कम्युनिष्ट सरकार तानाशाही भएको छ: सभापति देउवा

 शनिबार, असार २३, २०७५ | onlinenews

 रामेछाप- नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्ट सरकार तानाशाही भएको आरोप लगाए । आफ्नो नेतृत्वको सरकारले गरेको निर्णयहरु वर्तमान सरकारले उल्टाएर कम्युनिष्ट तानाशाही देखाएको सभापति देउवाको आरोप छ ।
कम्युनिष्ट सरकारले विरोध गर्न पाउँने जनताको लोकतान्त्रिक अधिकार खोसेको समेत देउवाको आरोप छ ।
नेपाली काँग्रेसले रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताउँदै सभापति देउवाले वर्तमान सरकारले गरेको निर्णयको विरुद्धमा अदालत, संसद र सडकमा समेत आन्दोलन चर्काउने बताए ।
केपी ओली नेतृत्वको वर्तमान सरकार भारतसामू लम्पसार परेको पनि सभापति देउवाको आरोप छ । नेपाल प्रेस यूनिय रामेछापले शनिबार रामेछापको सदरमुकाम मन्थलीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा देउवाले यस्तो बताएका हुन् ।
सभापति देउवाले चिनबाट रेल आउँछ भनेर ओली सरकारले जनतालाई भुलभूलैयामा पारेको भन्दै चिनबाट नेपालमा तत्काल रेल आउँने सम्भावना नै नभएको बताए । पत्रकारले सोधेको प्रश्नको जवाफमा देउवाले ओली सरकार भारतसँग लम्पसार परेको र चिनसँगको सम्बन्धमा भने वर्तमान सरकारले केही पनि नगरेको बताए ।

प्रतिकृया

Add