेको छैन ।
विद्यालय भवन नबन्दा ती विद्यालयमा अध्ययनरत विद्यार्थी टहरामुनी बसेर पढ्न बाध्य छन् ।
भारतीय दुतावासले १० वटा र चीनिया दुतावासले १ विद्यालयको भवन पहिलो चरणमै निर्माण गरिदिने प्रतिवद्धता गरेका थिए । तर, भूकम्प गएको ३ वर्षमा पनि निर्माण कार्य सुरु हुन नसक्दा विद्यार्थी अस्थायी शिकाई केन्द्रमै कष्टका साथ पढ्न बाध्य छन् ।
भारतीय दुतावासले निर्माण गर्ने जिम्मा लिएका विद्यालयहरुमा जट्टेश्वर माध्यमिक विद्यालय चुचुरे, त्रिपुरेश्वर माध्यमिक विद्यालय दुरागाउँ, अन्तर्राष्ट्यि युवा वर्ष माध्यमिक विद्यालय लखनपुर, जनजागृति माध्यमिक विद्यालय बेताली, कृष्ण माध्यमिक विद्यालय टिमु, निलकण्ठेश्वर माध्यमिक विद्यालय कठजोर, जनकल्याण माध्यमिक विद्यालय च्यास्कु, पशुपति माध्यमिक विद्यालय हिलेदेवी, कृष्णपुरी माध्यमिक विद्यालय खनियापानी र खाँडादेवी माध्यमिक विद्यालय रहेका छन् ।
त्यसैगरी माध्यमिक विद्यालय गुन्सीको भवन निर्माण गरिदिने जिम्मा चीनिया दुतावासले लिएको थियो । दुई वटै देशका दुतावासले निर्माणको जिम्मा लिएका कुनै पनि विद्यालयमा निर्माण कार्य सुरु हुन नसकेको जिल्ला आयोजना कार्यान्वयन इकाई प्रमुख हेमन्त बुढाथोकीले बताए ।
भूकम्पले जिल्लाका ४ सय १९ वटा विद्यालयमा क्षति पु¥याएको थियो । दुतावासले निर्माण गरिदिने भनेको बाहेकका विद्यालयको भवन निर्माणको काम भने तीब्र गतिमा भइरहेको जिल्ला कार्यान्वयन इकाई रामेछापले जनाएको छ ।
विद्यालय पुनःनिर्माणको लागि चालु आर्थिक वर्षमा ६५ करोड ६७ लाख ६८ हजार रुपैयाँ बजेट विनियोजन भएकोमा हालसम्म ५३.८ प्रतिशत वित्तिय प्रगति भएको वुढाथोकीले बताए ।
कतिपय विद्यालयमा जग्गाको अभाव र अधिकांस ठाउँमा पानीको अभावका कारण पुनःनिर्र्माण कार्य प्रभावित भएको पनि कार्यालयले जनाएको छ ।
यद्यपी आगामी एक वर्षभित्रमा सबै विद्यालयका विद्यार्थी अस्थायी शिकाई केन्द्रबाट स्थायी भवनमा सरिसक्ने जिल्ला कार्यान्वयन इकाइको भनाई छ ।
जिल्ला कार्यान्वयन इकाइका अनुसार जिल्लामा निर्माण व्यवसायी मार्फत एसियाली विकास वैंकको आर्थिक सहयोगमा २१ वटा, जिल्ला शिक्षा कार्यालय मार्फत १ सय १३ वटा, जिल्ला आयोजना कार्यान्वयन इकाई मार्फत १ सय २६ वटा र गैरसरकारी संस्था मार्फत ३६ वटा विद्यालयको भवन निर्माणको काम भइरहेको छ ।

प्रतिकृया

Add