सडक ढलान भएको १५ दिन नवित्दै भत्कियो

 शनिबार, भदौ १६, २०७५ | onlinenews

रामेछाप–रामेछापको लिखु तामाकोशी गाउँपालिका अन्तर्गत धोबि–दिलौरी सडक खण्डको भुस्रा बनमा ६५ मिटर सडक ढलान गरेको १५ दिन नवित्दै भत्किएको छ ।
उकालोे सडक जोखिम ठाउँमा रहेकाले बलियो बनाउन पिचको सट्टा ढलान गरिएको थियो । तर, १५ दिन नवित्दै ढलान फुटेर चिरापर्नुका साथै छेउको भागबाट भत्किन थालेको छ ।
सडक डिभीजन कार्यालय सिन्धुलीले ६५ मिटर सडक ढलान गर्नको लागि घटाघटमा १३ लाखको ठेक्का आव्हान गरेकोमा दिनेश निर्माण सेवाले ७ लाख ३५ हजार रुपैयाँमा ठेक्का पारेर काम गरेको थियो ।
निर्माण ब्यवसायिले गुणस्तरहिन निर्माण सामग्रि प्रयोग गरेकाले सडक निर्माण भइनसक्दै भत्किएको लिखु तामाकोशी गाउँपालिका वडा नम्बर २ का अध्यक्ष पदमबहादुर तामाङले बताए ।
बोरामै ढिका भएको सिमेन्ट फुटाएर प्रयोग गरिएको छ । बालुवा पनि माटो मिसिएको प्रयोग गरिएको छ, अध्यक्ष तामाङले भने ।
बडाको तर्फबाट हामीले सचेत गरायौं तर हाम्रो कुरा सुनुवाई भएन तामाङको भनाई छ । सडक ढलानमा म्याद नाघेको सिमेन्ट प्रयोग गर्नुका साथै बालुवा पनि बाटो मिसिएको प्रयोग गरिएकाले सडक बनिनसक्दै भत्किएको स्थानीय सोमहरी गौतमको आरोप छ ।
लिखु तामाकोशी गाउँपालिका–२ ढाँडेमा निर्माण भइरहेको लिखु ४ हाइड्रो पावरको लागि निर्माण सामग्रि लिएर हेब्बी गाडीहरु हिड्ने भएकाले सडक विग्रिएको लिखु तामाकोशी गाउँपालिका उपाध्यक्ष दिपशीखा न्यौपाले (दाहाल) ले बताइन ।
सडक ढलानसँगै नाला निर्माण गर्नु पर्ने सम्झौता भए पनि नाला भने निर्माण गरिएको छैन । सडक ढलान गर्नुपर्ने ६५ मिटर मध्ये केही भाग ढलान नै नगरि निर्माण ब्यवसायि हिडेको स्थानीयको आरोप छ ।

प्रतिकृया

Add