यूकेद्धारा तामाकोसी अस्पताललाई मुटु र पेट जाँच्ने उपकरण प्रदान

 मङ्लबार, असार ५, २०७५ | onlinenews

 रामेछाप – रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा रहेको तामाकोसी सहकारी अस्पताललाई “द लिटिल थिंग्स र हेल्थ इक्सचेन्ज” यूकेले मुटु र पेट जाँच गर्ने स्वास्थ्य उपकरण प्रदान गरेको छ ।
यूकेमा अध्ययनरत स्वास्थ्यका विद्यार्थीहरुले स्थापना गरेको संस्था “द लिटिल थिंग्स र हेल्थ इक्सचेन्ज” यूकेले तामाकोसी सहकारी अस्पताललाई मुट जाँच्न गर्ने इको, टिएमटी र पेटको जाँच गर्ने इन्डोसकोपी मेशिन गरि ४७ लाख ३३ हजार रुपैयाँको उपकरण प्रदान गरेको हो ।
प्राप्त उपकरणलाई अस्पतालमा जडान गर्दासम्म ५५ लाख रुपैयाँ खर्च भएको तामाकोसी सहकारी अस्पतालका निर्देशक सुमन कर्माचार्यले बताए ।
यस भन्दा अघि तीन वटा देशहरुमा पनि स्वास्थ्य उपकरणहरु सहयोग गरिसकेको र यो चौथो प्रोजेक्ट भएको “द लिटिल थिंग्स र हेल्थ इक्सचेन्ज” का प्रतिनिधि हिरा थपलियाले बताए ।
थपलियाले तामाकोसी सहकारी अस्पताललाई स्वास्थ्य उपकरण सहयोग गर्न सकेकोमा खुसी पनि ब्यक्त गरे ।
अस्पतालमा मुटु जाँच र इन्डोस्कोपी सेवा विस्तार भएको अवसरमा आयोजना गरिएको औपचारिक कार्यक्रमलाई संवोधन गर्दै जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेमबहादुर खड्काले तामाकोसी सहकारी अस्पताललाई जिल्लाको नमूना अस्पतालको रुपमा विकास गर्नुपर्ने बताए ।
नमूना अस्पताल निर्माणको लागि सरकारले सहयोग गर्नुपर्ने बताउँदै जिल्ला समन्वय समितिको प्रमुखको हैसियतले आपूmले सक्दो सहयोग गर्ने पनि खड्काले बताए ।
मन्थली नगरपालिका प्रमुख रमेशकुमार बस्नेतले रामेछापको स्वास्थ्य क्षेत्रमा तामाकोसी सहकारी अस्पतालको अतुलनीय योगदान रहेको बताए ।
मन्थली नगरपालिकामा गर्व गर्न लायक विषय पनि स्वास्थ्य क्षेत्र नै भएको नगर प्रमुख बस्नेतको भनाई छ । आगामी २० वर्षमा मन्थलीलाई शैक्षिक हवको बनाउने आफ्नो उद्देश्य रहेको पनि बस्नेतले बताए ।
मन्थली छीमेकी ४ वटा जिल्लाहरुको लागि समेत माझ केन्द्र पर्ने भएकाले स्वास्थ्य, शिक्षा, बन र कृषिको शैक्षिक हब बनाउने आफ्नो सपना रहेको नगर प्रमुख बस्नेतले बताए ।
यूकेबाट प्राप्त उपकरण अस्पतालमा जडान गरिसकिएकाले मुटु जाँच गर्ने र इन्डोसकोपी सेवा तत्कालै सुरु हुने तामाकोसी सहकारी अस्पतालले जनाएको छ । मुटु र पेट जाँच गर्ने उपकरणहरु जडान गरिएसँगै तामाकोसी अस्पताल जिल्ला रहेको अस्पताल मध्य सुविधा सम्पन्न अस्पताल बनेको छ ।

प्रतिकृया

Add