स्थानीय तहको चुनावको घोषणासँगै रामेछापमा चहलपहल तीव्र

 बुधबार, चैत्र २, २०७३ | onlinenews

चैत्र २, रामेछाप / सरकारले संघीयता नयाँ संरचनाअनुसार स्थानीय तहको चुनाव गर्ने घोषणापछि रामेछाप जिल्लामा निर्वाचनको चहलपहलमा तीव्रता आएको छ ।

सरकारी घोषणापछि जिल्ला निर्वाचन कार्यालयले दुईवटा नगरपालिका र ६ वटा गाउँपालिका समेतलाई लक्षित गरि निर्वाचनको आवश्यक प्रक्रिया अघि बढाएको छ । त्यसको लागि कार्यालयले सर्वपक्षीय र सर्वदलीय वैठक गरि निर्वाचनको अभियानलाई सफल बनाउन अनुरोध समेत गरेको छ ।

निर्वाचन आचारसंहिताको बारेमा जानकारी गराउँदै अनिवार्य रुपमा आचारसंहिता पालना गर्न समेत सर्वपक्षीय वैठक मार्फत निर्वाचन कार्यालयले आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले पनि जिल्ला निर्वाचन कार्यालयको कार्यक्रम अनुसार लक्षित कार्यक्रमलाई सफल पार्नु सबैको दायित्व भएकोले आ–आफ्नो ठाउँबाट जिम्मेवार पूरा गर्न सवैपक्षसँग आग्रह गरेका छन् ।

निर्वाचन आचार संहिता लागू भइसकेकाले आचारसंहिता उल्लंघन गर्न जो सुकैलाई पनि प्रशासनले कार्वाहीको दायरमा ल्याउने प्रजिअ खत्रीले बताएका छन् । निर्वाचनको घोषणासँगै जिल्लाका मुख्य राजनीतिक दलले पनि सबै निकायमा चहलपहल बढाएका छन् । उनीहरुले जिल्लादेखि स्थानीय तहसम्म पार्टीका वैठक र कार्यकर्तासँग भेटघाटको कार्यलाई तीव्र बनाएका छन् ।

उनीहरुले भेटघाटको क्रममा आफ्नो पार्टीलाई स्थानीय निकायमा जिताउनका लागि आवश्यक वातावरण तयार गर्न कार्यकर्तालाई निर्देशन समेत दिइसकेका छन् । सांगठानिक दौडधुपसँगै उनीहरुले नगरपालिका र गाउँपालिका हुँदै वडा अध्यक्षका प्रत्यासीहरुको नामको समेत तयारी गरिरहेका छन् । यसरी सबै राजनीतिक दल, प्रशासन र निर्वाचन कार्यालयले आ–आफ्नो ठाउँबाट युद्धस्तरमा गरेको तयारीसँगै रामेछापका गाउँ गाउँसम्म निर्वाचनको चहलपहल व्यापक भएको सहजै अनुमान गर्न सकिने नागरिक अगुवा गुञ्जवहादुर श्रेष्ठले बताए ।

प्रतिकृया

Add